प्रमुख समाचार

दान गर्ने कोही नहुँदा रक्तसञ्‍चार केन्द्रमा रगत अभाव

'रगतबाट कोभिड-१९ सर्दैन'

अतिन आचार्य |
बैशाख २९, २०७८ बुधबार १५:८ बजे

काठमाडौँ : कोभिड-१९ का संक्रमितले अस्पतालका बेड भरिभराउ छन् । संक्रमित अधिकांश अस्पतालमा उपचार पाउन छाडिसकेका छन् । यहीँ समयमा अन्य दीर्घ रोगी भएका मानिसहरू यसबाट प्रभावित बन्‍ने भएका छन् । संक्रमणको त्रासले धेरै मानिसहरू अस्पतालसम्म नपुगेका र बिरामीका लागि अतिआवश्यक वस्तुहरू नपाउने सम्भावना बढ्दै गएको छ ।

पछिल्लो समय अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई रगतको समस्या पर्दै गएको छ । क्यान्सर, मृर्गौला,  मुटुको रोगी गर्भवती, थालेसिमिया र शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सबैभन्दा बढी रगतको जरुरी पर्छ । रक्तसञ्‍चार केन्द्रमा रगतको अभाव हुँदै गएपछि गम्भीर प्रकृतिका बिरामीलाई रगत उपलब्ध गराउन नसक्ने भएको हो ।


कोभिड-१९ को त्रासले रक्तसञ्‍चार केन्द्रमा रगतको कमी हुँदै गएको र रक्तदाताले पनि दान गर्ने अवस्था नहुँदा अभाव हुन थालेको पाइएको छ । निषेधाज्ञा अघि मुलुकाका रक्तसञ्‍चार केन्द्रमा दैनिक ५० देखि ८० पोन्ड रगत संकलन हुने गरेकोमा संक्रमण बढेपछि दैनिक २५ देखि ३० पोन्ड मात्र हुने गरेको विभिन्‍न जिल्लाका रक्तसञ्‍चार केन्द्रले जनाएका छन् ।

'प्लाज्माको माग गर्नेको संख्या बढ्यो'

निषेधाज्ञा अघिको समयमा जस्तो रगत संकलन गर्न नसकेको सुनसरी रेडक्रसका सभापति उमेश थापा बताउँछन् । रक्त सञ्‍चालन केन्द्रमा दाताहरूलाई ल्याएर संकलन गर्ने काम गरिरहेको उनले बताए ।

उनका अनुसार दैनिक ३० देखि ४० पोन्ड रगत संकलन भइरहेको छ । विगतको जस्तो अहिले पर्याप्त रगत छैन । रगत दान गर्न चाहनेलाई फोन सम्पर्क गरी ल्याउने गरेको थापाले बताए । रगतको मागमा कमी नआएको उनको दाबी छ ।

सबैभन्दा बढी प्लाज्माको माग रहेको थापाले जानकारी दिए । कोभिडका कारण प्लाजमाको माग बढेको छ । निषेधाज्ञा अघि दैनिक ५० देखि ६० पोका रगत संकलन हुने गरेको उनले बताए ।

रगतको माग गर्नेलाई जसरी पनि उपलब्ध गराउने थापाले प्रस्ट पारे । महामारीमा पनि रगतको माग गर्नेको संख्यामा कमी नआएको उनले बताए । कोभिडको त्रास फैलदै गएमा रगत दान गर्ने मानिसको संख्यामा कमी उनको दाबी छ ।

'रक्तसञ्‍चार केन्द्रमा रगत कम हुँदै'

बिरामीको माग अनुसार रगतको कमी हुन नदिन रक्तदातालाई फोन गरेर सामाजिक सञ्‍जालको माध्यमबाट आव्हान गरी रगत संकलन गरिरहेको नेपल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा काठमाडौँ शाखाका मन्त्री श्याम डोटेलले बताए । उनका अनुसार रगत दिनेहरूको तीन देखि चार जनाको समूह भएमा गाडी लगेर पनि संकलन गर्ने गरिएको छ ।

'पछिल्लो समय रक्तसञ्‍चार केन्द्रमा रगतको अभाव हुँदै गएको छ,' मन्त्री डोटेलले भने,' रगत उपलब्ध गराउन नसक्ने अवस्थामा पुगिसकेका छौ । कतिपय शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि उपलब्ध गराउन नसकिने भएका छौं ।'

रगतको माग बढिरहेकाले दैनिक दुई देखि तीन सयको हाराहारीमा फोन आउने गरेको डोटेलले जानकारी दिए । क्यान्सर,  डायलासिस र गर्भवतीका लागि रगतको माग गर्नेकाे संख्या बढिरहेको उनले बताए ।

रगत माग गर्नेका आफन्तलाई रक्त सञ्‍चार केन्द्रमा ल्याई रगत संकलन गर्ने काम पनि भइरहेको उनले बताए । मुख्य कुरा कोभिडका त्रासले रगत दान गर्ने मानिसको संख्यामा कमी आएको उनले बताए । 'अस्पतालमा कोभिड संक्रमितहरू गम्भीर भएकाले प्लाज्माको माग गरी फोन गर्नेको संख्या बढेको छ,' डोटेलले भने ।

'सानो-सानो समूहका घरमा गएर रगत संकलन गर्दै'

कोभिडको त्रास बढेकाले रगत संकलनमा कमी आएको रक्तसञ्‍चार केन्द्रका निर्देशक दिव्यराज पौडेल बताउँछन् । महामारीका कारण त्रास बढेकाले रगत दान गर्नेको संख्यामा कमी आएको उनले बताए । उनका अनुसार रगत दान गर्न चाहनेको घर-घरमा गएर संकलन गरिरहेका छौं ‌।

'मुलुकभरका रक्तसञ्‍चार केन्द्रमा दैनिक २५ देखि ३० पोन्ड रगत संकलन भइरहेको छ,' पौडेलले भने,' सामाजिक दूरी कायम गरी रगत संकलन गर्ने काम भइरहेको छ । पछिल्लो समय रगत दान गर्ने मानिसहरू आफै संक्रमित भएकाले कम संकलन भएको र बाहिर हिंडडुल गर्न नपाइने समस्याले मानिसले दान गर्न पाएका छैनन् ।'

'रगतबाट कोभिड सर्दैन,' उनले भने,' विश्‍व स्वस्थ्य संगठनका अनुसार रक्तदान सुरक्षित छ । ' जटिल प्रकृतिका बिरामीको उपचार गर्नुपर्नेलाई रगतको समस्या हुँदा उपचार गर्न समस्या हुने उनले जानकारी दिए ।

क्यान्सर, मुटु, मृगौला र गर्भवतीलाई रगत चाहिने उनलाई जानकारी दिए । क्यान्सर अस्पताल भएका चितवन,भक्तपुर र नेपालगञ्‍ज क्षेत्रमा रगतको अभाव हुन सक्ने उनको अनुमान छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x