प्रमुख समाचार

प्रदेश-१ का सबै निजी अस्पतालमा कोभिड-१९ को उपचार सुरु गर्न संसदीय समितिको निर्देशन

इकागज |
बैशाख २९, २०७८ बुधबार १८:५८ बजे

विराटनगर : प्रदेश-१ प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका सबै निजी अस्पतालमा कोभिड-१९ को उपचार सुरु गराउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार र मंगलबार प्रदेशका कोभिड अस्पतालहरूको अनुगमन तथा निरीक्षण गरेको थियो । 

त्यसपछि बुधबार बसेको बैठकले प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सबै निजी अस्पतालहरूमा कोभिड संक्रमितको उपचारको व्यवस्था मिलाउन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । 


भयाभह बनेको कोभिड रोकथाम तथा उपचारमा अब स्थानीय तहले मात्र सम्भव नभएको निष्कर्ष निकाल्दै समितिले प्रदेश सरकारलाई थप सक्रिय हुन निर्देशन दिएको बताएको छ । समितिले स्थानीय तहसँगको सहकार्यमा थप आइसोलेशन र होल्डिङ सेन्टर बनाउनसमेत निर्देशन दिएको छ । 

अक्सिजन आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन, चौबिसै घण्टा सहज विद्युत आपूर्तिको व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रण गर्नसमेत समितिले निर्देशन गरेको सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताइन् । 

सुनसरी, पाँचथर, धनकुटा, संखुवासभा र उदयपुरको जिल्ला अस्पतालहरूबाट तत्कालै कोभिड उपचारको सेवा सुरु गर्नसमेत समितिले आग्रह गरेको छ । समितिले सम्पूर्ण आम नागरिकलाई कोभिडविरुद्धको खोप सेवा उपलब्ध गराउन तथा पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था गर्नसमेत भनेको छ । 

समितिका अनुसार कोभिड अस्पताल अनुगमनको क्रममा मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले अनुचित धरौटी लिएको देखिएकाले एकरुपता कायम गर्न समेत मन्त्रालयलाई निर्देशन गरिएको छ ।

बैठकमा प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समिति निर्देशन तत्कालै कार्यान्वयन गर्ने जानकारी दिइन् । बुधबार बसेको बैठकले जोगबनी र काँकडभिट्टा नाकामा स्थानीय पालिकाको क्षमता अपर्याप्त देखिएकाले प्रदेश सरकारले विशेष सुविधा थपगरी सीमा नाकाबाट हुनसक्ने सम्भावित जोखिम न्युनीकरण गर्न समेत निर्देशन दिएको जनाएको छ । 


 


Author

थप समाचार
x