प्रमुख समाचार

नागरिकको जीवन रक्षाका लागि भारतलाई सहयोग जुट्दैछ, हाम्रा प्रधानमन्त्रीले कसरी स्थिति नियन्त्रणमा देखे ?

इकागज |
बैशाख २९, २०७८ बुधबार ९:४८ बजे

काठमाडौँ : कोभिड–१९ संक्रमित र जीवन गुमाउनेहरूको संख्या भयावह बन्दै गएको छ । वैशाख २५ देखि वैशाख २८ को बीचमा कोभिड–१९ का कारण जीवन गुमाउनेको संख्या झण्डै ३२५ प्रतिशतले बढेको छ । जनसंख्याको हिसाबले भारतमा भन्दा महामारीले नेपालमा ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ । महामारी नियन्त्रण गरी मानवीय क्षति कम गर्न भारतले विश्वभरबाट सहयोग लिइरहेको छ । भारतको स्वास्थ्यप्रणालीले धान्नै नसक्ने गरी संक्रमितको संख्या बढेपछि त्यहाँ स्थिति भयावह भएको थियो । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको छ तर महामारीको दोस्रो लहरले नेपाललाई नराम्रोसँग लपेटेको छ । 

भारतमा आज र भोलि गरी जापान सरकारले आपतकालीन सहयोग पठाउन लागेको छ । जापानले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेसन र ३०० भेन्टिलेटर पठाउन लागेको छ । त्यो मध्ये १०० अक्सिजन कन्सन्ट्रेटर केही दिन अघि नै भारत आइसकेको छ । बाँकी दुई सय अक्सिजन कन्सनट्रेटर आज र भोलिसम्म भारतमा आइपुग्दैछन् । जापानले भारतलाई ५ करोड अमेरिकी डलर बराबरको आपतकालीन सहयोग पठाउने जापानी विदेश मन्त्री मोतेगीले भारतीय समकक्षी एस जयशंकरलाई जानकारी गराइसकेका छन् । भारतलाई यसअघि पनि दक्षिण कोरिया, अमेरिका, रुस, जर्मनी लगायत दर्जनौ देशहरूले सहयोग पठाइरहेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीटर फिड पछ्याउने हो भने पनि भारतले कसरी सहयोग जुटाइरहेको छ भन्ने प्रष्ट हुन्छ । 


 

नेपालमा स्थिति भयावह हुँदै गर्दा बाह्य सहयोग जुटाउनेतर्फ सरकारले ध्यान पुर्‍याउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा अहिले कोभिड(१९ को स्थिति नियन्त्रणमा (सिचुएसन अण्डर कन्ट्रोल) रहेको उल्लेख गर्दै बाह्य सहयोगका लागि आह्वान गर्नुपर्ने अवसर गुमाएको सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । त्यसपछि नेपाललाई सहयोगका अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिएको उनको लेख सोमबार बेलायती अखबार ‘दि गार्डियन’मा प्रकाशित छ । 


Author

थप समाचार
x