प्रमुख समाचार

पोखरामा अमेरिकी नागरिकको कर्तुत

खाजा र आइप्याड दिएर यौन दुराचार

दुतावासले पोल खोलेपछि सिआईबीद्धारा पक्राउ

अनिष भट्टराई |
बैशाख २६, २०७८ आइतबार ७:१४ बजे

पोखरा : अमेरिकी ६२ वर्षीय माइकल नर्मन टेलर २०१८ मा पहिलो पटक नेपाल आए । टेलर २०१८ को अप्रिल दोस्रो साता नेपाल आएका थिए । नेपाल टेक्नेबित्तिकै उनी पोखरा हान्निए । पोखरामा मोहम्मद हसिफ (नाम परिवर्तित)ले सञ्चालन गरेको होमस्टेमा एउटा कोठा बुकिङ गरे । सेप्टेम्बरसम्म पोखरा नै बसे । 

पोखरामा ‘घुम्न’ आएका टेलर प्राय बालबालिकासँग हिँड्थे । बच्चाहरुलाई सामान किनिदिने, मोबाइल चलाउन दिने, खाजा खुवाउने गर्थे । केही पैसा हात लगाएर पठाउँथे । 


यही क्रममा उनले लेकसाइडमा पौडी खेलिरेहका तीन जना बालक भेटे । कास्कीका जोन आचार्य, कुमार आचार्य र राम आचार्य (सबैको नाम परिवर्तित) सँग पौडी खेल्दा उनको चिनजान भयो । टेलरले तीन बालकलाई चिकन फ्राइड राइस खुवाउन लगे । फेसबुक आइडी साटासाट गरेपछि उनीहरुबीच फेसबुकमा लगातार कुराकानी हुन थाल्यो ।

टेलर बसेको होमस्टेमा पनि दुई बालक थिए । अरु बालक ल्याएर सामान किन्ने, पैसा दिने, खाजा खुवाउने गर्ने टेलरको बानी हसिफलाई पनि राम्रो लाग्थ्यो । तर उनलाई ती सामानको आशा थिएन । टेलरसँग हसिफको एउटै आशा थियो । त्यो हो- आफ्ना दुई बच्चाको अंग्रेजीको ज्ञानमा वृद्धि । 

हसिफले आफ्ना बच्चालाई ती पर्यटकसँग नजिकिन रोकेनन् । तर टेलरले हसिफका छोराहरुलाई खास ख्याल गर्दैनथे । टेलर आफैं ती बालकलाई ‘पिकअप’ गर्न पुगेका थिए । टेलरले आचार्यको ख्याल गरेजस्तो गर्थे । 

आचार्यसँग एकदिन हसिफले सोधे, ‘तिमी कहाँका हौ ? टेलरसँग कसरी चिनजान भयो ?’ जवाफमा आचार्यले पौडी खेल्ने पोखरीमा टेलरलाई भेटेको बताए । आफू कास्कीको नभएको हसिफलाई सुनाए । 

आचार्य दाजुभाइ नै टेलरको प्रलोभनमा परे । फेसबुकमा कुराकानी गर्दा २०७५ कात्तिकमा टेलरले दुई भाइलाई म्यासेज गरे, ‘पौडी खेल्न आऊ ।’ ती दाजुभाइ पौडी खेल्न पुगे । पौडी खेलिसकेपछि टेलरले तीन भाइलाई हसिफले सञ्चालन गरेको होमस्टे लगे । तीन भाइमध्ये पनि टेलरलाई जोनसँग विशेष लगाव थियो । 

होमस्टेमा पुगिसकेपछि टेलरले दुई बालकलाई मिठाइ खान दिए । जोनलाई आइप्याड दिए । अमेरिकाबाट नै बालयौन दुराचारको लक्ष्य बोेकेर आएका टेलरलाई त्यो राम्रो मौका लाग्यो । टेलरले नांगै बनाएर आचार्यलाई अप्राकृतिक मैथुन गरे । आचार्यलाई आफूमाथि गलत भइरहेको छ भन्ने सुइँको पनि थिएन । बाँकी दुई भाइलाई पनि टेलरले उसै गरे । 

टेलरले ती बालकलाई निस्कने बेलामा ५/५ सय रुपैयाँ दिए । अर्को दिन पनि त्यही होमस्टेमा आउन टेलरले आग्रह गरे । ‘हामीलाई टुमारो टुमारो भन्दै बोलाएको थियो, हामी गएनौं,’ पीडित बालक भन्छन् । 

जोनबाहेक दुई बालकसँग उनको सम्पर्क पातलो थियो । टेलरले जोनको मोबाइल नम्बर पनि राखेका थिए । टेलर २०७६ वैशाखमा फेरि नेपाल आए । टेलरले पोखरा आएपछि जोनलाई फोन गरे । 

आफू धम्पुस जान लागेको र जोनलाई पनि लैजान चाहेको बताए । जोनले नाईं भन्न सकेनन् । तीन दिनका लागि जोन टेलरसँग धम्पुस पुगे । त्यहाँ पनि जोनसँग टेलरले पुरानै हर्कत दोहोर्‍याए । जोनलाई आफूमाथि गलत भएको थाहा थिएन ।

२०७७ चैतमा तेस्रोपटक नेपाल ओर्लेका टेलरले जोनलाई खबर गरे । लेकसाइडको आइरिस पबमा गएर खाजा, रक्सी खुवाए । जोनलाई टेलरले नेपाली बजारमा तीन हजार रुपैयाँ पर्ने घडी उपहार दिए । त्यसबाहेक टेलरले जोनलाई चार हजार रुपैयाँ पनि दिए । 

टेलरको यो कर्तुत बालकहरुको परिवारलाई थाहा थिएन । बालकहरुले बुझेनन् । स्थानीय प्रशासन, प्रहरी पनि बेखबर थिए । अमेरिकी राजदूतावासले प्रहरी प्रधान कार्यालय, काठमाडौंलाई टेलरले पोखरामा दुराचार गरिरहेको हुन सक्ने भन्दै १० चैतमा पत्र काट्यो । त्यसपछि मात्र प्रहरीले टेलरबारे अनुसन्धान अघि बढायो । 

अमेरिकी दूतावासले नेपाल प्रहरीलाई काटेको पत्रमा भनिएको छ, ‘अमेरिकी नागरिक माइकल नर्मन टेलर बालयौन दुराचार गर्न नेपाल आएको देखिन्छ, उसमाथि अनुसन्धान गर्नुहोला ।’

दूतावासले माइकलसँग नजिक भएका बालकहरुबारे पनि जानकारी पठाइदिएको थियो । फेसबुकमा टेलरले गरेका कुराकानी हेरेर दूतावासले ती बालकबारे जानकारी दिएको थियो । 

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोली पोखरा पुग्यो । दूतावासले दिएको जानकारी अनुसार ती बालकलाई भेटेपछि सोधपुछ थाल्यो । बालकहरुले आफूसँग भएका घटनाको नालिबेली सुनाए । अनि खुल्यो टेलरको बाल यौन दुराचारको रहस्य । 

सिआइबीको टोलीले चैत १७ गते उनी बसेको होमस्टेमा छापा मार्‍यो । उनको कोठाबाट टडलाफिल नामक औषधी पनि बरामद भएको थियो । यो औषधीले यौन उत्तेजना बढाउने प्रहरीको दाबी छ । टेलर भने आफूले बालकहरुमाथि दुराचार नगरेको दाबी गर्छन् । 

अदालतमा बयान दिँदै टेलरले बालकहरुलाई आफूले चिनेपनि दुराचार नगरेको र आफूले पैसा नदिएको भएर बालकहरुले फसाएको बताए । आफ्नो कोठाबाट भेटिएको औषधी आफूले उच्च रक्तचाप, प्रोस्टेड रोक्न प्रयोग गर्ने गरेको दाबी गरे । 

अदालतले उनलाई कारागार चलान गर्न आदेश गरेको छ । थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी उनलाई कारागार चलान गर्न कास्की जिल्ला अदालतले आदेश गरेको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले वैशाख १४ गते उनलाई कारागार पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x