प्रमुख समाचार

मन्त्री थापालाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा कर्णाली सभा अवरुद्ध

इकागज |
जेठ २४, २०७८ सोमबार १९:५९ बजे

कर्णाली  : कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेश सभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो । 

बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रूपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताए । उनले भने, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई बर्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरुद्व पारेका थिए ।


सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गरेका थिए । एमालेले बैठक अवरुद्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो । 

बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई बर्खास्त गर्न माग गरे । साथै उनले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गरे । उनले आफ्नो धारणा राखेपछि एमालेका प्रदेश सभा सदस्यहरू उठेर बैठक अवरुद्व पारेका थिए । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्‍नेछ ।
 
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्‍वासको मत दिने क्रममा एमालेबाट निर्वाचित थापाले ‘फ्लोर क्रस’ गरेका थिए । एमालेबाट निष्काशित थापा लगत्तै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका थिए । 

उनलाई किर्ते जालसाजीसम्बन्धी अभियोगमा तत्कालीन जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले दोषी ठहर गरेको मुद्दा हालै सार्वजनिक भएको हो । मन्त्री थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जेठ ३० गते सुनुवाइ हुँदैछ । (रासस)
 


Author

थप समाचार
x