प्रमुख समाचार

पहिलो चरणको खोप लगाएर कोभिड संक्रमण हुनेले दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाउने

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार ११:२९ बजे

काठमाडौँ : पहिलो चरणको भेरोसेल खोप लगाएर कोभिड-१९ संक्रमित हुनेले दोस्रो चरणको खोप लगाउन नपाउने भएका छन् । शुक्रबार जनस्वास्थ्य विभागले काठमाडौँ  महानगरका वडा क्लिनक इञ्‍चार्जहरूसँग अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।

महानगरले पहिलो चरणको खोप लगाएका र संक्रमितका लागि पुनः निर्णय गरिने पनि जनाएको छ । भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरूका लागि मात्र हो । विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ ।


'जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिडविरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना सहयोगीसहित ३ जना स्वंयमसेवक परिचालन हुनेछन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरूलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएको दिनमा आफू निजले खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरूलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार  २०७७ चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन लागिएको हो ।

यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरू छन् । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरूलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

कोभिड संक्रमणमुक्त भएका मानिसका शरीरमा ८ देखि १२ हप्‍तासम्म एन्टीबडी रहने भएकाले खोपको जरूरी नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन् । 'खोपले पनि एन्टीबडीको विकास गर्ने भएकाले यसको रिस्क हुन सक्छ, ' उनले भने ।

उनका अनुसार यसको पनि पूर्ण रुपमा अनुसन्धान भइनसकेकाले अध्ययन हुन बाँकी छ । संक्रमण मुक्त भएकाले एक महिना पछि खोप लगाउँदा राम्रो हुने उनको सुझाव छ ।


Author

थप समाचार
x