प्रमुख समाचार

जसपामा कारबाही प्रकरण

यादवले आयोगलाई जवाफ पठाए, ठाकुरलाई समय लाग्‍ने

इकागज |
जेठ २०, २०७८ बिहीबार १९:३० बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगले मागे बमोजिम कागजात बुझाएको छ । यादव समूहले आज अन्तिम समयमा आयोगले मागे अनुरुपका कागजात बुझाएको हो । 

सत्ता समीकरणमा सत्तारुढ एमालेलाई समर्थन गर्ने कि विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई सहयोग गर्ने भन्‍ने विषयमा मतैक्यता हुन नसक्दा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले एक/अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए ।
 
मंगलबार एकले अर्कालाई कारबाही गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम एकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरका थिए । तर, आयोगले बुधबार कानुनी प्रक्रिया अनुरुप नभएको भन्दै प्रक्रिया पुर्‍याएर पठाउन दुवै अध्यक्षलाई पत्राचार गरेको थियो । 


आयोगले यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पठाउन भनेको थियो । ठाकुरलाई अनुसूची १८ को यो ढाँचासहित केन्द्रीय कार्यकारिणी समितिको बैठकको हस्ताक्षरसहितको माइन्यूट पनि पठाउन भनेको थियो । 

आयोगलाई यादवले पत्रको जवाफ पठाएको उनका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । ‘हामीलाई आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पठाउन भनेको थियो,’ यादवका प्रेस संयोजक चौरासियाले भने, ‘हामीले त्योसहित कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, विधान, संशोधित विधान र निवेदन बुझाएका छौं ।’
 
यता, ठाकुर समूहका कार्यकारिणी समिति सदस्य केशव झाले आयोगको पत्र आएको तर, जवाफ नपठाएको जानकारी दिए । ‘आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची अनुरुपको फाराम मागेको थियो,’ सदस्य झाले भने, ‘हामीले अझै जवाफ पठाएका छैनौं । केही समय लाग्छ । बैठकले निर्णय गरेको माइन्यूट छ । त्यसलाई कानुनी ढाँचामा मिलाउने काम भइरहेको छ ।’ 

यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए । 

त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए । 


Author

थप समाचार
x