बंगालमा कोरोना महामारीबीच बीजेपी र टीएमसीको भिडन्त
काठमाडौँ : अमित शाह हेलिकप्टर चढेर पश्चिम बंगालको दुर्गम क्षेत्र पुग्छन् । हेलिकप्टरबाट ओर्लेलगत्तै उनलाई स्कर्टिङ गरी भारतीय जनता पार्टी (बीजेपी) को कार्यलयमा पुर्याइन्छ । अनि पहिले नै निर्धारण गरिएको कार्यक्रम र र्याली स्थलमा पनि । पश्चिम बंगालमा जारी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै गृह मन्त्री शाहको दौडधुप जारी छ । भारतको संघीय राजधानी नयाँ दिल्लीमा शाहलाई बीजेपीका सहयात्री र विपक्षीहरूले सहज रुपमा लिदैँनन् ।
बंगालको सानो सहर सिंगुरमा भने शाहको परिचय प्रष्ट छैन । त्यहाँका मतदाताले शाहलाई कसरी लिने भन्ने विषयमा सोचिसकेका छैनन् । शाह त्यही सिंगुरको र्यालीलाई सम्बोधन गर्न पुग्छन् । उनलाई गुलाफको गुच्छाले स्वागत गरिन्छ । स्थानिय बीजेपी युवा कार्यकर्ताले नारा लगाउँछन् । तर शाहको भाषणप्रति कार्यक्रममा आएका स्थानीय मतदाता तथा बीजेपी कार्यकर्ताले खासै प्रतिक्रिया जनाउँदैनन् । शाहले भाषण गरेको तीन दिनपछि सिंगुरका मतदाताले भोट हाल्छन् । बीजेपीले सिंगुरमा कती मत पायो, त्यसको निर्क्योल मे २ मा हुनेछ ।
सिंगुरमा शाहले सम्बोधन गरेकै दिन भारतमा कोभिड-१९ संक्रमितको संख्या उच्च बिन्दुमा पुग्यो । त्यसो त बंगाल निर्वाचनमा उम्मेदवारी दिएका तीन बीजेपी उम्मेदवारले ज्यान गुमाइसकेको अवस्था छ । तर त्यसले बीजेपीको आक्रमक निर्वाचन कार्यक्रमलाई अवरोध पुर्याउन सकेको छैन । आठ चरणमा हुने बंगालको निर्वाचनलाई लिएर मोदी, शाह र बीजेपी पार्टीको एउटै उदेश्य छ । त्यो भनेको, त्रिणमुल कंग्रेस (टीएमसी) को सरकार ढाल्ने । बीजेपी यसअघि कै निर्वाचनबाट बंगालको मुख्य विपक्षी पार्टी बनिसकेको छ । त्यो पनि त्यहाँको पराम्पारिक कम्युनिस्ट शक्तिलाई पछि पार्दै ।
भारतको तल्लो र माथिल्लो सदनमा बीजेपीको पकड छ । प्रायः सबै स्वायत्त निकायमा बीजेपीले सिफारिस गरेका ब्यक्ति छन् । कुल २८ राज्यमध्ये १७ मा बीजेपी र उसको गठबन्धनको सरकार छ । त्यही पनि कोभिड-१९ महामारीबीच बंगाल निर्वाचनमा मोदी र शाहको दौडधुप किन ? उत्तर प्रष्ट छ - ममता बेनर्जी ।
पछिल्ला वर्षमा बीजेपीको सबैभन्दा कटट्र आलोचक बनेकी छिन्, बेनर्जी । बंगालमा बीजेपी र टीएमसीबीचको प्रतिस्पर्धालाई डेरेक ओ ब्राइनले यसरी विश्लेषण गरेका छन्, ‘बंगालको निर्वाचनमा बीजेपीको जित हुनुहुँदैन । नत्र भारतमा बीजेपीको विपक्षीमा रहेका सम्पूर्ण पार्टीको मनोबल खस्कनेछ । त्यो पनि आउँदा धेरै वर्षका लागि,’ डे ब्राइन टीएमसीका नेता हुन् । उनी बेनर्जीले सजिलै हार नमान्ने विश्वास गर्छन् ।
ह्विल चेयरको सहारामा भए पनि ममता बेनर्जीले निर्वाचन लक्षित कार्यक्रम तथा र्यालीलाई सम्बोधन गर्न छाडेकी छैनन् । यद्यपि बीजेपीविरुद्धको लडाईमा उनले देखाएको साहसले मात्रै टीएमसीले निर्वाचन जित्ने ग्यारेन्टी छैन ।
हाल बंगालकी मुख्य मन्त्री रहेकी बेनर्जीको भाषण तिखा शब्दहरूले भरिएको हुन्छ । निर्वाचन अभियानको दौरानमा उनको खुट्टा नै भाँचियो । तर ह्विल चेयरको सहारामा भए पनि उनले निर्वाचन लक्षित कार्यक्रम तथा र्यालीलाई सम्बोधन गर्न छाडेकी छैनन् । यद्यपि बीजेपीविरुद्धको लडाईमा उनले देखाएको साहसले मात्रै टीएमसीले निर्वाचन जित्ने ग्यारेन्टी छैन । किनभने बंगालमा उनको सरकार र कार्यकर्ता कयौँ भ्रष्टचार काण्डमा मुछिएका छन् । तर उनले प्रचारलाई जारी राखेकी छिन् । निर्वाचन प्रचार दौरान देखिएको बनेर्जीको अभिब्यक्ति हेर्दा टीएमसी नेतृलाई आफ्नो सरकार र कार्यकर्तामाथि लागेको आरोपले छोएको देखिँदैन । त्यसैले पनि उनको तुलना प्रधानमन्त्री मोदीसँग पनि गरिएको देखिन्छ ।
केन्द्रीय सरकारमा रहेको बीजेपीले कयौँ निकायलाई आफ्नो नियन्त्रणमा राखेकै छ । ती निकायहरूको गतिविधि बीजेपीलाई समर्थन गर्ने प्रकारको रहने नै भयो । बंगालमा ती निकायहरूले टीएमसीका नेता तथा कार्यकर्तामाथि कडा निगरानीमा राख्ने गरेका छन् । अचम्मलाग्दो के छ भने - टीएमसीका ती नेता तथा कार्यकर्ता टीएमसी छाडेर बीजेपी प्रवेश गर्नसाथ निगरानीको सूचीबाट हट्छन् ।
बीजेपीको लक्ष्य बेनर्जीलाई हराउने र उनको मुख बन्द गराउनेमा मात्रै सिमित छैन । बंगाल, उत्तर पूर्व र दक्षिण भारतीय राज्यहरूमा आफ्नो हिन्दुवादी नारा स्थापित गराउनु बीजेपीको मुख्य लक्ष्य हो । अहिलेसम्म ती क्षेत्रमा बीजेपीले आफ्नो नारा स्थापित गर्न सकेको छैन । बंगालका हिन्दु बीजेपीको ‘हिन्दु फस्र्ट, मुस्लिम लास्ट’ भन्ने नारासँग सहमत भइनसकेको अवस्था छ । तर यदि यस निर्वाचनबाट बंगाली हिन्दु जनसंख्याले धर्मको चस्मा लगाए, बीजेपीको बहुमत निश्चित छ । त्यसै पनि बंगालमा मुस्लिमको जनसंख्या ३० प्रतिशत मात्रै छ । त्यसकारण पनि बीजेपीको धार्मिक नारा राजनीतिक रणनीति बनेको हो ।
बंगालमा बीजेपीको वाचा छ, ‘केन्द्र र राज्य सरकारको सहकार्यमा विकास गर्ने ।’ स्थानीयले केन्द्र र राज्यमा एउटै पार्टीको सरकार हुँदा बंगालको विकास हुनसक्छ भनेर पनि नसोचिरहेका होइनन् । बीजेपीका सामु राज्यसभामा आफ्नो पकड कायम राख्ने चुनौती पनि छ । पछिल्लो समय जारी किसान आन्दोलनका कारण बीजेपीको छबीमा ह्रास आएको भनिदैँछ । जसका कारण उत्तरी राज्यहरूमा बीजेपीको सिट घट्न सक्ने सम्भावना बलियो छ । त्यसकारण उत्तरी राज्यहरूमा हुने सम्भावित क्षतिलाई बंगाल निर्वाचनबाट सम्बोधन गर्ने प्रयासमा बीजेपी लागेको छ । बंगाल निर्वाचनबाट अधिकतम सिट प्राप्त भए, बीजेपीलाई राज्य सभामा आफ्नो पकड कायम राख्न सहज हुनेछ ।
त्यसो त बंगाल निर्वाचनमा विजयी हुनु भनेको बीजेपी झन्डै पुरै भारतमा लोकप्रिय रहेको सन्देश दिनु हो । तर शाह भने बीजेपीले अझैँ केही राज्यमा निर्वाचन जित्न बाँकी रहेको बताउँछन् । उनको सूचीमा पाँच राज्य छन् । त्यही भएर त भन्ने गरिन्छ, बलियो लक्ष्य राखेकै कारण बीजेपी आजको अवस्थामा आइपुगेको हो । (दी इकोनोमिस्टबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया