भारतबाट १० नेपाली महिलाको उद्धार
जागिरकाे प्रलाेभनमा दिल्ली पुर्याइयाे, अनि भनियाे वेश्यावृत्ति गर्नुपर्छ
फाइल फोटो
काठमाडौँ - मानव तस्करीको सिकार भइ जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो ।
उनीहरूलाई नेपाल प्रहरीकाे मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो । यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका १० जना महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्यूरोलाई बुझाइएको हो ।
उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताए । मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानीय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारबाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरु फ्ल्याटबाट फेला परेको बताए ।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको बताए ।
प्राथमिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया