प्रमुख समाचार

३० लाख जनसंख्या भएको सुदूरपश्‍चिममा २० भेन्टिलेटर र ५६ आइसीयू

नवराज पनेरु |
जेठ १, २०७८ शनिबार १५:२१ बजे

धनगढी : झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्‍चिममा कोभिड-१९ संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो दुई सातामा मात्रै १० हजार संक्रमित थपिएका छन् भने दुई सय २७ जना संक्रमितले ज्यान गुमाएका छन् । 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले पनि सात हजार ८ सय बढी संक्रिय संक्रमित छन् । तर दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालहरुमा उपचार भइरहेको छ । 


सुदूरपश्‍चिम प्रदेशमा कोभिडका गम्भीर बिरामी बढ्दै गए पनि उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या कम भएको हो । सुदूरपश्‍चिम प्रदेशमा २० भेन्टिलेटर र ५३ आइसीयू शय्यामात्रै रहेको निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसीयू बेड मात्रै उपलब्ध रहेको देखाउँछ । 

डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आईसीयू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६/६ र सेती प्रादेशिक अस्पतालमा ५ भेन्टिलेटर छन् । कोभिड महामारी बढ्दै गए पनि पूर्वाधार र उपकरण थप्‍न प्रदेश सरकारको ध्यान जान सकेको छैन् । 

सुदूरपश्‍चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो दुई महिनामा प्रदेशभरी आइसीयू बेड दोब्बरले बढाइएको छ भने भएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएका छन् । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकोले आइसीयू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसीयू र भेन्टिलेटर चल्दैन्,’ उनले भने, ‘त्यसैले अहिले आइसीयू र भेन्टिलेटर थप्‍नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ ।’

 उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशभरी दैनिक झण्डै एक हजार सिलिण्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ती गर्न सकेका छैनौ । तीन सयदेखि चार सय सिलिण्डर मात्रै व्यवस्थापन गर्न सकेका छौ,’ उनले भने ।
 


Author

थप समाचार
x