प्रमुख समाचार

बालबालिकामा ‘कोभिड स्ट्रेस' : अभिभावक अनविज्ञ हुँदा झनै जोखिम

सुनीता साखकर्मी |
जेठ १, २०७८ शनिबार ९:१३ बजे

काठमाडौँ : उनी स्वभावैले चञ्चले । बोलिरहनुपर्ने, हिँडिरहनुपर्ने, साइकल गुडाइरहनुपर्ने । धेरैबेर एक ठाउँमा नटिक्ने खालका थिए उनी । तर मंगलबार बिहानदेखि एक्कासी थिमिका १० वर्षीय ति बालकको व्यवहारमाथि अंकुश लाग्यो ।

हिँडिरहनुपर्ने उनी एकै ठाउँमा बस्नुपर्‍यो । बोलिरहनुपर्ने उनी अरुका कुरा सुन्‍न बाध्य भए । केही सामान छुन पनि परिवारको अनुमति लिनुपर्‍यो । घरको पनि कुन कोठामा जाने, कुनमा नजाने, के खाने, के नखाने, सबै परिवारले ‘डिसाइड’ गर्न थाल्यो ।


केही दिनदेखि उनमा ज्वरो आउने, खोकी लाग्ने जस्ता कोभिडका लक्षण देखिएको थियो । मंगलबार बिहानै उनकी आमालाई कोभिड संक्रमण पुष्टि भएपछि ति बालक पनि संक्रमणको घेराभित्र परे । परिवारका सदस्यले उनको पनि कोभिड परीक्षण गराए ।

संक्रमणको जोखिममा परेकाले परिवारका अन्य सदस्यले उनको व्यवहारमा रोकतोक लगाउन थालेका थिए । बुधबार साँझ ति बालकमा पनि कोभिड-१९ पोजेटिभ देखियो । स-साना कुरामा रोकतोक लगाएकाले उनको व्यवहारमै एकाएक परिवर्तन आएपछि परिवारका सदस्य पनि चिन्तित बनेका छन् ।

‘रोगले यसै कमजोर भएका बेला हाम्रो रोकतोकले उसलाई झनै तर्साएको छ,’ परिवारका एक सदस्य भन्छन्, ‘रोकतोक नगरी पनि भएन । तर व्यवहारमै परिवर्तन आएको देखेर चिन्ता लाग्न थालेको छ ।’ कोभिड संक्रमणको डरले थुप्रै जिल्लामा निषेधाज्ञा छ । बालबालिका विद्यालयन जान पाएका छैनन् । साथीहरूसँग खेल्न पाएका छैनन् । घरभित्रै गुम्सिएर बस्दा वा संक्रमित भएर घरभित्रै छुट्टै बस्नुपर्दा बालबालिकामा नैराश्यता उत्पन्‍न भई ‘कोभिड स्टे«स’ भई मानसिक समस्या हुन सक्ने बरिष्ठ बाल रोग विशेषज्ञ डा. युवानिधि बसौला बताउँछन् । यस्तो समस्या भएका बालबालिका एक्लै बस्ने, साना कुरामा पनि झिँझो मान्‍ने, मोबाइलमा मात्रै चलाउने लगायत थुप्रै लक्ष्ण देखाउँछन्,’ उनी भन्छन्, ‘यस्तो बेलामा बालबालिकालाई हप्काउने गर्‍यो भने झनै नैराश्यता बढ्न सक्छ । त्यसैले अभिभावकले उनीहरूको अवस्थालाई ख्याल गरी उनीहरूको समस्या समाधान गर्न तिर लाग्नुपर्छ ।’ 

कोभिड-१९ को महामारीले बयस्क, बृद्धहरू नै डराएका बेला, साना बालबालिकामा पनि डर हुनु स्वभाविक भएको बाल मनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् । ‘तर त्यो डर धेरै भयो भने बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर गर्न सक्छ, उनी भन्छन्, ‘त्यसैले अभिभावकले बालबालिकाको शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ ।’

उनका अनुसार बालबालिकालाई लगातार झनै डर सिर्जना गर्ने खालका समाचार सुनाउनु वा देखाउनु हुँदैन । झनै आत्तिएर डराउने हुन्छ । कस्ता खालका सुचना र समाचार सुनाउने भनेर अभिभावक आफैले निक्र्यौल गर्नुपर्छ । त्यस्तै बालबालिकाको दैनिक ‘रुटिन’ व्यवस्थापन गर्न पनि डा. कुँवर सल्लाह दिन्छन् । विहानको समयमा नाच्‍ने वा व्यायाम गर्ने, दिउँसो पढ्ने, खेल्ने, खाने लगायत तालिकाको व्यवस्थापन गर्नुपर्छ । रचनात्मक क्रियाकलापमा सहभागी गराउन सकिन्छ ।

अभिभावकले बालबालिका कोभिड पोजेटिभ भएमा विभिन्‍न घरेलु जडिबुटीको नाममा औषधीहरू मात्रै खुवाउनतिर बल गर्ननहुने उनी बताउँछन् । उनी भन्छन्, ‘बैज्ञानिक रूपमा त्यस्ता विधिहरूले कोभिड निको पार्छ भन्‍ने प्रमाणित भइसकेका छैनन् । त्यसैले बालबालिकाको लागि प्रोटिन, भिटामिनयुक्त खानेकुरा खुवाउनुपर्छ । त्यस्तै दैनिक अण्डा खुवाउँदा राम्रो हुन्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x