प्रमुख समाचार

देउवाले ठाकुर र महतोलाई भने : ओलीको दम्भ र अहमता तोड्ने निर्णय गर्नुस्

इकागज |
बैशाख २६, २०७८ आइतबार १३:९ बजे

काठमाडौँ : प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई वर्तमान राजनीतिक अन्यौलता पार लगाउन सहकार्य गर्न आग्रह गरेका छन् । देउवाले वर्तमान सरकरको कार्यशैली, दम्भ र हविगत हेरेर कसरी अगाडि बढ्ने  भन्‍ने  निर्णय छिटो लिन ठाकुर र महतोलाई आग्रह गरेका हुन् । ठाकुर र महतो देउवालाई भेट्न बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।  

जसपामा एक धारले देउवाको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णयतर्फ समर्थन गरेको छ भने अर्को धार ओलीसँग नै लपक्कै छ । यो अवस्थामा देउवाले ओलीसँग निकट रहेका ठाकुर र महतोलाई ओलीको पक्षमा मतदान नगर्न आग्रह गरेका हुन् । उनीहरूले मत नदिए ओलीको विश्‍वासको मत स्वभावतः असफल हुनेछ । 


देउवाको आग्रहपछि जसपाका नेताद्वयले आफूले विश्‍वासको पक्षमा आफूहरूले मतदान नगर्ने बताए । आफूहरू अहिले तटस्थ बस्‍न पर्ने आवस्था आएको पनि उनीहरूले स्पष्ट पारे । नयाँ सरकारको बारेमा पनि अहिले नै आफूहरूले सोचिनसकेको धारणासमेत उनीहरूले राखेका थिए । यद्यपि यही समयमा ठाकुर नेतृत्वमा नयाँ गठबन्धन बनाएर नयाँ सरकारको नेतृत्व गर्ने विषय पनि उठेको छ ।

देउवाले अन्य कुरामा हामी छलफल गर्दै गरौला तर ओलीको विश्‍वासको मतलाई असफल बनाउन आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरेको जसपा नेता महतोले जानकारी दिए । ‘उहाँले हामीलाई सहयोग गर्न पर्‍यो भन्दै बोलाउनु भएर गएका थियौँ । वर्तमान राजनीतिक अवस्थाबारेमा छलफल भयो । र, ओलीलाई मत नदिने र यता गठबन्धनबाट उठ्नेलाई पनि मत नदिने भन्यौँ,’ महतोले इकागजसँग भने ।   

महतोले दल फुटाउनेतर्फ भूमिका नखेल्दिन देउवालाई आग्रह गर्दै भने, ‘हामी बीच धारमा बस्‍न चाहेका छौँ, दललाई जोगाउन ।’ अर्का अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने देउवा नेतृत्वको नयाँ गठबन्धनलाई खुलेर सहयोग गर्ने बताइसकेको अवस्थामा महतोले यस्तो धारणा राखेका हुन् । 


महतोले भने, ‘हामी यतिबेला कांग्रेस र माओवादी सत्ता समीकरण भनौ या ओलीतर्फ कतैको पक्षमा पनि छैँनौ । हाम्रा आफ्नै मागहरू छन त्यसमा नै हामी केन्द्रित छौँ ।’ राजनीतिक अन्यौलता अन्त्य गर्न जिम्मेवार भएर काम गर्ने महतोले बताए । 


Author

थप समाचार
x