प्रमुख समाचार

कसैले आफैँलाई संसदीय दलको नेता भन्दैमा हुन्छ र ? : यादव

इकागज |
जेठ १, २०७८ शनिबार १४:३९ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को विवाद चुलिएपछि उपेन्द्र यादव आफ्नो दललाई एक ढिक्का पार्न लागिपरेको बताएका छन् । ‘दलभित्र आ-आफैँ नेता हुन थालेपछि हामी उपचार खोज्‍ने क्रममा छौँ,’ उनले भने, ‘कसैले म आफैँ संसदीय दलको नेता हुँ भनेर भन्दैमा हुन्छ र त्यसको पनिविधि प्रक्रिया होला । निर्वाचन हुनुपर्ला ।’ 

पत्रकारहरुले पनि यसैलाई 'कभरेज' दिएकोमा उनले असन्तुष्टि पोख्दै भने, 'बुझ्दै नबुझी संसदीय दलको नेता समेत बनाइसक्नु भएको छ, कतिपयले ।' अनि उनले भने, ‘त्यसको प्रक्रिया छ । एक व्यक्तिले म हुन्छु भन्दैमा केही हुँदैन । यो दलको निर्णय हो । हामी बसेर छलफल गर्ने छौँ । दाबी त जसले पनि गर्न पायो नि ।’


यादवले औपचारिक रूपमा कुनै बैठक नराखेको तर अनौपचारिक रूपमा छलफल भइरहेको बताए । उनले भने, कांग्रेस, माओवादीसँग अझै निकटमा रहेर काम गर्ने हाम्रो अधिकारिक धारणा हो  । त्यसमा अडेर नै अघि बढ्ने हो  ।'

यो जानकारी कांग्रेस र माओवादीलाई दिइसकेको उनले बताए । 

यादव समूहका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले दिउँसो एक बजेबाट पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए । छलफलमा पार्टीको आगामी कार्यदिशा, वैकल्पिक सरकार गठन कसरी असफल भयो भन्‍ने विषयमा कुराकानी भइरहेको अधिकारीले बताए । 

पार्टी अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबार नेता राजेन्द्र महतोलाई बहुमतले संसदीय दलको नेता बनाएको बताएको थियो । पार्टीमा केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विपक्षी गठबन्धनलाई समर्थन गर्ने भन्‍नेमा विवाद छ । 

 
 


Author

थप समाचार
x