प्रमुख समाचार

भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

इकागज |
असोज १९, २०८० शुक्रबार ११:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् । शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रीपरिषद्मा पुगेको जानकारी दिएका हुन् । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताए । उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।


‘भिभिआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भिभिआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ । त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ' उनले भने 'अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेगरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । बिस्तारै त्यो लागू भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्युको भिजिटबाट प्रमाणित हुन्छ ।’ 

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताए । उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्ने बताए । 


Author

थप समाचार
x