प्रमुख समाचार

वीर अस्पतालको नयाँ भवनमा संक्रमितका लागि बेड छ, अक्सिजन छैन

'अक्सिजन पर्याप्त भएका दिनदेखि संक्रमितको उपचार सुरु'

अतिन आचार्य |
जेठ ७, २०७८ शुक्रबार ९:५६ बजे

काठमाडौँ : सरकारले वीर अस्पतालको नयाँ भवनलाई गत शनिबार मन्त्रीपरिषदको बैठकले कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गर्‍यो । अस्पतालमा ५०० बेडको उपचार गर्ने व्यवस्था निर्णय पनि गरेको थियो । कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरूको कमान्ड गर्ने गरी निर्णय भइसकेको करिब दुई साता हुन लाग्दा सम्म पनि अस्पतालको नयाँ भवन कोभिड उपचार केन्द्रको रुपमा सञ्चालन हुन सकेको छैन ।

उपचार गर्न आउने संक्रमितको संख्या दैनिक बढीरहेको छ । अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितलाई अक्सिजन दिएर राख्‍नु परेको छ । तर सरकारले घोषणा गरेको कोभिड कमान्डिङ अस्पतालमा बेड तयार भए  पनि अक्सिजनको पर्याप्‍त आपूर्ति नभएकाले अस्पतालको नयाँ भवनमा संक्रमितको उपचार हुन सकेको छैन ।


नयाँ भवनमा तीन सय बेडको व्यवस्थापन गरेको भए पनि अक्सिजन अभावले नयाँ भवनमा संक्रमितको उपचार हुन नसकेको अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटा बताउँछिन् । 'अस्पतालमा दैनिक संक्रमितको उपचारका लागि दुई सय सिलिन्डर आवश्यक परिरहेको छ,' उनले भनिन,' मन्त्रालयले कोटा अनुसार १ सय ३५ वटा सिलिन्डर पठाएकाले नयाँ भवनमा संक्रमितको उपचार गर्न सकिएको छैन ।'

अस्पतालमा भएको अक्सिज प्लान्टले दैनिक १ सय ५० सिलिन्डर उत्पादन गरिरहेको सापकोटाले जानकारी दिइन् । प्लान्टले उत्पादन गरेको अक्सिजनले अस्पतालमा उपचाररत संक्रमितलाई नपुग्ने उनको भनाइ छ । अक्सिजनको मात्रा बढाएमा नयाँ भवनमा उपचार गर्न सकिने उनले बताइन् ।

नयाँ भवनमा उपचार गर्नका लागि कम्तीमा दुई सय सिलिन्डरको व्यवस्था नभएमा थप संक्रमितको उपचार गर्न नसकिने उनको दाबी छ  । अक्सिजनको अवस्था भएमा तत्कालै उपचार प्रक्रिया अगाडि बढाइने उनले प्रस्ट पारिन् ।

डा.सापकोटाले वीर अस्पतालाई सरकारले एचडीयू बेड, ५० वटा आइसीयू र अक्सिजन प्लान्ट बनाउनका लागि ४२ करोड रुपैयाँ उपलब्ध गराउने भइसकेको जानकारी दिइन् । अक्सिजन प्लान्ट दुई-चार दिनमा बनानउ सकिने अवस्था नरहेको उनी बताउँछिन् । प्लान्टका प्राविधिका पक्षहरू भएकाल तत्काल बन्न सक्ने अवस्था नरहेको उनले दाबी गरिन् । अस्पतालमा इमर्जेन्सीसहित दुई सय बढी संक्रमितको उपचार भइरहेको सापकोटाले बताइन् । अक्सिजन उपलब्ध हुनासाथ नयाँ भवनमा लगेर उपचार गरिनेउ उनको दाबी छ ।

अस्पतालमा ननकोभिड बिरामी उपचार पाउनबाट वञ्चित हुँदै

संक्रमितको उपचारमा राम्रोसँग व्यवस्थापन गर्न नसक्दा उपचार गर्न आउने नन कोभिडका बिरामीलाई प्रभाव परिरहेको उनको दाबी छ । नयाँ भवनमा व्यवस्थापन गर्न सकेमा अस्पतालको अगाडि रहेको भवनमा उपचार गराइरहेको ठाउँमा सहजै उपचार प्रक्रिया अगाडि बढाउन सकिने उनले बताइन् । 'ओपीडी सञ्चालन पनि गरिरहेका छौ,' सापकोटाले भनिन,' अस्पताल प्रशासनले नन कोभिडको उपचारका लागि चाँडै व्यवस्थापन गरिरहेका छन् ।'

'भेन्टिलेटर खरिदका लागि बोलपत्र आव्हान्'

वीर अस्पतालले सघन कक्षमा संक्रमितको उपचार गर्नलाई १५ भेन्टीलेटरसहित र आइसीयूमा राखिने ५० वटा मनीटर पनि खरिद गर्न लागेको छ । अस्पतालले स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आव्हान गर्न लागेको डा.सापकोटाले जानकारी दिइन् । अस्पतालले माग गरेको सामग्रीको भुक्तानी काठमाडौँ महानगरपालिकाले गर्ने उनले बताइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x