प्रमुख समाचार

वैदेशिक रोजगारी

साउदीमा श्रीमान गुमाएकी कृष्णमायाको पीडादायी कथा

इकागज |
बैशाख ९, २०७८ बिहीबार ७:२८ बजे

सांकेतिक तस्बिर

हेटौंडा : दोस्रो पटक विदेश उडेका मकवानपुरका मोतिलाल थिङ उतै अस्ताए । साउदीमा चालकको काम गर्दै आएका उनी दुर्घटनामा परेर ज्यान गुमाउन पुगे । दुई वर्ष अघि साउदी पुगेको उनको गएको साउन भएको दुर्घटनामा मृत्यु भएको थियो ।

मृत्युको खबरबाट कृष्णमाया विक्षिप्त भइन् । तर त्यो भन्दा ठूलो बिडम्बना कृष्णमायाले श्रीमानको अस्तु आफ्नै भूमिमा सेलाउन पाइनन् । ‘दुर्घटनामा परेर नब्बे प्रतिशत शरीर जलेको खबर आयो’ कृष्णमायाले भनिन्, ‘अन्य सामानहरु भने काजगपत्र नमिल्दा नेपाल पठाइएन । साउदीमै श्रीमानको अन्तिम संस्कार भयो ।’ 


काम गर्ने कम्पनी राम्रो नपरेको गुनासो मोतीलाल कृष्णमायासँग गरिरहेका हुन्थे । समयमै तलब नदिने गरेपनि साथीहरुसँग सरसापटी गरेर चार महिनामा एकपटक भएपनि मोतीलाल पैसा पठाउँथे । तर तिनै श्रीमान ज्युँदो नरहेपछि कृष्णमायाले कसरी दिन काटिरहेकी छन् ? त्यो पीडा उनलाई मात्रै थाहा छ । 

कृष्णमायाकी दुई नाबाक छोरी छन् । दुई वर्षको फरकमा जन्मेका उनकी जेठी छोरी चार वर्षकी भइन् । श्रीमान आउने आशै आशमा दिन बिताएकी उनले अन्ततः मृत्युको कागजात मात्रै हात पारिन् । त्यो पनि सात महिनापछि ।

त्यही कागजातले पनि उनलाई थोरै भरोसा दिलाएको थियो । विदेश जाँदा गरिएको बीमा र वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने रकमले केही हुन्छ की भन्ने आश छ । तर त्यो पनि उनको हात परेन ।

सुरक्षित आप्रवासन स्रोत केन्द्र मकवानपुरको प्रयासबाट उनले कागजात पाएपनि आर्थिक सहयोग भने पाइनन् । सुरक्षित आप्रवासन परियोजना सामीले विदेशमा समस्यामा परेका नागरिक, उनीहरुको परिवार, विदेश जान लागेका व्यक्तिहरुलाई आवश्यक परामर्श तथा उनीहरुको समस्याको समाधान गर्दै आएको छ । 

कागजपत्र विदेशबाटै पटकपटक आग्रह गर्दा पनि नपठाएपछि दुतावासमार्फत कम्पनीमा सम्पर्कमा गरेर ढिलै भएपनि प्राप्त गरिएको त्यहाँ कार्यरत पार्वती विश्वकर्मा बताउँछिन । उनी वैदेशिक रोजगारीमा जानेहरुलाई परामर्श दिने काम गर्छिन ।  

सुरक्षित आप्रवासन केन्द्र मकवानपुरमा विदेश गएका ८३ जनाको समस्याको निवेदन परेको छ । त्यसमध्ये ४५ जनाको समस्याको समाधान गरिएको सामी परियोजना मकवानपुरका संयोजक अन्जिता थापा मगरले जानकारी दिइन् । 

त्यसमध्ये पनि आर्थिक सहायता प्राप्त गर्ने २० जनालाई संस्थाले सहजीकरण गरेर वैदेशिक रोजगार बोर्ड  र बिमाबाट ६१ लाख ७५ हजार दिलाउन सफल भएको छ । जसमध्ये कृष्णमाया पनि एक हुन् । लामो समय प्रयास गर्दा असम्भव ठानेको सहयोग उनले सामीको साथबाट प्राप्त गरिन् । जसकारण वैदेशिक रोजगार बोर्डबाट ७ लाख र बिमाबाट १३ लाख गरी कूल २० लाख रुपैयाँ हात पारिन् । 

यो उनका लागि ठूलो खुशीको सहयोग हो । श्रीमानको मृत्युको खबरले विक्षिप्त उनी बीमा र बोर्डबाट आएको पैँसाले केही गर्ने आँट पलाएको बताउँछिन् । हेटौंडामा सानो किनारा पसल सञ्चालन गर्ने उनी अहिले श्रीमानको मृत्युको खबरले दिएको पीडा बिर्सन खोजिरहेकी छन् ।

तर बेला बेला झस्काइरहन्‍छ । खाटा परेको घाउ बल्झिरहन्छ । तर पनि अगाडि बढ्‍ने आँट गर्छिन कृष्णमाया । भन्छिन्, ‘जीवन भनेकै सुख र दुःखको सम्मिश्रण रहेछ । यस्तो हुन्छ भनेर सोचेकी थिइन् । अहिले पनि सपना जस्तो लाग्छ । तर के गर्नु जीवन बाच्नैपर्ने । पसल गरेर दुई छोरी हुर्काउँछु ।’


Author

थप समाचार
x