प्रमुख समाचार

स्पेनी ला लिगाः अन्तिम खेलसम्मै पुगेको उपाधि दौड

इकागज |
जेठ ७, २०७८ शुक्रवार ६:३१ बजे

काठमाडौँ : स्पेनी ला लिगाको उपाधि दौडमा म्याड्रिडका दुई क्लब बाँकी छन् । लिगमा ३७ खेल हुँदा एथ्लेटिको म्याड्रिडले ८३ अंक बनाएको छ । उती नै खेल खेलेको रियल म्याड्रिडको ८१ अंक छ । तेस्रो स्थानको बार्सिलोना भने उपाधि होडबाट बाहिरिसकेको छ । 

एथ्लेटिकोले अब आफ्नो अन्तिम खेलमा शनिबार रियल भाल्लाडोलिडको सामना गर्नेछ । उता रियलको भेट भिल्लारियलसँग हुनेछ । एथ्लेटिको भन्दा दुई अंकले पछाडि रहे पनि रियलको च्याम्पियन बन्‍ने सम्भावना सकिएको छैन । 


यद्यपि अन्तिम खेलमा तुलनात्मक रूपमा कमजोर विपक्षी सामना गर्ने एथ्लेटिकाको च्याम्पियन बन्‍ने सम्भावना बलियो छ । रियलमाथि दुई अंकको अग्रता कायम गरेको एथ्लेटिको २०१३-१४ पछि पहिलो पटक लिग उपाधि नजिक पुगेको हो । 

एथ्लेटिकोका लागि गत शनिबारको खेल महत्वपूर्ण रह्यो । एक गोलले पछि परेको अवस्थामा एथ्लेटिकोले ओसासुनालाई २-१ ले पराजित गर्‍यो । एथ्लेटिकोलाई शीर्ष स्थानमा कायम राख्‍न रेनान लोडी र लुइस स्वारेजले एक–एक गोल गरे । दुवै गोल खेलको अन्तिम १० मिनेटमा भएका थिए । त्यसको एक दिनपछि रियलले एथ्लटिको बिलबाओलाई हराएर आफ्नो उपाधि सपना जिवित राख्यो । 

त्यस साता एथ्लेटिको र रियलले आ-आफ्ना खेल जित्दा बार्सिलोनाले भने पराजय भोगेको थियो । लियोनल मेस्सीले सुरुवाती गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाए पनि सेल्टा भिगोले तीन अंक खोस्यो । क्याट्लन क्लबमाथि २-१ को जित दर्ता गर्दा सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । 

समिकरण

च्याम्पियन बन्‍न रियललाई आफ्नो अन्तिम खेलमा जित अपरिहार्य त छँदैछ, एथ्लेटिकोले भिल्लाडोलिडसँग हार्नु पनि आवश्यक छ । एथ्लेटिकोले रेलिगेसन क्षेत्रमा रहेको भिल्लाडोलडसँग पराजय भोगे रियलले भिल्लारियललाई हराउँदै उपाधि जित्‍न सक्नेछ । एथ्लेटिको बराबरीमा रोकिँदा रियलले जित हासिल गरे दुवै टिमको अंक बराबरी हुनेछ । त्यस्तो अवस्थामा हेड-टु-हेडमा रियलले ट्रफी उचाल्नेछ । 

जिनेदिन जिदानका लागि भिल्लारियलसँको भिडन्त रियलको प्रशिक्षकका रूपमा अन्तिम खेल हुनसक्छ । सिजनको अन्त्यसँगै रियल छाड्ने मनस्थिति बनाएका जिदानका लागि उपाधि जित्न भिल्लारियलसँगको खेल अन्तिम अस्त्र पनि हो ।  


Author

थप समाचार
x