भारतबाट फर्किएका कर्णालीबासी भन्छन् : अब स्वदेशमै दुःख गर्छौँ
भारतबाट फर्किएका महिला । तस्बिर : इकागज
सुर्खेत : वीरेन्द्रनगरकी ४० वर्षीय शशि नेपालीले अबदेखि भारत नजाने निधो गरेकी छन् । गत वर्ष भारत गएका उनका परिवार लकडाउनको बेलामा फर्किएका थिए । त्यसयता उनीहरु ज्याला मजदुरी गरेर गुजरा चलाएका छन् । ‘भारत गएर रोग लागेको बेला नराम्ररी दुःख पायौँ’ उनी भन्छिन्, ‘जति दुःख गरेपनि यतै काम गर्ने हो बाहिर जाने होइन ।’
गत मंसिरमा घरमा ताल्चा लगाएर भारत गएका उनको परिवार सात महिनापछि रित्तो हात घरमा फर्किनुपर्यो ‘घरको ऋण तिर्नको लागि केही कमाई होला भनेर भारत गयौ कमाएको जति खाना र गाडी भाँडामै सकियो’ शशि भन्छिन्, ‘त्यतिबेला खाली हात फर्किएका थियौ । धन्न ज्यान जोगाएर आफ्नो ठाउँसम्म आइपुग्यौ । ’भारतको उत्तराखण्ड स्थित अलमोडामा उनको परिवारले पुल बनाउने काममा लागेका थिए । घर फर्किने बेलामा कोरोना संक्रमणको कारण लकडाउन भयो । उनीहरुले गर्दे आएको काम रोकिएपछि कमाएको जति बसेर खाँदा सकिन थाल्यो । ‘उता बस्ने उपाए नभएपछि घरमा फर्किनुपर्छ भन्ने लाग्यो बचेर यहाँसम्म आइपुग्यौ’ उनी भन्छिन्, ‘अब विदेश जानेछैनौ खोले सिस्नु खाएर गाउँमै बस्न राम्रो भनेर यतै मजदुरी गरेर गुजरा चलाएका छौ ।’ बन्दको बेला कसरी गुजरा चलाउने पिरलो छ उनलाई । अन्य बेलामा भन्दा पनि रोग र समस्या पर्दा आफ्नै ठाउँको याद आएको उनको अनुभव छ ।
वीरेन्द्रनगर स्थित खोलीगाउँकी ३० वर्षीय कमला बिक पनि अब नेपालमै दुःख गरेर बस्ने प्रण गरेकी छन् ।उनी आजभोली गिट्टी कुटेर गुजरा चालउँदै आएकी छन् । गत वर्ष साहुको ऋण तिर्न श्रीमानसँगै भारत गएकीे तर, अहिले रित्तो हात घरमा फर्किनुपरेपछि भारत गएकी छैनन् । ‘श्रीमानले मिस्त्री काम गर्नुहुन्थ्यो मैले काम गर्नेहरु सबैलाई खाना बनाएर बस्थे’ उनले भनिन्, ‘ऋण तिर्न त पर जाओस् ज्यान जोगाएर आउनु नै ठूलो मान्नुपर्छ ।’ अहिले भारत गएका श्रीमान पनि घरमा आएको उनले सुनाइन् ।
अब कमलाका दुई दम्पती आफ्नै ठाउँमा दुःख गर्ने निधो गरेका छन् । ‘अरु बेला जे सुकै भएपनि संकट आएको बेलामा आफ्नै जन्मभूमी प्यारो लाग्दो रहेछ । कोरोनाकै कारण मर्न परेपनि आफ्नै ठाउँमा मरौला’ कमला भन्छिन् ‘परदेशमा बाध्यताले जान्छौ अहिले कोरोनाले गर्दा त धेरै दुःख भोग्यौँ ।’
गत वर्ष वीरेन्द्रनगर ५ श्रीनगरकी सीता सुनार पनि श्रीमान र ६ वर्षकी छोरी सहित भारत गएकी थिइन् । भारत गएको तीन महिनामै लकडाउन भयो । कमाएको जति बसेर खाँदा सकिन थालेपछि आफ्ना साथीहरुसहित नेपाल फर्किए । ‘अब त अर्कोको ठाउँमा बसेर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा बस्न राम्रो हुन्छ भनेर फर्कियौ’ उनी भन्छिन् ‘अहिले यतै मजदुरीको काम गरेकी छु । ’ उनलाई पनि रोग भन्दा भोकै बस्नुपर्ने हो की भन्ने चिन्ताले सताएको छ । ‘लकडाउनका बेलामा मजदुरी गर्न नपाएर भोकै बस्नुपर्ने त होइन भन्ने चिन्ता लाग्छ’ उनी भन्छिन्, ‘रोग भन्दा भोककै चिन्ता हुने भयो’
पश्चिम सुर्खेतको पन्चपुरी नगरपालिकाकी पार्वती बिक पनि श्रीमानलाई भारत नपठाउने मनस्थितमा पुगेकी छन् । गाउँमा ऋण गरेर श्रीमान भारत गएको एक महिना दिनमै फर्कनुपर्ने भएपछि उनी चिन्तामा छिन् । पार्वतीको मुख्य आम्दानीको स्रोत नै उहाँका श्रीमानले भारतमा मजदुरी गरेर पठाएको पैसा हो । कोरोना संक्रमणको कारण भारत जानेवित्तिकै फर्कनुपर्ने बाध्यताले गर्दा घरखर्च चलाउन मुस्किल भएको छ । ‘दुःख गरेर ऋण खोजेर भारत गयो कमाउने बेलामा फर्कनुपर्ने’ उनी भन्छिन्, ‘बरु बाँचेर आएपछि नेपालमै दुःख गरौला भन्ने लाग्छ अब त म उहाँलाई सबै मिलेर यतै बसेर कमाऔँ भन्छु ।’
उनका तीन छोरी र दुई छोरा छन् । अनि बिरामी सासुससुरालाई ओषधी किन्ने सम्म पैसा छैन । ‘वर्षदिन गरेको खेतीले तीन महिनासम्म पनि मुस्किलले खान पुग्दैन’ उनी भन्छिन्, ‘सबैभन्दा त पहिले बाँचेपछि जसरी पनि काम गरौला र ऋण तिरौला भनेको छु ।’
कोरोना संक्रमणको कारण भएको लकडाउनले गर्दा भारत गएका अधिकांस कर्णालीबासीरु यस्तै पीडामा परेका छन् । घरमा साहु ऋण गरेर कमाउन गएका उनीहरु अहिले रित्तो हात घर फर्कन बाध्य भएका छन् । जसले गर्दा आर्थिक संकटको साथै तनावपूर्ण जिवनयापन विताइरहेको महिला अधिकारकर्मी किमशरा खत्रीले बताइन् । जसका कारण डिप्रेसन समस्याका साथै आत्महत्याका घटनाहरु घटिरहेको खत्रीले बताइन् । अब उनीहरुले एउटै निधो गरेका छन् ‘स्वदेशमै दुःख गर्ने’ गत वर्ष लकडाउनको अवधिभर मात्र कर्णालीमा ५८ हजार एक सय ८२ नागरिक भित्रिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया