प्रमुख समाचार

कोभिड संक्रमितको उपचार गर्न टेकु अस्पतालले करारमा माग्यो ३३ कर्मचारी

चाप बढेपछि अस्पतालमा स्वास्थ्यकर्मी अभाव

इकागज |
बैशाख २१, २०७८ मंगलबार १०:३१ बजे

काठमाडौं : जटिल लक्षणसहितका कोभिड-१९ संक्रमित बिरामीको चाप बढेपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ३३ कर्मचारी करारमा भर्ती गर्ने भएको छ । संक्रमितको उपचार र हेरचाहका लागि पर्याप्त कर्मचारी नभएपछि अस्पतालले करारमा खुलाएको हो ।

अस्पतालले ८ जना मेडिकल अधिकृत मागेको छ । २० जना स्टाफ नर्स, एक रेडियोग्राफर र चार जना हेल्थ असिस्टेन्ट मागेको छ । यसमा छानिने कर्मचारीहरूलाई असार मसान्तसम्मका लागि करारमा लिने उल्लेख छ । बैशाख २४ र २५ गते आन्तर्वार्तामार्फत कर्मचारी छनोट गर्ने भनिएको छ ।

सोमबारको २४ घन्टाको तथ्याङ्कअनुसार पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।

कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने घोषणा गरेका थिए । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने समेत बताएका थिए ।



Author

थप समाचार
x