प्रमुख समाचार

चीनमा विदेशी फुटबलरको बिजोग

इकागज |
बैशाख १७, २०७८ शुक्रबार ६:२३ बजे

काठमाडौँ : लिआओनिङ होङयुन चिनियाँ फुटबलमा दोस्रो श्रेणीको लिग खेल्ने क्लब थियो । तर मे, २०२० मा यो क्लब बन्द गरियो । कारण थियो, खराब आर्थिक अवस्था । त्यही क्लबले ‘टिम बस’ लिलाम गर्दैछ । तर बस लिलामबाट उठेको पैसाले पूर्व खेलाडीहरूको बक्यौता तलब तिर्न पुग्नेछैन । कमसेकम ज्याकब मुलेङगा यस्तै दाबी गर्छन् । 

मुलेङगा जाम्बियाका स्ट्राइकर हुन् । उनले करिब एक वर्ष होङयुनबाट खेले । उनले मात्रै क्लबबाट आठ लाख पचास हजार अमेरिकी डलर लिन बाँकी छ । होङयुनबाट तलब लिन बाँकी उनी एक्ला विदेशी खेलाडी होइनन् । न त आर्थिक अभावका कारण संर्घषरत एक्लो चिनियाँ क्लब हो, होङयुन । त्यसो त कयौँ चिनियाँ खेलाडीले स्थानिय क्लबबाट पाउनु पर्ने तलब पाएका छैनन् । 


‘म आफ्नो करियरको उर्ताद्दमा छु । तर पनि मैले खेलेको पैसा पाइन । यो अवस्थालाई कसरी बयान गर्ने थाहा छैन,’ ३७ वर्षिय मुलेङगाले एएफपीसँग भनेका छन् । हाल नेदरल्यान्ड्सको दोस्रो श्रेणीको लिग खेलिरहेका मुलेङगाले फिफाले आफू लगायतका खेलाडीको समस्यालाई सम्बोधन गर्नुपर्ने माग राखिरहेका छन् । 

चीनमा क्लबहरूले खेलाडीहरूलाई तलब दिन नसक्नु कुनै नौलो घटना होइन । यस्तो समस्या क्रमशः बढिरहेको छ । तर गत फेब्रुअरीमा जियाङग्सु एफसी बन्द भएपछि भने यो समस्या नयाँ बिन्दुमा पुग्यो । बन्द हुनु १०० दिन अगाडि मात्रै जियाङग्सुले चिनियाँ सुपर लिग जितेको थियो । 

मुलेङ्गा चिनियाँ फुटबलमा धेरै क्लब समस्यमा रहेको बताउछन् । उनी जस्ता धेरै खेलाडीले तलब नपाएको दाबी गर्छन् । ‘तर न त चीन सरकारले ध्यान दिएको छ । न त त्यहाँको फुटबल संघले नै केही गर्न सकेको छ,’ मुलेङगाको भनाई छ । उता चिनियाँ लिग व्यवस्थापन निकाय थोरै क्लबले मात्र खेलाडीलाई तलब दिन नसकेको दाबी गर्छ । 

मुलेङगा बाहेक मार्को बेसिकले पनि चिनियाँ क्लबबाट तलब पाएका छैनन् । ३२ वर्षिय क्रोएसियन खेलाडी ताइझोउ युआन्डाबाट खेलिरहेका थिए । गत सिजन चीनको दोस्रो श्रेणीको लिगमा खेलेको युआन्डाले बेसिकलाई ९० हजार अमेरिकी डलर तिर्न बाँकी छ । गत मार्चमै युआन्डा बन्द भएपछि बेसिकले कसरी बक्यौता तलब पाउँछन्, टुङ्गो छैन । 

बन्द भएको क्लबले तलब दिन नसकेमा खेलाडीहरू अदालत जानसक्ने साघांईमा रहेकी वकिल हेलाना झाङ बताउँछिन् । यद्यपि चिनियाँ अदालतले विदेशी खेलाडीहरूको पक्षमा निर्णय लिने सम्भावना कम छ । चीनमा २० भन्दा धेरै क्लब घरेल लिग संरचनाबाट हटाइएका छन् । त्यहाँको समाचार एजेन्सी सिन्ह्वाका अनुसार ती क्लब लिगबाट हटाइनुका कारण, अर्थिक समस्या नै हो । राष्ट्रपति सि चिनफिङले चीनलाई विश्व फुटबलको शक्तिका रुपमा स्थापित गर्ने उद्घोष गरेका थिए । तर उनको उद्घोषलाई पछिल्लो समय चिनियाँ फुटबलमा देखिएको समस्याले ओझेलमा पारेको छ । 

चिनियाँ फुटबलमा परिवर्तन आवशयक रहेको बताउँछन्, बेसिक । नभए चीनले आउँदो १०० वर्षमा पनि चीनले विश्वकप जित्न नसक्ने बेसिकको भनाई छ । ‘धेरै चिनियाँ क्लबहरूले स्थानिय फुटबल विकास हुने किसिमले लगानी गर्न सकेका छैनन्,’ बेसिक भन्छन् ।

धेरै चिनियाँ क्लबहरू समस्यामा फसे पनि त्यहाँको फुटबलमा राम्रा मानिसहरुको पनि संलग्नता नभएको होइन । मुलेङ्गा र बेसिक यसै भन्छन् । तर यति हुँदाहुँदै पनि विदेशी खेलाडीहरूले चीन जाने निर्णय गर्नुअघि राम्रो सँग सोच्नु पर्ने सुझाव दिन्छन्, बेसिक । ‘विदेशी खेलाडीले चीनमा तलब पाउँछन् भन्ने ग्यारेन्टी छैन । यदि जियाङग्सु जस्तो क्लब बन्द हुनसक्छ भने अरु क्लबको अवस्था कस्तो छ, अनुमान गर्न सकिन्छ,’ बेसिकले भने । 


Author

थप समाचार
x