प्रमुख समाचार

को बन्ला टोटनहमको नयाँ प्रशिक्षक ?

इकागज |
बैशाख १८, २०७८ शनिबार १४:५६ बजे

काठमाडौँ: टोटनहम नयाँ प्रशिक्षकको खोजीमा छ । क्लबका अध्यक्ष डानियल लेभीले युरोपका प्रतिभाशली प्रशिक्षकहरूमाथि नजर लगाइरहेका छन्  । तर ती मध्ये धेरैले आफूलाई टोटनहमसँग जोड्न चाहेका छैनन् । 

पछिल्लो समय एरिक टेन हाग टोटनहमको प्रशिक्षक बन्‍ने हल्ला थियो । उनले सम्भावित स्थान्तरणका लागि टोटनहमसँग कुरा पनि गरे । तर अन्तत टेन हागले आयाक्समै रहने निर्णय लिए । उनले भर्खरै डच क्लबसँग नयाँ सम्झौँता पनि गरेका छन् । 


लेभीले आरबी लाइपजिगका युलियान नागल्सम्यानलाई पनि प्रशिक्षक बनाउने इच्छा राखेका थिए । तर नागल्सम्यानले बायर्न म्युनिखलाई आफ्नो नयाँ गन्तब्यका  रूपमा रोजेका छन् । लेस्टर सिटीका ब्रेन्डन रोजर्सले पनि टोटनहमको प्रस्ताव नकार्ने सम्भावना धेरै छ । यस्तोमा लेभी दबाबमा परेका छन् । नयाँ सिजन सुरु हुनु अगावै नयाँ प्रशिक्षक नियुक्त गर्न ।  

लेभीको सूचीमा थोरै नाम बाँकी छन् । राल्फ रागनिक, रोर्बटो मार्टिनेज र स्कट पार्कर । ब्राइटनका ग्राहम पोर्टरले पनि लेभीको ध्यान आकृष्ट गरेका छन् । प्रशिक्षकको खोजी गर्न नसकेकोमा लेभी अफ्ठयारोमा त छन् नै, सुपर लिगले पनि उनलाई आलोचित बनाएको छ । त्यसमाथि झन्, कारबाओ कप फाइनलको पराजय र ह्यारी केनको स्थान्तरण चाहले लेभीको बेचैनी बढाएको छ । 

टोटनहम के चाहन्छ? 
लेभी आक्रमक फुटबल खेलाउने प्रशिक्षक नियुक्त गर्न चाहन्छन् । जोसे मौउरिन्होको शैली अधिकांश समर्थकले मन पराएनन् । त्यसकारण लेभीको इच्छा आर्कषक फुटबल खेलाउन सक्ने प्रशिक्षक भित्र्याउने नै हो । जसले युवा खेलाडीलाई मौका पनि दिउन् । 

टोटनहमले कसलाई प्रशिक्षक बनाउन चाहेको हो ? 

टोटनहमको पहिलो रोजाइ नागल्सम्यान थिए । जर्मन प्रशिक्षक बायर्न मयुनिख जाने भएपछि लेभीको नजर बे्रन्डन रोजर्सतर्फ गयो । तर रोजर्सले टोटनहमको प्रशिक्षक बन्ने इच्छा देखाएका छैनन् । कारण ? च्याम्पियन्स लिग ।  टोटनहम अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना न्यून छ ।

उता लेस्टर सिटी भने लिगको तेस्रो स्थानमा छ । च्याम्पियन्स लिग नखेल्ने टोटनहमतर्फ रोजर्स किन आकर्षित हुन्थे र । उता टेन हाग आयाक्समै रहने भएका छन् । आयाक्ससँग नयाँ सम्झौँता नगरेको भए टेन हाग टोटनहम जाने सम्भावना थियो ? ‘जे पनि हुन सक्थ्यो । तर अब म यही रहन्छु,’ टेन हागको प्रतिक्रिया थियो । 

विकल्प ?

लेभीसँग अब धेरै विकल्प छैनन् । टोटनहमले धेरै वर्षअघि पनि रागनिकलाई प्रशिक्षक बनाउन चाहेको थियो । फेरि उनै रागनिक टोटनहमसँग जोडिएका छन् । रागनिकसँग फुटबल निर्देशक भएर काम गरेको अनुभव भएकाले पनि उनी टोटनहमका लागि बलियो विकल्प हुन् । टोटनहमकै पूर्व खेलाडी स्कट पार्कर पनि सूचीमा छन् ।

फुलहम प्रिमियर लिगबाट घटुवा हने अवस्थामा रहे पनि पार्करले प्रशस्तै प्रशंसक कमाएका छन् । हाल बेल्जियमको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मार्टिनेजले लन्डन क्लबको प्रशिक्षक बन्‍ने इच्छा राखेको बताइएको छ । यद्यपि उनी युरो २०२१ पछि मात्रै उपलब्ध हुनेछन् । मार्टिनेज बाहेक इटालियन प्रशिक्षक म्याक्स एलेग्री पनि लेभीको सूचीमा रहेका छन् ।  

लिभरपुल तथा न्यूकासल युनाइटेडका पूर्व प्रशिक्षक राफा बेनिटेज हाल क्लबविहिन छन् । केही समय चीन बसेर फर्किएका बेनिटेज लेभीका लागि एउटा विकल्प हुनसक्छन् । यद्यपि बेनिटेज आक्रमक फुटबल खेलाउने प्रशिक्षक भने होइनन् । माउरिजियो सारी र हान्सी फ्लिक पनि टोटनहमको प्रशिक्षक बन्न चाहिरहेको बेलायती अखबारहरूले दाबी गरेका छन् । 

पछिल्लो समय लिड्स युनाइटेडका मार्सेलो बिएल्सा पनि टोटनहमसँग जोडिएका छन् । आउँदो जुनमा बिएल्साको लिड्ससँगको सम्झौँता सकिँदैछ । उनले त्यहाँ नयाँ सम्झौँता गर्छन् वा गर्दैनन्, टुङ्गो छैन । त्यसकारण पनि टोटनहमले बिएल्सालाई नजिकबाट नियालिरहेको बताइएको छ । 

बेलायती अखबार दी टेलिग्राफको सहयोगमा 


Author

थप समाचार
x