प्रमुख समाचार

महामारीमा ननिदाएका आँखा

नवराज पनेरु |
जेठ २, २०७८ आइतबार ६:४४ बजे

धनगढी : शनिबार राति ८ बजेको थियो । फोन गर्दा उनी शव वाहन चलाउँदै थिए । उनले भने, ‘आजको तेस्रो ट्रिप हो । अहिले एक जना कोभिड-१९ संक्रमितको शव सेती प्रादेशिक अस्पतालबाट बोकेर गोदावरीको जंगलमा पुगेको छु ।’ सो शव वाहनका चालक हुन्, हरी चौधरी । उनी लामो समयदेखि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेयको घरमा खाना पकाउने काम गर्थे । 

माघदेखि उनले काम फेरेर पाण्डेयको गाडी चलाउन थाले । सो अवधिमा कहिलेकाँही उनले अस्पतालको शव वाहन पनि चलाउने गर्थे । उनी भन्छन्, ‘कोरोना भाइरसको महामारी बढ्न थालेपछि विगतमा शव वाहन चलाउनेहरूले पनि काम गर्न मानेनन् । बैशाख महिनादेखि मैले नै शव वाहन पनि चलाउन थाले ।’ 


बैशाखमा मात्रै एक सय तीन जना कोभिड संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको शव बोकेको उनले बताए । ‘आज जेठको पहिलो दिन तीन ट्रिप गर्नुपरेको छ,’ उनले भने, ‘पहिलो ट्रिपमा तीन, दोस्रोमा दुई र अहिले एक जनाको शव बोकेर गोदावरीको जंगलमा पुगेको छु । मेरो एउटै इच्छा छ– अबदेखि कसैको पनि शव बोक्नु नपरोस् ।’ कोभिडको दोस्रो लहर सुरु भएपछि उनी निदाउन पाएका छैनन् ।

जगतबहादुर सिंह सेती प्रादेशिक अस्पतालका स्टोरमा कार्यरत खरिदार हुन् । राति साढे ८ बजे उनलाई फोन गर्दा उनी अस्पतालमै थिए । कुराकानीको क्रममा सिलिण्डर ओसारेको आवाज स्पष्ट सुनिन्थ्यो । उनले भने, ‘ड्युटी टाइम त विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै हो । तर कोभिड महामारीको अवधिमा अवेर राति पनि सामान आउँछ । मैले अस्पतालमा उपस्थित हुनैपर्छ ।’ 

उनी कोभिड संक्रमितलाई अवाश्यक अक्सिजनदेखि औषधीसम्मको सम्पूर्ण विवरण राख्‍ने मात्रै काम गर्दैनन् । मागअनुसार फार्टहरूमा वितरण गर्ने काम पनि उनकै हो । ‘हिजो राति १२ बजेसम्म अस्पतालमा थिए,’ उनले भने, ‘आज पनि राति ११ बजे अक्सिजन सिलिण्डर अस्पतालमा पुग्ने जानकारी आपूर्ति व्यवस्थापन केन्द्रबाट आएको छ । अबेर राति नै घर पुग्छु होला । फेरि बिहानै अस्पताल आउनुपर्छ ।’

धनगढीकी कल्पना बिष्ट ०७१ देखि सेती प्रादेशिक अस्पतालमा कार्यरत छिन् । अहिले कोभिड वार्ड र कोभिड आइसीयू वार्डमा नर्सीङ इञ्चार्जको जिम्मेवारी उनीमाथि नै छ । शनिबार उनी एक सातापछि घर फर्किन पाएकी छिन् । ‘कोरोना भाइरसको महामारी हुनुभन्दा अगाडि दैनिक ६ घण्टाको ड्य्टी थियो,’ उनी भन्छिन्, ‘अहिले दैनिक १२ घण्टा ड्युटी गरिरहेकी छु । इमर्जेन्सी परेपछि अबेर राति पनि अस्पताल पुग्‍नुपर्छ । त्यसैले अस्पतालमै बस्छु ।’ 

कोभिड वार्डमा संक्रमितको छट्पटी देख्दा मन बेचैन हुन्छ भन्छिन् उनी । ‘संक्रमितले अक्सिजन नपाएर तड्पिरहेको हेर्न हामी बाध्य हुन्छौ । जेनतेन व्यवस्थापन गर्ने प्रयास त हामीले गरेकै हुन्छौ । तर पनि ज्यान जोगाउन नपाउँदा हामीलाई पनि पीडा हुन्छ,’ उनले इकागजसँग भनिन् । 

उमेरले ४० कटेका धनगढीका उदयनाथ योगी सेती अस्पतालका कार्यालय सहयोगी हुन् । कार्यालय सहयोगी भए पनि उनी अस्पतालको मर्मत शाखाका महत्वपूर्ण कर्मचारी पनि हुन् । उपकरणदेखि विजुलीमा कुनै समस्या भए अस्पताललाई उनको आवश्यकता महसुस हुने गर्छ । शनिबार टेलिफोन उनले भने, ‘सिलिण्डरमा अक्सिजन भर्ने, भरिएका सिलिण्डर बिरामीसम्म पुर्‍याउने र खाली सिलिण्डर भर्नका लागि ल्याउनेसम्मको जिम्मा मेरो काधमा छ । कोभिडको महामारीमा सबैभन्दा व्यस्त अस्पतालको मर्मत शाखा नै होला जस्तो लाग्छ ।’ बायोमेडिकल इक्युपमेन्ट टेसक्नसियन अरुण पनेरुको नेतृत्वमा मर्मत शाखाले कोभिड अवधिमा २४ घण्टा नै काम गरिरहेको उनले सुनाए । 

सुदूरपश्‍चिममा कागजमा सबैभन्दा ठूलो अस्पताल डडेल्धुरामा छ । तर त्यो अस्पतालमा न आवश्यक जनशक्ति छ न त उपकरण नै । त्यसैले प्रदेशकै रेफरल अस्पतालका रूपमा चिनिन्छ सेती प्रादेशिक अस्पताल । जहाँ डडेल्धुरा अस्पतालबाट पनि बिरामी रेफर हुन्छन् । नाम प्रादेशिक भए पनि सेती पनि कागजमा ५० शय्याको मात्रै अस्पताल हो । 

अस्पताल अहिले पनि ०४० सालको दरबन्दीमा चलिरहेको बताउँछन् अस्पतालका मेसु डाक्टर पाण्डेय । ‘५० शय्याको सरकारी मान्यता प्राप्त अस्पतालमा विकास समितले थप ७५ शय्या सञ्चालन गरिरहेको छ,’ डा. पाण्डेले भने, ‘कोभिड वार्ड र आइसीयू जोडेर हामी झण्डै तीन सय १० शय्या सञ्‍चालन गरिरहेका छौ ।’
 
कोभिड महामारीमा प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्दै जनशिक्त थपेर व्यवस्थापन गरिरहेको पाण्डेयले बताए । ‘यो अवधिमा २४ घण्टा नै खटेर कर्मचारीले काम गरिरहेका छन् । कोभिडको निदानमा सबै क्षेत्रबाट अस्पतालले सहयोग पाइरहेको छ,’ डा. पाण्डेयले भने । 

उनले कोभिड वार्डमा कार्यरत चिकित्सक, नर्सीङ कर्मचारी, आकस्मिक वार्ड, मर्मत शाखा, प्रयोगशाला, प्रशासन, स्टोरलगायत अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी कोभिड महामारी नियन्त्रणमा अग्रपक्तिमा रहेर खटिएको बताए ।  
 


Author

थप समाचार
x