प्रमुख समाचार

नेपालमा कोभिड खोप निर्माण किन सहज छैन ? रेबिज खोपमा यसरी असफल भएको थियो नेपाल

पाकिस्तान छिमेकीको सहयोगमा खोपमा निर्भर

अतिन आचार्य |
जेठ २१, २०७८ शुक्रबार ८:१९ बजे

काठमाडौँ पाकिस्तानले चीनको सहयोगमा कोभिडविरुद्धको खोप उत्पादन गरेको छ । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा ‘पाकभ्याक’ उत्पादन सुरु गरिसकेको छ । 

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा योजना, विकास तथा विशेष पहलसम्बन्धी केन्द्रीय मन्त्री असद उमरले खोप उत्पादन थालेको खबर सार्वजनिक गरेका थिए । क्यान्सिनोले विकास गरेको खोपको ‘कन्सनट्रेटेड रुप’ पाकिस्तान ल्याएर इस्लामाबादस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा प्याकेजिङ गरिन्छ ।


पछिल्लो समय कोभिडविरुद्धको खोप लगाएकाहरू सुरक्षित हुने र गम्भीर प्रकृतिका  बिरामीसमेत नहुने गरेको पाइएको छ । नेपालमा आपतकालीन प्रयोगका लागि पाँच वटा खोपले अनुमति पाइसकेको छ । जसमध्ये दुई वटा खोप नेपालमा प्रयोग आइसकेका छन् ।

नेपालको दुवै छिमेकी राष्‍ट्रले कोभिडविरुद्धको खोप उत्पादन गरिसकेका छन् । भारतको सिरम इन्स्च्युटले कोभिसिल्ड र चीनको सिनोफार्मबाट भेरोसेल खोप उत्पादन भइसकेर दुवै खोपको नेपालमा प्रयोग भइसकेको छ ।

सार्क राष्ट्रकै अर्को मुलुक पाकिस्तानले चीनको सहयोगमा खोप बनाउन थालिसकेको छ । नेपालको सबैभन्दा नजिक रहेको दुवै राष्ट्रले खोप बनाइसक्दा नेपाल भने यसबारे कुनै चासो नदिएको देखिन्छ । नेपालले धमाधम खोप उत्पादन गरिरहेको छिमेकी मुलुकबाट लाभ पनि लिन सकिरहेको छैन ।

खोप निर्माणका लागि नीति तथा प्रविधि छैनन् त त्यसो भए  नेपालमा ।  नयाँ औषधि निर्माणका लागि प्रविधि, नीति, पूर्वाधार कस्तो हुनुपर्छ तथा  सरकार र औषधि उत्पादक संघ के गरिरहेको छ भनी इकागजले बुझ्‍ने प्रयास गरेको छ ।

'कच्चा पदार्थ आयात भएमा खोप बनाउन सकिन्छ'

नेपालमा भ्याक्सिन बनाउनका लागि तीन वटा कम्पनी रहेको औषधि उत्पादका संघका अध्यक्ष नारायण क्षेत्री बताउँछन् । उनका अनुसार लोमस, नेशनल र एभरेस्ट गरेर तीनवटा कम्पनी छन् ।

'रसियन 'स्पुटनिक खोप' को कच्चा पदार्थ बनाउनका लागि केही कम्पनीले तयारी गरिरहेका छन्,' क्षेत्रीले भने,' राज्यले औषधि उत्पादन गर्न नीति निर्माणमा सहयोग गर्नुपर्छ । ' खोप निर्माण गर्न बायोमेडिकल प्रविधि भएमा केही सहयोग पुग्‍ने उनको भनाइ छ । कच्चा पदार्थ भएमा सहजै बनाउन सकिने उनले दाबी गरे ।

क्षेत्रीले औषधि वा खोप निर्माणका लागि भरपर्दो नीति बनाउनुपर्ने बताए । उत्पादन भएका खोपहरू बजारीकरण गर्नलाई सहयोग गर्नुपर्ने उनले बताए । खोप बनाउनका लागि कच्चा पदार्थ छैन र खोप बनाइरहेका राष्ट्रले कच्चा पदार्थ उपलब्ध गराएमा खोप बनाउन सकिने उनको तर्क छ ।

क्षेत्री औषधि उत्पादककर्तासँग खोप बनाउन लागि भरपर्दो प्रविधि नभएको स्वीकार्छन् । अरु सामान्य औषधि बनाउने प्रविधि भए पनि खोप बनाउनक लागि पूर्ण प्रविधि नभएको उनले बताए । राज्यले खोप निर्माणका छिमेकी राष्ट्रसँग पहल गरेमा सम्भव हुने बताउँछन् ।

'खोप निर्माणका लागि नीति हुनुपर्छ'

सरकारले खोप निर्माण गर्न दृढ इच्छाशक्ति व्यक्त गरेमा खोप बनाउन सक्ने संक्रामक रोग विशेषज्ञ अनुसन्धान विज्ञ डा. जीवनबहादुर शेरचन बताउँछन् । खोपका लागि अधिकतम बजेट प्रयोग गरेमा खोप बनाउन सकिने उनको भनाइ छ ।

'नेपालले रेबिजको खोप बनाएको थियो । खोप बनाए पनि त्यसको बजारीकरण गर्न नसक्दा त्यसमा असफल भएको थियो,' डा. शेरचन भन्छन्,' देश विदेशमा राम्रोसँग बजारीकरण नगर्दा त्यो खोपबाट राष्ट्रले राम्रो लाभ लिन सकेन ।' सरकारले खोप बनाउन चाहेमा भारी मूल्य खर्च गरी विज्ञ झिकाउन सक्ने उनको भनाइ छ ।

भारतको सिरम इन्स्च्युट पनि ठूलो छैन तर त्यहाँका विज्ञलाई सल्लाहको रुपमा ल्याएर काम गराउन सकिने डा. शेरचनको भनाइ छ । खोप निर्माणका लागि सरकारको पहिलो प्राथमिकता नीति र पूर्वाधारमा हुनुपर्छ । 'विज्ञलाई ल्याउँदा जीवन सुनिश्चित गर्ने गरी बिमाको सुविधा लागू गरी उनीहरूलाई आकर्षित गर्नुपर्छ,' उनी भन्छन ।

'खोप बनाउन कठिन छ'

कोभिडविरुद्धको खोप बनाउन नेपालमा तत्कालै सहज नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । छिमेकी मुलुकले खोप बनाए पनि नेपालका लागि कठिन रहेको उनको भनाइ छ ।

' खोप बनाउन प्राविधिक रुपमा मँहगो छ,' उनी भन्छन,' बजेटका हिसाबले धेरै मँहगो छ । खोप बनाउने कुरा कसैले लिएर आएमा त्यसमा सरकार सकरात्मक छ ।'

बहुराष्ट्रिय कम्पनीले खोप निर्माणको लागि प्रस्ताव गरेमा सहजै स्वीकार्ने डा. पौडेलले बताए । नेपाल भारत र बेलायत जस्तो सक्षम राष्ट्र नभएकाले खोप जस्तो संवेदनशील कुरामा अगाडि बढ्न नसकेको उनको भनाइ छ । 'खोप उत्पादन गर्न मान्यता प्राप्त कम्पनी इच्छुक हुनुपर्छ,' उनी भन्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x