प्रमुख समाचार

यी हुन् इन्टर मिलानलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका खेलाडीहरू

इकागज |
बैशाख २०, २०७८ सोमबार १०:३५ बजे

काठमाडौँ : आइतबार इटालियन फुटबलले नयाँ च्याम्पियन पायो । एन्टोनियो कोन्टेको नेतृत्वमा इन्टर मिलानले सिरी ए उपाधि उचाल्दा शीर्ष स्थान र दोस्रो स्थानको क्लबबीचको दूरी १३ अंकको छ । ११ पछि इटालियन च्याम्पियन बनेको इन्टरका लागि यो १९ औँ सिरी ए उपाधि हो । अनि ११ वर्षयता पहिलो लिग उपाधि ।
इन्टर लिग च्याम्पियन बन्दा समग्र टिमले नै सन्तुलित प्रदर्शन गरेको छ । तर केही खेलाडी भने निर्णयक बने । जसका बारेमा यस आलेखमा चर्चा गरिएको छ :

रोमेलु लुकाकु/लाउटारो मार्टिनेज 
रोमलु लुकाकु दुई वर्ष म्यानचेस्टर युनाइटेडमा रही सन् २०१९ मा इन्टर मिलान पुगे । उनलाई अनुबन्ध गर्न इन्टरले ८० मिलियन यूरो स्थान्तरण रकम तिर्‍यो । त्यसो त लुकाकुलाई एन्टोनियो कोन्टे आफू चेल्सीमै छँदा अनुबन्ध गर्न चाहन्थे । तर लुकाकुको चेल्सी स्थान्तरण कारणवस सफल हुन सकेन । यी दुईको भेट अन्ततः इटालियन फुटबल राजधानी मिलानमा भयो ।


लुकाकु इन्टरसँग जोडिन पनि उनै कोन्टेको भूमिका महत्वपूर्ण रह्यो । लुकाकुले कोन्टेलाई निरास बनाएनन् । इन्टर लिग च्याम्पियन बन्दा २७ वर्षीय लुकाकुले २१ गोल गरेका छन् । लुकाकुबाहेक लाउटारो मार्टिनेजको भूमिका पनि उल्लेख्य रहेको छ । अर्जेन्टिनाका २३ वर्षिय मार्टिनेजले इन्टरलाई लिग विजेता बनाउन १५ गोल गरेका छन् । 

कोन्टेले उस्तै प्रकृतीका दुई स्ट्राइकरलाई कसरी सँगै खेलाउलान् भन्ने कौतुहुलता थियो । बीचबीचमा दुईमध्ये एकले क्लब छाड्ने हल्ला पनि नचलेको होइन । तर कोन्टेले दुबै स्ट्राइकरलाई उपयोग गरे ।

निकोलो बरेला
निकोलो बरेला इटालियन क्लब काग्लियारीका उत्पादन हुन् । आफ्नै सहरको क्लब काग्लियारी छाडेर बरेला गत सिजन इन्टर आए । पहिलो सिजनमा उनको प्रदर्शन सन्तोषजनक रहेन । यस पटक भने २४ वर्षिय मिडफिल्डर बरेला इन्टरको ‘क्रिएटिभ फोर्स’ बने । उनले यस सिजन सिरी ए मा तीन गोल गर्नुका साथै सात एस्सिट दर्ता गरेका छन् । 

विशेषगरी बरेला र ‘राइट विङ ब्याक’ अचरफ हाकिमीबीचको साझेदारी इन्टरका लागि महत्वपूर्ण सावित भएको छ । ‘कोन्टेको प्रशिक्षणमा खेल्दा म आत्मविश्वासी भएको छु । इन्टरमा प्रतिभाशाली खेलाडीहरू छन् । उनीहरूसँगको संगतले मलाई फाइदा भएको छ,’ बरेलाले भनेका छन् ।

अचरफ हाकिमी 
अचरफ हाकिमी रियल म्याड्रिड एकेडेमीका उत्पादन हुन् । रियलको सिनियर टिममा मौका नपाएपछि उनी जर्मनी पुगे । जहाँ उनले बोरुसिया डर्टमन्डका लागि दुई सिजन खेले । डर्टमन्डसँगको ऋण सम्झौँता सकिएपछि उनी रियल फर्किए । फेरि पनि रियलमा मौका नपाउने देखिएपछि २२ वर्षिय हाकिमीले यसपटक इन्टर रोजे । 


इन्टरले हाकिमीलाई अनुबन्ध गर्न करिब ४० मिलियन यूरो खर्च गर्‍यो । मोरोक्कोका २२ वर्षिय फुलब्याक तिब्र गतिमा खेल्छन् । कोन्टेले प्राय तीन ‘सेन्ट्रल हाफ’ खेलाउने भएकाले हाकिमीको भूमिका ‘विङ ब्याक’ को हो । उनी पराम्पारिक विङ्गर जसरी नै खेल्छन् । त्यसकै नतिजा हो उनले सिरी ए मा यस सिजन दर्ता गरेको सात गोल र सात एस्सिट ।   

क्रिस्टियन एरिक्सन 
सिरी ए मा सुरुवाती केही महिना एसी मिलानको दबदबा रह्यो । त्यसबखत इन्टरले आफ्नो प्रदर्शनमा एकरुपता देखाउन सकिरहेको थिएन । ठिक त्यसैबेला क्रिस्टियन एरिक्सन पनि इन्टरको टिममा संर्घषरत देखिए । टोटनहमबाट यसै सिजन इन्टर आएका एरिक्सन कोन्टेको प्रमुख रोजाइको मिडफिल्डर बन्‍न समय लाग्यो । सुरुका करिब २० लिग खेलमा एरिक्सन बेन्च खेलाडीमा सीमित रहे । तर पछिल्ला १४ खेलमा भने उनको भूमिका फेरियो । ती खेलका लागि घोषित प्रत्येक पहिलो एघारमा एरिक्सनको उपस्थिती छ । 

आफू र कोन्टेबीच साझेदारी विकास हुन समय लागेको स्वीकार गर्छन डेनिस प्लेमेकर । ‘हामीबीच अन्डरस्ट्यान्डिङ केही ढिलो गरी मात्रै विकास भयो । यद्यपि म खुशी छु । टिमले लिग जित्दा मेरो भूमिका सन्तोषजनक छ जस्तो लाग्छ,’ एरिक्सन भन्छन् । 


Author

थप समाचार
x