Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

संसदीय समितिहरुको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने

इकागज |
बैशाख १९, २०८० मंगलबार ९:३२ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । 

प्रतिनिधि सभाको गत शुक्रवारको बैठकले १० वटा विषयगत समितिहरु गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ । सञ्चारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताए । 


उनले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए । उनले भने, ‘अब समितिहरु आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा हो । सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ । सभापतिको निर्वाचनको सम्बन्धमा हाम्रो नियमावलीको व्यवस्था भनेको सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने भन्ने व्यवस्था छ ।'

 पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए । प्रवक्ता गिरीले सबै समितिहरुको पहिलो बैठक एकैपटक बस्नसक्ने बताए । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पारे । 

उनले भने, ‘पहिलो बैठक बस्ने सन्दर्भमा सामान्यतया सबै समितिको बैठकहरू एकैपल्ट बस्नु उपयुक्त हुन्छ । यद्यपि बस्नलाई बाधा छैन । यसमा सभामुखज्युले संसदीय दलका प्रमुख सचेतक, सचेतकसँग सामान्य छलफल गरेर फलानो मितिमा बस्दा उपयुक्त हुन्छ, भन्ने हो । यद्यपि समिति गठन भइसके पछाडि समितिको बैठक बस्नलाई कुनै त्यस्तो अप्ठ्यारो पर्ने देखिन्न । पहिलो बैठक बोलाउँदा समिति सचिवालयले उक्त समितिको ज्येष्ठ सदस्यसँग सम्पर्क गर्छ । उपस्थितमध्येको ज्येष्ठ । ज्येष्ठ मध्येको पनि २/३ जनालाई तयार गर्नुपर्ने हुन्छ । समिति सचिवालयले ज्येष्ठ सदस्यसँगको समन्वयमा पहिलो बैठक बोलाउने कुरा हुन्छ ।’

प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए । 

उनले भने,  ‘सभापतिको निर्वाचनका लागि समितिमा रहने कुनै सदस्यलाई समितिको सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सम्बन्धित समितिकै कुनै सदस्यबाट प्रस्तावित भएर र अर्को कुनै सदस्यबाट समर्थन भएर सचिवले प्रकाशन गर्ने सूचनापश्चात जुन ४८ घण्टाको समय हुन्छ, त्यसमा दर्ता गर्न आउनुपर्ने हुन्छ । यसरी जति प्राप्त हुन्छ, त्यसलाई समितिको बैठक बसेर त्यसलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ । जुन प्रस्ताव बहुमतले पास गर्छ, पास गरिसकेपछि प्रश्तावित सदस्य सभापतिको रुपमा उक्त समितिको सभापतिमा मनोनीत हुनुहुन्छ । मनोनीत सभापतिले आफ्नो समितिको बैठकलाई अगाडि बढाउनुहुन्छ ।’

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरु रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहने गरी दुईवटा विषयगत समितिहरु पनि छन् । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरु सबै समितिमा उत्तरदायी भुमिकामा रहने भएकोले विषयगत समितिहरुमा सदस्य तोकिने व्यवस्था छैन । 


Author

थप समाचार
x