प्रमुख समाचार

एसियामा कोभिड-१९ को दोस्रो लहर, युरोप-अमेरिका खुकुलो

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:९ बजे

काठमाडौँ  :  कोभिड-१९ को दोस्रो लहरले नेपाल, भारतलगयातका दक्षिण एसियाली मुलुकहरू आक्रान्त भइरहेका छन् । यही बेला अमेरिका र युरोप भने कोभिड-१९ संक्रमण नियन्त्रणका लागि बनाइएका नियम खुकुलो बनाउँदै अघि बढेका छन् ।

खोप कार्यक्रमका कारण संक्रमति तथा मृत्य हुनेको संख्यामा व्यापक गिरावट आउन थालेपछि अमेरिकामा हवाई सेवा व्यस्त बन्‍न थालेको छ । उता युरोपियन युनियन (ईयू)ले समेत अन्य महादेशबाट आउन चाहनेलाई प्रवेश अनुमति दिनेबारेमा सोचिरहेको समाचार एजेन्सी एपीले जनाएको छ ।


कुनैबेला कोभिड-१९ ले सर्वाधिक पीडित बनेको अमेरिकामा हाल संक्रमितको संख्या घटिरहेको छ । गत अक्टोबरपछि पहिलो पटक ५० हजार भन्दा कम (सरदरमा) अमेरिकी संक्रमणमा परिरहेका छन् । यसैबेला अमेरिकामा हवाई यात्रुको वृद्धि पनि भइरहेको छ ।

आइतबार मात्रै करिब १५ लाख यात्रुको एयरपोर्ट चेक प्वाइन्टमै कोभिड परीक्षण गरिएको बताइएको छ । जुन गत वर्षको मार्च यताकै सर्वाधिक संख्या हो । संक्रमण केही हदसम्म नियन्त्रणमा आएपछि फ्लोरिडामा मास्क सम्बन्धी नियम हटाउन लागिएको एपीले लेखेको छ ।

त्यहाँका रिपब्लिकन गभर्नर रोन डेससान्टिसले मास्क सम्बन्धी नियम चाँडै हटाउन निर्देशन जारी गर्ने बताएको एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । उता लसभेगसमा क्यासिनोको अधिकतम क्षमता सीमा ८० प्रतिशत पुर्‍याएको छ । त्यस्तै, न्यूयोर्कमा सब-वेलाई राति पनि सञ्‍चालन अनुमति दिन लागिएको छ भने मे १४ बाट अन्य व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन गर्न दिइनेछ ।

यसैबीच ईयूमा यात्रा प्रतिबन्ध फुकुवा गर्न प्रस्ताव पेश गरिएको छ । ‘ईयूको पर्यटन पुनउत्थान गर्न, क्रसबोर्डर मित्रतालाई सुचारु गर्न पनि यात्रा प्रतिबन्ध फुकुवा गर्न आवश्यक छ । खोप लगाइसकेका र कोभिड-१९ बाट कम प्रभावित मुलुकबाट अउने पर्यटकहरूलाई ईयूभित्र यात्रा गर्न दिनुपर्छ भन्नेमा हामी पुगेका छौ,’ युरोपियन कसिमसनकी अध्यक्ष उरसुला भोन डर लेयनले एपीसँग भनेकी छिन् । 

युरोपकै ग्रिसमा छ महिनादेखि बन्द रेष्टुरेन्ट सोमबारबाट खुलेका छन् भने फ्रान्समा उच्च माध्यमिक विद्यालयमा पठनपाठन सुर गरिएको छ । त्यस्तै, फ्रान्स सरकारले आन्तरिक यात्रामा लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ । फ्रान्सबाट अलि परको चेक गणतन्त्रले पनि मास्क सम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबारबाट त्यहाँ सामाजिक दूरी कायम गरे मास्क लगाइरहनु नपर्ने बताइएको छ ।

अमेरिका र युरोपमा काभिड-१९ सम्बन्धी नियम केही खुकुलो बनाइए पनि त्यहाँका सरकार भयरहित भने भइसकेका छैनन् । ‘मेरो अनुरोध छ, कृपया सबैले खोप लगाउ । सबै अमेरिकीलाई पुग्ने पर्याप्त खोप भण्डारण गरिएको छ,’ अमेरिकी राष्ट्रपति जो बाइडनले भर्जिनिया पुगेर भनेका छन् ।

सोही अवसरमा बाइडनले सबै अमेरिकी नागरिकलाई खोप लगाइसकेपछि आफूहरू विश्वका अन्य मुलुकलाई सहयोग गर्नतर्फ लाग्‍ने पनि बताए । बाइडनले अमेरिकी नागरिकलाई खोप लगाउन आग्रह गरिरहँदा ब्राजिल र भारतलगायतका मुलुकमा मृत्य हुने संक्रमितहरूको संख्यामा व्यापक वृध्दि भइरहेको छ । भारतमा सोमबार मात्रै ३ लाख ७० हजार नयाँ संक्रमित फेला पर्नुका साथै ३४ सयले ज्यान गुमाएको आकँडा सार्वजानिक भएको छ ।


Author

थप समाचार
x