प्रमुख समाचार

संक्रमित गर्भवती भन्छिन् : 'मलाई होइन, श्रीमानलाई वेड चाहियो'

अतिन आचार्य |
बैशाख २४, २०७८ शुक्रवार १९:३३ बजे

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालको परिसरभित्र गणेशमान सिंहको सालिकलाई अगाडि पारेर भक्तपुरका ४० वर्षीय राजेश घिमिरे भुँइमा सुतिरहेका छन् । उनको शरीरमा अक्सिजनको कमी भएकाले टाउकोकै छेउमा सिलिण्डर राखिएको छ ।

'उसलाई दीर्घ रोग केही छैन, फोक्सोमा असर गरिसकेको छ,' उनीदेखि परै बसेका राजेशका काका भन्छन,' सिभिल अस्पतालमा रातभर बाहिर चिसो भुइमा बस्दासमेत बेड पाइएन् ।'


उनीहरू रातभर अस्पतालमा बसी बेडको माग गर्दा एउटै जवाफ पाउँथे,' तपाइलाई मात्र दिएका छैनौ। सबै संक्रमितले बेड भरिभराउँ छ ।' सिभिल अस्पतालले सम्पर्क गरी महाराजगञ्‍जस्थित  त्रिवि शिक्षण अस्पताल पठाएको थियो । उपत्यकाको सबै कोभिड उपचार केन्द्रका सबै बेड संक्रमितले भरिएका छन् ।

राजेशलाई कोभिड-१९ को लक्षण एक सातादेखि देखा परेको थियो । उनलाई गाह्रो बनाउँदै लगेपछि श्रीमतीसहित बानेश्वरको सिभिल अस्पतालमा आइ बिहिबार कोभिड परीक्षण गरे। बेलुकीपख दुवै जनाको कोभिड पोजेटिभ रिपोर्ट आयो ।

उनलाई नाक र मुखबाट अक्सिजनको मास्क निकाले गाह्रो हुन्छ । बेड पाइने आशामा उनीहरू १२ बजे देखि अस्पताल परिसरमा बसिरहेका छन् । नाम टिपेर लगेका छन तर, कतिखेर बोलाउँछन अहिलेसम्म कोही बोलाउन नआउने उनले बताए ।

जाडो भएकाले राजेशलाई श्रीमतीले हरियो जेब्रा झोलाबाट ज्याकेट निकालेर दिन्छिन् । राजेश ज्यामी काम गर्थे। निषेधाज्ञा भएपछि उनी काम गर्न जान पाएका थिएनन् । 'ज्वरो र रुघा आएको थियो रे, सामान्य भनेर घरमा त्यतिकै बसिरहेका थिए,' अचानक गाह्रो भएपछि कोभिडको आशंकामा परीक्षण गर्न आउँदा कोभिद देखिएको,' इकागजसँग काकाले भने ।

राजेशलाई अक्सिजन दिएर राख्‍नपरे पनि श्रीमतीको अवस्था भने सामान्य छ । उनको गर्भमा सात महिनाको बच्चा हुर्कदै छ । उनी पनि श्रीमानको छेउमा सुतिरहेको छिन् । बच्चा हुर्कदै थियो शरीरमा अर्को भाइरस पनि हुर्कदै गएको छ ।

उनलाई आफ्नो भन्दा श्रीमानको चिन्ता छ । बेड नपाए पनि उनी भुइमा बसी उपचार गर्ने आत्मविश्वास राख्छिन्। 'मलाई बेड चाहिँदैन श्रीमानको लागि पाए हुन्थ्यो, मेरो अवस्था सामान्य छ,' उनी भन्छिन,' मलाई लक्षण देखिएको छैन । बेड पाइएमा वहाँको अवस्थामा केही सुधार हुन्थ्यो ।'

इकागजकर्मी जब अस्पतालको परीसरमा पुगे राजेश जस्तै बाहिर पाँच जना संक्रमित बाहिर भुइदेखि स्ट्रेचरमा सुतिरहेका थिए । सबैको समान पिडा थियो । देख्ने जोकोहीले पनि सोझै अडकल काट्न सक्थे बेडकै अभावमा उनीहरु बाहिर बसी उपचार गर्न बाध्य थिए ।

स्वास्थ्यकर्मीहरू समय-समयमा आइ उनीहरूको संक्रमितका अगाडि रहेका अक्सिजनको रेगुलेटर मिलाइरहन्थे । स्वास्थ्यकर्मीले भनिरहेका थिए,' भित्र बेड मिलाइरहेको छ । सबै बेड प्याक छ । '

'रहर होइन बाध्यताले बारी राखी उपचार गरेका छौँ'

अस्पतालमा कोभिड संक्रमितका लागि ३ सय बेड राखिएको प्रवक्ता रामविक्रम अधिकारी बताउँछन् । 'केही दिनदेखि अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या बढेपछि बाहिर पेटीमा राखी उपचारको व्यवस्था मिलाइएको छ,' उनले भने, ' सबै संक्रमितहरू अक्सिजन चाहिने खालका आइरहेका छन् ।'

अधिकारी संक्रमितलाई बाहिर राखी उपचार गर्नु रहर नभइ बाध्यता भएको बताउँछन । आइतबार देखि बाहिर टेन्ट राखी उपचार गरिन्छ,' उनी भन्छन,' अस्पतालमा उपचार गर्न आएका कसैलाई पनि फर्काउने योजना नभएकाले पनि हामीले बाहिर राखी उपचार गरिरहेका छौ ।'

अस्पतालले तत्काल ५० बेड थप्ने तयारी गरेको छ। उपचारत सबै बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ । सुरेश वाग्ले भवनमा थप बेड राखी उपचार राखी उपचार गराइने अधिकारीको भनाइ छ । अक्सिजनसहितको  बेड थपिने उनले बताए ।

अस्पतालमा अक्सिजनको अभाव हुँदै गएको अधिकारी सुनाउँछन् । दैनिक ५ सय वटा सिलिण्डर खर्च हुँदै गइरहेको उनले बताए । अस्पतालमा भएको ३ वटा अक्सिजन प्लान्टमध्ये २ वटाबाट मात्र उत्पादन भइरहेको छ । एउटा प्लान्ट बिग्रेको र सामान फ्रान्सबाट सामान ल्याउनुपर्ने भएकाले बनाउन नसकिको उनी बताउँछन् । लिक्‍विड ग्यास उत्पादनको तयारी भइरहेको उनले जानकी दिए । दश दिनमा लिक्विड ग्यास उत्पादन हुने भएकाले अब अक्सिजनको अभाव नुहने उनले दाबी गरे । 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x