प्रमुख समाचार

तलब विवादबीच जितको खोजीमा श्रीलंकन क्रिकेट टिम

इकागज |
जेठ १४, २०७८ शुक्रवार ६:२२ बजे

काठमाडौँ : पछिल्लो समय श्रीलंकन क्रिकेटको नियामक संस्था श्रीलंका क्रिकेट र खेलाडीबीच तलब सम्बन्धि विवाद सिर्जना भएको छ । श्रीलंका क्रिकेटले खेलाडीको वर्गिकरण गरी तलब स्केल तय गरेको छ । तर कयौँ खेलाडीले वर्गिकरण नै पारदर्शी नभएको भन्दै विरोध गरिरहेका छन् । 

विशेषगरी पाका खेलाडीहरूले तलबको ‘बेस’ प्रति आपत्ति जनाएका छन् । श्रीलंका क्रिकेटले कुल २४ खेलाडीलाई सम्झौँता प्रस्ताव गरेको छ । सो प्रस्ताव अनुसार श्रीलंकन क्रिकेटरले हाल पाइरहेको तलबमा ४० प्रतिशत सम्म कटौती हुने अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीले लेखेको छ । तर अधिकांश खेलाडीले सम्झौँतामा समावेश गरिएको तलब ‘बेस’ प्रति आपत्ति जनाएको इएसपीएन क्रिक इन्फोले लेखेको छ । 


प्रस्ताव गरिएको तलब पर्याप्त नभएको भन्दै विरोध गरिरहेका केही अनुभवी खेलाडी बंगलादेशको भ्रमणमा गएको श्रीलंकन टिममा परेनन् । एन्जेलो म्याथ्युज, डिमुथ करुणारत्ने, दिनेश चन्डिमाल लगायतका अनुभवी खेलाडीलाई टिम बाहिर राखिएको छ । उसो त गत मार्चमा वेस्ट इन्डिजसँगको एक दिवशिय ३-० ले गुमाएपछि श्रीलंकन टिममा परिवर्तन गर्ने निधो गरिएको थियो । बंगलादेश पुगेको श्रीलंकन टिमको कप्तानी कुशल परेरालाई दिइयो भने टिममा पुनरागमन गरेका कुशल मेन्डिसलाई उप-कप्तान बनाइएको थियो । 

तर परिवर्तित श्रीलंकन बंगलादेशसँगको श्रृंखलामा २-० ले पछि परेको छ । शुक्रबार दुई टिम ढाकाको शेरे बंगला रंगशालामा तेस्रो ओडीआईमा भिड्दैछन् । त्यस खेल अगाडि पत्रकारहरूसँग कुरा गर्दै श्रीलंकाका प्रशिक्षक मिकी आर्थरले म्याथ्युज, करुणारत्ने लगायतका खेलाडी श्रीलंकाको टिममा फर्कन सक्ने बताएका छन् । ‘कुनै पनि खेलाडीका लागि टिमको ढोका बन्द भएको छैन । एन्जेलो र चन्डीमाल अहिले पनि टेस्ट टिमको हिस्सा रहेका छन्,’ आर्थरले भने ।

आर्थरले श्रीलंकाले अहिलेबाटै २०२३ विश्वकपका लागि टिम बनाउन खेलाडीहरू छान्‍न सुरु गर्नुपर्ने बताए । ‘हाम्रो टिम अहिले संक्रमणकालमा छ । टिमलाई बलियो बनाउन केही परिवर्तन गर्नुपरेको छ । आगामी दिनमा खेलाडी थपिने वा बाहिरिने क्रम जारी रहनेछ,’ आर्थरले एएफपीसँग भनेका छन् । 


Author

थप समाचार
x