प्रमुख समाचार

दोगडा केदार गाउँपालिकाले सबै गाडी संक्रमित बोक्न प्रयोग गर्ने

इकागज |
बैशाख २६, २०७८ आइतबार ६:५६ बजे

बैतडी  : दोगडा केदार गाउँपालिकाले आफूसँग रहेका सबै गाडी कोभिड-१९ नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोभिड नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।  

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार छन् । यसअघि गाउँपालिकामा संक्रमित बिरामी बोक्नका लागि  एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारीले भयावह रूप लिँदै गएको भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो । 
 
पालिकाले प्रत्येक वडामा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । पालिकाका विभिन्‍न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति बनाइएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाबाट कुनै व्यक्ति सङ्क्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएको हो ।  


यसैबीच गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेशन कक्ष स्थापना गर्ने तयारी थालेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरी अक्सिजनसहितको १२ शय्याको आइसोलेशन कक्ष निर्माण सुरु गरिएको छ । 

वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नं ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने तयारी भएको हो । कोभिड सङ्क्रमित भएर गम्भीर बिरामी भएमा स्थानीयस्तरमै उपचारको लागि तयारी भएको नाथको भनाइ छ । (रासस)
 


Author

थप समाचार
x