संकटका सारथि
विराटनगर: भन्छन् नि, आफन्त, गाउँ, समाज र छरछिमेकी ‘मर्दाको मलामी र जिउँदाको जन्ती’ हुन् । यतिकै लागि चाहिन्छ आफन्त र गाउँ समाज ।
तर, कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकाहरूको अन्त्यष्टिमा मलामी पाउनै मुस्किल । मलामी मात्रै होइन शव उठाउन आफन्तसमेत अघि सर्दैनन् । संक्रमितको मलामी जान टोल समाजमा कोही तयार हुँदैनन् ।
संकटको समयमा आफन्त बनेर उभिन्छन्, विराटनगरका यी युवा । विराटनगरको बरगाछीका युवा राम नेपाल, रविन कार्की, दिष्यमान शाक्य, अनुराग भण्डारी र रोशन पौडेल । उनीहरूसँग सन्जोग गौतम पनि खटिएका छन् । १७ देखि ३२ वर्ष उमेर समूहका यी युवाहरूको साहस देखेर सबैले प्रशंसा गर्छन् । उनीहरूले अहिलेसम्म ४० भन्दा बढी शवको व्यवस्थापन गरिसकेका छन् ।
विराटनगरको माडवारी सेवा सदनमा उनीहरूको बास छ । महामारीका प्रायः मानिस घरभित्र छन् । तर, यी युवा ज्यान जोखिममा राखेर शव व्यवस्थापनमा खटिएका छन् । ६ जनाको समूहमध्ये २ जनालाई शुक्रबार साँझ मात्र कोभिड–१९ पोजेटिभ देखिएको छ । ‘दुई जना साथीलाई पोजेटिभ देखिएको छ,’ रामले भने, ‘तर, हामी डराएका छैनौँ । भोलिबाट शव व्यवस्थापन सुरु गर्छौ । हाम्रो अभियान जारी छ । चार जनाको नेगेटिभ आएको छ ।’ एक वर्ष अघिदेखि थालेको उनीहरूको अभियान अहिले पनि जारी छ ।
‘युवाले नै हो गर्ने केही गर्नुपर्छ भनेर हाम्रो पहिलेदेखि नै गफ हुन्थ्यो,’ राम नेपालले भने, ‘सुरुमा त डर पनि लाग्यो । सुरुमा आज ५ जनालाई संक्रमण पुष्टि भयोभन्दा डर लाग्थ्यो । पछि सय हुँदै हजारमा संक्रमितको संख्या आउन थाल्यो । मान्छेहरू मर्न थाले । मरेको पीडाभन्दा शव नै जलाउन मान्छे नभएका पीडाले हामीलाई पीरोल्यो । मरेर बाच्नुभन्दा बाचेर मर्नु बेस भन्ने निकर्षका साथ हामी शवव्यवस्थापनामा लाग्यौं ।’
पहिलो पटकको संक्रमणका क्रममा उनीहरूले ५ जनाको सव व्यवस्थापन गरेको सुनाए । विस्तारै आँट बढ्दै गयो । ‘बारम्पार फोन आउँछ, सकेसम्म सहयोग गर्छाै,’ रामले भने,‘ एकै दिन आमा छोराको मलामी जानुपर्यो । भर्खरमा मान्छे वितेका छन्, दुःख लाग्छ ।’
मारवाडी सेवा सदनमा बसेका उनीहरू दैनिक चारवटासम्म शव व्यवस्थापनमा खटिनुपरेको बताउँछन् । ‘आफन्तले आग्रह गरेपछि शव उठाएर अन्त्यष्टि गर्न सघाउँछौं,’ नेपाल भन्छन्,‘ मलामी सीमित आफन्त र हामीमात्रै हुन्छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया