गोरखापत्रले छाप्यो- ओली कम्युनिस्ट होइनन्, साँच्चिकै तानाशाह हुन्

काठमाडौँ : तपाईंलाई लाग्ला, ‘गोरखापत्र’ सरकारी पत्रिका हो । अनि यसले सरकारको गुणगान मात्रै गाउँछ । तर, १२१ वर्षदेखि छापिइरहेको ‘गोरखापत्र’ पनि २१औँ शताब्दीको व्यावसायिक पत्रिका भइसकेछ । व्यावसायिक भनिने निजी क्षेत्रका सञ्चारमाध्यममा समेत विरलै देखिने सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना आज बिहीबार छापिएको गोरखापत्रमा पढ्न सकिन्छ । ‘लेखक एमालेका नेता हुनुहुन्छ’ भन्ने परिचयसहित प्रदीप नेपालको एक लेख छापिएको छ, शीर्षक छ- ‘बजेटको सन्तुलित व्याख्या' ।
शीर्षकमा बजेट भए पनि बजेटबारे लेखमा एक तिहाइ जति मात्र छ । तर, धेरैलाई आश्चर्य लाग्ने गरी गोरखापत्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चरम आलोचना गरिएको लेख छापेको छ । अरु बेला पुछारमा 'यी लेखकका निजी विचार हुन्'भनेर लेख्ने गरेकामा यो लेखमा त्यस्तो स्पष्टीकरण पनि छैन । प्रदीप नेपाल लेख्छन्, ‘कम्युनिस्ट पार्टीमा उहाँ (ओली) साँच्चिकै तानाशाह हो ।’ नेपाल साहित्यकार पनि हुन् र चर्चित अखबारी खरा लेखक पनि । उनीबाट यस्ता खरो लेखन पहिला पनि पढिएकै हो, तर गोरखापत्रमा होइन । प्रधानमन्त्रीको यति निर्मम आलोचना भने सायद यसअघि गोरखापत्रमा छापिएको थिएन होला । गोरखापत्रले लेखको हाइलाइटको रुपमा पनि कम्युनिस्टको आलोचनाकै पंक्ति छानेको छ । नेपाल लेख्छन्, ‘अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । उहाँ मार्क्सवादी पनि हुन सक्नु हुन्न जति कोसिस गरे पनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीलाई ‘साँच्चिकै तानाशाह’ भनेका नेपाल लेख्छन्, ‘अहिले दलाल पुँजीवादको नियन्त्रण छ, राज्यसत्तामा । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयं नेता अथवा नेताका आफन्त लागेका छन् । कालोसूचीमा परेको ठेकेदारको घरमा स्वयं नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल बस्नुहुन्छ ।’
'प्रचण्डपथीय चेतना (एमाले) का सबैजसो नेतामा छ त्यो अहिले प्रचण्डपथ जसरी हैकम चलाएर बस्न नपाएको मात्र हो । एकातिर सङ्घीय राष्ट्र भन्ने अनि अर्कोतिर राज्यको सबै अधिकार आफू एक्लैले कुम्ल्याएर साथीभाइबाट अलग्ग बस्ने सोच पनि देखियो, तल धेरै भ्रष्टाचार भयो भन्ने पनि सुनियो' नेता नेपालले लेखेका छन् 'यी सबै अभिव्यक्तिहरू आफ्नो हक अरूले पाए भन्ने कुण्ठाको द्योतक हो । यी सबै अभिव्यक्तिहरू असन्तुष्टिको अन्य कुनै कारण हुनै सक्दैन ।'
यहाँ अर्काे अनौठो कुरा के पनि छ भने सबैलाई 'तपाईं' सम्बोधन गर्ने गोरखापत्रले प्रधानमन्त्रीलाई भने 'तँ' सम्बोधन गरेको छ । पत्रकारलाई शिष्ट भाषा सिकाइरहेका प्रधानमन्त्रीलाई गोरखापत्रले 'साँच्चिकै तानाशाह हो' लेखेको छ । 'तिमी' आदरार्थी बुझिने 'हुन्' पनि नलेख्ने गोरखापत्रले 'साँच्चिकै तानाशाह हुनुहुन्छ'को सट्टा किन 'तानाशाह हो' नै छाप्यो होला त ? जबकि हामीले यहाँ 'तानाशाह हो'लाई 'तानाशाह हुन्' भनेर शीर्षकमा राखेका छौं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया