प्रमुख समाचार

अभाव भएपछि अस्पतालहरूमा अक्सिजन कटौती

कीर्तिपुर राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रले माग अनुसार अक्सिजन पाएन

सुनीता साखकर्मी |
बैशाख २९, २०७८ बुधवार २१:३२ बजे

काठमाडौँ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आवश्यकता भन्दा कम अक्सिजन पाएको छ। अस्पताललले अक्सिजन पाउनु पर्ने भन्दा कम कोटामा अक्सिजनको सिलिण्डर पाएको हो ।  

बुधबार ३५ वटा अक्सिजन सिलिण्डर बोकेर बालाजुको हिमाल अक्सिजन डिपोको शाखामा पुगेको केन्द्रको गाडीले दिनभरीमा जम्मा १० वटा मात्रै सिलिण्डरमा अक्सिजन पाएको केन्द्रका संयोजक डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए ।


कोभिड-१९ संक्रमितका लागि त्यति सिलिण्डरले नपुग्‍ने उनले बताए । उनका अनुसार उपचारका लागि केन्द्रमा २१४ बेड छन् । अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) २५ वटा छ । तर हाल अक्सिजन दिएर राखिएका बिरामी २७ जना छन् । 

केन्द्रसँग ४६ लिटरको ५५ र १० लिटर क्षमताको १८ र  कुल ७३ वटा अक्सिजनका सिलिण्डर छन् । केहीमा मात्र अक्सिजन छन् । पहिले केन्द्रले शंकर अक्सिजन डिपोबाट अक्सिजन पाउने गरेका थियो । 

केन्द्रले बालाजुको हिमाल अक्सिजन डिपोबाट केन्द्रले अक्सिजन पाउने गरेको छ । पर्याप्‍त मात्रामा अक्सिजन नपाए उनले गुनासो गरे । आवश्यकता अनुसार अक्सिजन आपुर्ति नभएपछि केन्द्रले हरेक दिन सम्बन्धित निकायहरू स्वास्थ्य मन्त्रालय, सीसीएमसी गुहार्ने गरेको डा. श्रेष्ठ बताउँछन् । 

‘अक्सिजनका लागि आश्‍वासन मात्रै आउँछ,’ उनी भन्छन्, ‘अक्सिजन सिलिण्डर पर्याप्‍त छ, अक्सिजन छैन । संक्रमणको त्रासले भन्दा पनि अक्सिजन अभावले ज्यान जाने डर देखिएको छ । अक्सिजन दिनुपर्ने बिरामी भर्ना नै लिन छोडेका छौँ ।’ 
 
अक्सिजनको माग अत्याधिक बढेकोले पर्याप्त अक्सिजन वितरण गर्न नसकेको हिमाल अक्सिजन डिपोको बालाजु शाखाका प्रबन्धक रबिन बहादुर श्रेष्ठले बताए । शाखामा दैनिक हजार भन्दा बढी माग आइरहेको छ, तर यहाँ दैनिक साढे चार सयको हाराहारीमा अक्सिजन सिलिण्डर भरिने उनले जानकारी दिए । 

‘हामीले ८ देखि १० वटा अस्पताललाई अक्सिजन दिनुपर्छ । तर अन्य अस्पतालबाट पनि माग आयो भने उनीहरूलाई पनि दिनुपर्छ । त्यसैले अस्पतालले अक्सिजन पाएका छैनन्,’ उनले भने, ‘आवश्यकता अनुसार अस्पतालहरूका दैनिक १०/२० वटा सिलिण्डर देखि ४० वटा सिलिण्डरमा अक्सिजन भर्ने गरेका छौँ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x