प्रमुख समाचार

'सयौँ वर्षमा एक पटक आउने महामारीबाट सुरक्षित हुने उपाय खोज्‍नुपर्छ'

अतिन आचार्य |
जेठ ३, २०७८ सोमबार २०:३८ बजे

काठमाडौँ : शुक्रराज ट्रपिकल अस्पताल परिसरमा यत्रतत्र बसेर संक्रमितहरू अक्सिजनको सहारामा उपचार गरिरहेका छन् । संक्रमितका आफन्तहरू उभिएर बिरामीलाई सोधिरहेका छन् 'कस्तो छ ?'  सबैको मुहार हरियो मास्कले छोपिएका छन् । हाँसोलाई मास्कले छेकेको र ललाटमा निराशाको धर्कामात्र छन् ।

'मानिसको मुहारमा खुसी देखिन छाड्यो। सबै त्रासमा छन् । एक सातादेखि यता हेर्छु सबै जना निराशमा र डराइरहेका छन् जस्तो लाग्छ,' शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन् ।


नयाँ वर्ष भित्रिदा उमंग छाउनुपर्ने तर निराशा भित्रियो । वर्षको पहिलो दिन कोरोना संक्रमणकै कारण तीन जनाले ज्यान गुमाएका थिए । त्यसपछि मृत्युको ग्राफ उकालो लाग्दै गयो । बसन्तयाम लागेसँगै रुखमा नयाँ पालुवा पलाउँदै थियो तर बैशाखलाई कोभिड-१९ को ग्रहणले ढाक्यो ।

'चिनेका सबै मानिसहरूको मृत्यु हुन थालिसक्यो । मानिसलाई डरको महसुस हुन थाल्यो सायद त्यसैले पनि होला कसैको अनुहारमा हाँसो देख्दिन,' इकागजसँग डा. राजभण्डारीले भने,' एकै परिवारका चार जनाको ज्यानसमेत गएको छ । गर्भमै बच्चा र आमाको ज्यान गइसकेको छ ।'

राजभण्डारी कोभिडको मृत्युदर बढिरहेकाले सबैमा त्रास हुनु स्वभाविक मान्छन् । निराशा कुरा गरेर मात्र सबैलाई त्रासमा राख्‍न नखोजेको उनी बताउँछन् । सयौँ वर्षमा महामारी एक पटक आउछ यसलाई स्वीकारेर र कसरी सुरक्षित हुने भनेर उपाय खोज्‍न उनी सुझाउँछन् ।

सबैजना पिडामा भएकाले मल्हम लगाउन आम नागरिक तथा सरकार एक ढिक्का भएर महामारी अन्त्य गर्ने  विषयमा छलफल गरी अघि बढनुपर्ने उनले बताए । कोभिड लागेकाले आफूलाई नराम्रो सोच्‍ने भन्दै  उनले त्यस्ता मानिसलाई बेला-बेलामा विभिन्‍न माध्यमबाट फोन गरिरहन उनले सुझाए ।

'मनोवैज्ञानिक रूपमा मजबुत हुनुपर्छ'

कोभिड नलागेका मानिस यसबाट सुरक्षित हुन विभिन्‍न उपाय अपनाउन सक्ने राजभण्डारीले बताए । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र जनस्वास्थ्यको मापदण्ड अपनाए कोभिडबाट बच्‍न सकिने उनको भनाइ छ । 

मनोवैज्ञानिक रूपमा सबैजनाले मजबुत हुन कोशिश गर्नुपर्ने उनको भनाइ छ । मृत्युदर भन्दा निको हुने दर बढी रहेकालाई त्यस्ता कुरामा ध्यान दिन उनले सुझाएका छन् । आत्मसमर्पणावादी नबनी आशावादी बन्‍न उनको सुझाव छ । 

राजभण्डारीले सरकारसँग खोपको चाँडो प्रबन्ध गर्न माग गरेका छन् । जति सक्दो चाँडो खोप लगायो त्यति धेरै जीवन जोगिने सम्भावना रहेको उनले बताए । महामारीमा सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मीहरू भएकाले आफूलाई भन्दा पनि अरूलाई सम्झेर काम गरेका स्वास्थ्यकर्मीलाई सरकारले हौसला प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने उनको सुझाव छ । महामारीले ठूलो, सानो, धनी र गरिब तथा कसैको पद नहेर्ने भएकाले समयमा सबै सचेत र अनुशासित हुनुपर्ने उनको भनाइ छ ।

'उपचार गराउन आउनेको संख्या घट्न थाल्यो'

राजभण्डारीले अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या केही दिनदेखि घट्न थालेको जानकारी दिए । सामान्य उपचार गर्दा ठिक हुनेलाई अन्य आइसोलेशनमा पठाउन थालिएको उनले बताए । बेड व्यवस्थापनमा केही सहज भएको उनको भनाइ छ । अस्पतालमा संक्रमित घट्दै गएपनि आईसीयू र भेन्टिलेटर खाली नरहेको उनले बताए । 

अस्पतालमा भर्ना भएका सबै संक्रमितहरू गम्भीर प्रकृतिका रहेको उनले बताए । सरकारले ल्याएको भनिएको अक्सिजनको सिलिण्डरको रङ्ग कस्तो हुन्छ ऋफूले नदेखेको उनले बताए । 

संक्रमितको शरीरमा अक्सिजन अभाव हुँदा जस्तो हुन्छ शुक्रराज अस्पताल पनि त्यस्तै अवस्थामा पुग्‍न लागेको उनले बताए । संक्रमितका लागि ३ मिनेटमा एउटा सिलिन्डर परिवर्तन गर्नुपर्ने हुन्छ भने १ घण्टामा २० वटा परिवर्तन गरिरहनु परेको उनले जानकारी दिए । अस्पतालमा दैनिक २ सय सिलिन्डरको जरुरी छ ।

अस्पतालको आइसीयू, भेन्टिलेटर,परिसर तथा भित्र बाहिरी गरेर १ सय १४ संक्रमितको उपचार भइरहेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x