प्रमुख समाचार

प्रदेश-२ मा केन्द्रकै मोडलको सहकार्य, कांग्रेस उपसभापति निधि बाधक

इकागज |
जेठ २१, २०७८ शुक्रबार १५:७ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश -२ मा सत्ता समिकरणमा कांग्रेस सहभागी हुनुपर्नेमा जोड दिएका छन् । उनी जनकपुर जानुअघि कांग्रेस उपसभापति  विमलेन्द्र निधिलाई पनि भेटेर सत्ता सहकार्यको विषयमा छलफल गरेका हुन् । उनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि उक्त प्रस्ताव राखेका थिए । 

प्रदेश-२ मा निधिका कारण नै कांग्रेस पटक-पटक समस्या परेको भनिरहँदा यादवले निधिसँग वार्ता गरेका हुन् । निधिले बिहीबार शेरबहादुर देउवासँग भेटेर केन्द्रमा जे भए पनि प्रदेशमा केपी शर्मा ओली पक्ष एमालेसँग मिलेर सहकार्य गर्ने विषय सुनेपछि यादवले निधि भेटेका हुन् । संविधान जारी भएपछिको पहिलाे आम निर्वाचनमा माओवादीसँग कांग्रेसले गर्ने भनेको सहकार्य प्रदेश दुईमा नै कुरा नमिलेपछि बिग्रिएको यथार्थ कांग्रेसको हो । 


राष्ट्रिय राजनीतिमा यितबेला जसपा यादव समूह र माओवादी दुवै कांग्रेससँग रहेको अवस्थामा ओलीसमूहसँग कांग्रेसी केही नेता किन लालयीत भएको भन्दै यादवले निधिलाई सहकार्यमा जोड दिएका हुन । प्रदेश-२ को सरकारबारे के गर्ने भन्ने विषयमा छलफल भएको यादवले बताए । अहिले मुख्यमन्त्री परिवर्तन गर्ने भन्दा पनि पहिले कांग्रेस सरकार आउन आवश्यक रहेको जोड यादवको थियो । 

सभापति  देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका सांसदले हस्ताक्षर गरेको अवस्थामा प्रदेश दुईमा ओलीसँग मिलेर सरकार बनाउने कुरामा लाग्दा यसले के सन्देश जान्छ भन्ने तर्क यादवको रहँदै आएको छ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत जसपाको यादव निकट हुन् ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै सरकारमा जाने निर्णय गरेपछि जसपा विभाजनको डिलमा छ । विभाजन हुने वित्तिकै यसको मुख्य असर प्रदेश-२ मा नै पर्ने हुनाले त्यहाँ पनि केन्द्रको जस्तै समीकरण हुनपर्ने जोड यादवको छ । तर, राउतलाई निकालेर कांग्रेस नेतृत्वको सरकार त्यहाँ बनाउन जुन खाले सहकार्य पनि गर्न सक्ने प्रकारको धारणा निधिको छ । 

'उपसभापति निधिसँगको छलफल राम्रो भएको र उहाँले सहकार्य केन्द्र जस्तै गर्ने विषयमा दायाँ बायाँ नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ यादवले इकागजसँग भने,‘मैले उहाँलाई भनेको छु, प्रदेश–२ को सरकारमा कांग्रेस तत्काल सहभागी हुन आवश्यक छ । यो हाम्रो औपचारिक प्रस्ताव हो ।’ जसपाले तीन वर्ष नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन पनि निधिले जाेड दिएको निधि निकट नेताले बताए । यद्यपि निधि टेलिफोन सम्पर्कमा आउन चाहेनन् ।

यादव निधिसँग छलफलपछि जनकपुर लागेका छन । त्यहाँ रहेर पनि थप छलफल हुने बताइएको छ । १०७ सदस्यीय प्रदेशसभामा तीन निस्कासिन हुनले १०४ जना सदस्य छन् । ति सांसद्‍मध्ये जसपाका ५५  (यादव पक्ष -३० र  ठाकुर पक्ष- २५) छन् ।  

एमालेका २१ (माधव समूह-१३ र ओली -८) छन् भने माओवादी केन्द्रका ११, एक अन्य दलको छ । त्यसैले स्पष्ट छ प्रदेश २ मा सरकार निर्माणका लागि ५४ सांसद आवश्यक पर्छ। ओली समूहसँग कांग्रेस मिलेमा अन्यले बल नै गर्न नपर्ने अवस्था रहेकाले निधि कांग्रेसको तर्फबाट मुख्य मन्त्री लिएर ओलीसँग मिल्न पनि तयार देखिएका हुन् । 


Author

थप समाचार
x