प्रमुख समाचार

गण्डकीको बजेट अधिवेशन आजबाट

अनिष भट्टराई |
जेठ १६, २०७८ आइतवार ७:५३ बजे

पोखरा : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन डाकेकी थिइन् । अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने छन् । 

भोलि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ । यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान छ । 


गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र गुरुङलाई विश्वास पुग्छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन । 

प्रदेश सभामा जनमोर्चा तटस्थ बस्ने हो भने प्रदेश मध्यावधिमा धकेलिन्छ । सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् । 

गण्डकीमा यस वर्ष बजेट घट्ने

प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट आउने अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिने भएको हो । 

अर्थमन्त्री किरण गुरुङका अनुसार सबै मन्त्रालयलाई सिलिङ पठाइसकिएको छ । ‘मन्त्रालयहरुमा सिलिङ गएको छ, अघिल्लो वर्षको मौज्दात समेत गरेर ३१ अर्बसम्मको बजेट आउन सक्छ,’ गुरुङले भने । संघले गण्डकीलाई राजश्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट समान साढे ७ अर्बको सिलिङ पठाएको छ ।

गुरुङका अनुसार कोरोना र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भएको छ । कोरोनाको दोस्रो लहरसँगै तेस्रो लहरपनि आउने खतरा भएकाले अहिले स्वास्थ्य, अस्पतालको क्षमता वृद्धि गर्न स्वास्थ्यलाई प्राथमिकता दिइएको गुरुङले बताए । 

प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिने जनाइएको छ । प्रदेशले व्यवसायीहरूले कोभिडका कारण थलिएको व्यवसाय उकास्न लिएको ऋणको ब्याज तिर्न सुरु गरेको छ । प्रदेशमा व्यवसायीहरूले साढे ७ अर्बभन्दा बढी ऋण मागेका छन् । यो कोष ३ वर्षसम्म चल्ने मन्त्री गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षको योजना, उपचार, महामारी रोकथाम र पूर्वाधारलाई जोड दिइएको मन्त्री गुरुङले सुनाए । 

१७ जेठमा बजेटका सिद्धान्त प्राथमिकता 

भोलि बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सदनमा नीति कार्यक्रम प्रस्तुत हुने छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ । 

अर्थमन्त्री गुरुङ आगामी बजेट अहिलेकै सरकारले ल्याउने बताउँछन् । नियमित अधिवेशनबाट बजेट आउने र त्यो सम्भव नभएमात्र अध्यादेशबाट भए पनि प्रदेश सरकारले बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था आउने उनी बताउँछन् । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x