प्रमुख समाचार

प्रदेश १ मा आजबाट बर्खे अधिवेशन सुरू

लीलावल्लभ घिमिरे |
जेठ २४, २०७८ सोमबार ७:३९ बजे

विराटनगर : प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन आज दिउँसोबाट सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभा हलमा अधिवेशन सुरु हुनेछ । अधिवेशनले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि निति तथा कार्यक्रमका साथै बजेट पारित गर्नेछ ।
 
नेकपामा आएको विवादसँगै यस वर्षको हिउँदे अधिवेशन एक दिन पनि सञ्चालन नभइ अन्त्य भएको थियो । अदालतले नेकपा एमाले र नेकपा माओवादी पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि सत्तामा रहेको माओवादी केन्द्र सत्ताविहिन भएको थियो । प्रदेश १ मा नेकपा एमालेको एक्लै बहुमत छ । तर एमालेमा पनि माधव नेपाल समूहले विद्रोह गरेकाले नेपाल पक्षका सांसदको सहयोग नपाए प्रदेश १ को बजेट सदनबाट पारित हुन सक्दैन् । नेपाल पक्षका सांसदहरूले अहिलेसम्म औपचारिक रुपमा बजेट अधिवेशनबारेमा कुनै निर्णय गरेका छैनन् । 

प्रदेश १ संसद्का विपक्षी दलहरूले बजेट अधिवेशनको माग गर्दै आएका थिए । गएको बुधबारको मन्त्रिपरिषद्‌ बैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि-बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । कोभिड-१९ को बहानामा समयमा अधिवेशन आह्वान नगरेको सरकारले बजेट आउने ५ दिन अगाडि प्रि-बजेट छलफल भने छोटो समयभित्र सक्‍नुपर्ने भएको छ । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ ।



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x