प्रमुख समाचार

कर्णालीको स्वास्थ्यमाथि अर्को खेलवाड : अक्सिजन प्लान्ट खरिद गर्दा जेनेरेटर ल्याइदिए

'सम्झौता विपरीत भएकाले फिर्ता गर्छौ, भुक्तानी गरेका छैनौ'

लक्ष्मी भण्डारी | अतिन आचार्य |
जेठ ३, २०७८ सोमबार ७:४४ बजे

कर्णाली, काठमाडौँ : सल्यान जिल्ला अस्पताल र स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार अक्सिजन प्लान्ट नपठाइ ठेकेदारले आफूखुसी अक्सिजन सिस्टम जेनेटर खरिद गर्दा विवादमा आएको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकालेको भए पनि सुर्खेतस्थित ड्रागन मेडिटेकले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरेर पठाएको हो ।

भोक र रोगले गालेको कर्णाली महामारीमै स्वास्थ्य जस्तो संवदेनशील विषयमा कमिसनको चक्करमा फसेको छ। अस्पतालले अक्सिजन प्लान्ट माग्छ तर ठेकेदारले जेनेरेटर मात्र पठाउँछ । रोगले मरेको कर्णालीमा पुनः वायुमा कमिसन सुरु भएको छ ।


स्वास्थ्य निर्देशनालयल र अस्पताल मिलेर अक्सिजन प्लान्ट आवश्यक गरी सूचना गरेको भए पनि तर आयातकर्ताले अर्कै सामाग्री ल्याएपछि माग अनुसार नआएकाले नराखिने भएको सल्यान जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दशरथ श्रेष्ठले  जानकारी दिए ।

'बिना प्रयोजनको सामग्री अस्पतालमा राखिँदैन, सम्झौता विपरीत भएकाले फिर्ता हुन्छ,' श्रेष्‍ठले भने,' आयातकर्तालाई भुक्तानी गरेका छैनौँ ।' १२ दिन अगाडि अस्पतालमा ल्याएर राखिएको थियो । कार्टुनबाट शनिबार खोलेर बाहिर जडान गरिएको उनले बताए । अक्सिजन कन्सर्नट्रेटर ल्याएकाले त्यसलाई नमान्‍ने उनले इकागजलाई प्रस्ट पारे ।

अक्सिजन प्लान्ट राख्‍नका ४० लाख बजेट छुट्टयाए पनि विभिन्‍न शिर्षकको बजेट गरी करिब ५१ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ । अस्पतालबाट यसलाई जसरी पनि फिर्ता पठाइने उनले दाबी गरे । कसैको दबाबमा नपरी जेनेरेटर जडान गर्न लागेकाले अनावश्यक सामाग्री भएकाले यसलाई जुनसुकै हालतमा फिर्ता पठाइने उनको दाबी छ ।

अक्सिजन प्लान्टले जस्तै काम गर्ने भएकाले जेनेरेटर खरिद गर्‍यौँ

आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीका अनुसार राजश्‍व बिना ३५ लाखमा खरिद गरेका छौँ । अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको शाहीले दाबी गरे ।

'अस्पतालले केही समयअघि आर्थिक अभियान पत्रिकामा सूचना प्रकाशित गरेको थियो,' उनले भने,' सूचनाका आधारमा खरिद गरिएको हो । प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन गर्छ । प्लान्ट र कन्सर्नट्रेटरको जस्तै काम गर्छ ।'

अस्पताल र स्वास्थ्य निर्देशनालयको सूचनाको अनुसार यो मेसिन खरिद गरिएको शाहीले बताए । अक्सिजन सम्बन्धी सबै प्राविधिज्ञसँग छलफल गरी यो मेसिन ल्याइएको उनको भनाइ छ । यो मेसिनमा कुनै खराबी नरहेको उनको दाबी छ ।

छानबिन समिति बन्यो

स्वास्थ्य सेवा कार्यालय अक्सिजन प्लान्ट खरिदमा भएको अनियमितताबारे छानबिनका लागि चार सदस्यीय टोली गठन गरिएको छ । अनियमितताको विषयमा छानविन गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको हो ।

अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको उजुरी परेपछि हुमागाईले स्वास्थ्य कार्यालयका कर्मचारीलाई छलफलमा बोलाएकी थिइन् । कर्मचारीहरूले पनि यस विषयमा अनविज्ञ रहेको जानकारी दिएको उनले बताइन् । तर कसैसँग नमिली ठेकेदारले यस्तो निर्णय लिन सहज नभएको एक अर्का कर्मचारीले बताए । 

अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै प्रशासनमा उजुरी आएको थियो ।

मेसिन प्राविधिक विषय भएकोले छानविन टोलीको प्रतिवेदनपछि मात्र वास्तविक कुरा बाहिर आउने प्रजिअ हुमागाईले बताइन् । 'अहिले कन्सन्ट्रेटर हो, अक्सिजन प्लान्ट होइन भनेर कुरा बाहिर आएको छ,' उनले भनिन्, ‘यो प्राविधिक कुरा भएकोले हामीलाई पनि यो विषयमा जानकारी छैन ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x