प्रमुख समाचार

कोरोना संक्रमितलाई काठमाडौँबाट हेलिकप्टरमा झापाको अस्पताल ल्याइयो

इकागज |
बैशाख १६, २०७८ बिहीबार ९:३९ बजे

झापा : कोभिड-१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौँमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो । काठमाडौँको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५:४५ बजेतिर उहाँलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए । झापाको शिवसताक्षी नगरपालिका-८ स्थायी घर भए पनि उप्रेती काठमाडौँमा बस्दै आएका थिए । उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए ।


बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड-१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए ।

'राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ,' गिरीले भने, 'बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौँबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।'

पालोमा सेवा दिन अनुगमन टोलीको आग्रह
झापाको दमकस्थित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सरकारी कार्यालयहरुको अनुगमन गरी पालोमा सेवा प्रवाह गर्न सुझाव दिएको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले मालपोत कार्यालय, नापी कार्यालय, गोरखा डिपार्टमेन्ट स्टोर, एनएमबी बैङ्कलगायतमा अनुगमन गरेको थियो ।

सेवाग्राहीको भीडभाड हुँदा कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएको जनाउँदै अनुगमन टोलीले मालपोत र नापी कार्यालयलाई तत्कालै क्षेत्रगत पालो प्रणाली लागू गरेर सेवा प्रवाहित गर्न आग्रह गरेको छ ।

झापामा तत्काल निषेधाज्ञा नहुने
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड-१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले निषेधाज्ञा जारी नहुने बताएका छन् ।

जिल्लामा हालसम्म कोभिड-१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो ।

उनले तराईमा ५०० र पहाडमा २०० कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए । रासस


Author

थप समाचार
x