प्रमुख समाचार

गाउँ-गाउँमा कोभिड संक्रमित बढ्‍दै, काठमाडौँमा घट्‍दै

अतिन आचार्य |
जेठ २५, २०७८ मगलवार ६:३० बजे

काठमाडौँ : पछिल्लो समय उपत्‍यकामा निषेधाज्ञा जारी भएपछि कोभिड-१९ को संक्रमणदरमा केही कमी हुँदै आएको छ । अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा पनि कमि देखिएको छ ।  

निषेधाज्ञाको प्रभाव परेसँगै संक्रमितको संख्या घट्दै गएको हो । सोमबार उपत्यकामा एक हजार एकसय १५ संक्रमित मात्र थपिएका छन् । केही सातासम्म दैनिक चार हजारको हाराहारीमा संक्रमित थपिने गरेका थिए ।


काठमाडौँ उपत्यकाका कोभिड उपचार केन्द्रमा संक्रमितको संख्या पातलिँदै गएको छ । अस्पतालमा दैनिक इमर्जेन्सीमा ३० जनाको हाराहारीमा भर्ना हुने गरेको भए पनि केही दिनदेखि यता इमर्जेन्सीमा कम संक्रमित भर्ना हुने गरेका छन् ।

उपत्यकाका कोभिड उपचार केन्द्रमा बाहिरी जिल्लाका संक्रमितहरू उपचार गर्न आउन थालेको अस्पतालले जनाएका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरू र जिल्लामा उपचार पाउने अवस्था कम हुँदैपछि काठमाडौँका कोभिड उपचार केन्द्रमा आउनेको संख्या बढ्दै गएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिनमा करिब ४० जना संक्रमित बाहिरी जिल्लाबाट भर्ना हुन आएका अस्पतालका प्रवक्ता डा. प्रबिन नेपाल बताउँछन् । उनका अनुसार रुकुम, रोल्पा, धनगढी, रौतहट, रामेछाप र मकवानपुरबाट आएका छन् ।

डा. नेपालले बाहिरी जिल्लाबाट संक्रमित आउनु भनेको गाउँमा संक्रमितको संख्या बढ्दै गएको संकेत गरे । बाहिरबाट आएका सबै संक्रमितहरू ५० वर्ष उमेर समूहका छन् । संक्रमित सबै पुरुष छन् । निषेधाज्ञा अघि काठमाडौँबाट गाउँ गएका मानिसबाट संक्रमण फैलिन सकेको उनले बताए ।

'अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० जना छ,' उनी भन्छन,' भर्ना हुनेको संख्या पनि त्यहीँ हाराहारीमा रहेको छ ।' संक्रमितको संख्याले अहिले पनि सबै नर्मल बेड र आइसीयूको बेड भरिएको उनले जानकारी दिए ।

'गाउँमा संक्रमित बढ्दै गयो'

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पनि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको जस्तै बाहिरी जिल्लाबाट संक्रमित भर्ना हुन आउने गरेका छन् । अस्पताल परीसरमा बाहीर राखी उपचार गर्नेको संख्या कम भए पनि बाहिरी जिल्लाबाट उपचार गर्न आउनेको संख्या बढ्दै गएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले बताए । उनका अनुसार रुपन्देही, गोर्खा, धादिङ र मकवानपुरबाट आउने गरेका छन् ।

३० देखि ७५ वर्ष उमेर समूहका संक्रमितहरू बढी बाहिरबाट आउने गरेको राजभण्डारीले बताए । दैनिक बाहिरी जिल्लाबाट आठ जनाको हाराहारीमा संक्रमितहरू आउने गरेको उनको भनाइ छ ।

'होम आइसोलेसनमा बस्दा गाह्रो भएका र निजी अस्पतालमा मँहगो शुल्क तिर्न नसक्ने भएकाहरू यता आउने गरेका छन,' डा. राजभण्डारी भन्छन् । उपत्यकाका संक्रमित भन्दा गाउँबाट आउने संक्रमित बढी रहेको उनले जानकारी दिए ।

डा.राजभण्डारीले सहरमा भन्दा गाउँमा संक्रमितको संख्या बढ्दै गएको बताए । भारत तथा काठमाडौँबाट गएका मानिसहरूले जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा गाउँमा संक्रमितको संख्या बढेको उनको भनाइ छ । 'समयमा परीक्षण नगरी आइसोलेट नभएको परिणाम अहिले गउँमा देखिदैछ,' उनी भन्छन ।

'बिरामीको आफन्तले काठमाडौँ ठेगाना लेखिदिन्छन्'

त्रिवि शिक्षण अस्पतालमा बाहिरी जिल्लाबाट आए पनि भर्ना हुने अधिकांश संक्रमितले काठमाडौँको ठेगाना राख्‍ने गरेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी बताउँछन् ।

बिरामीको आफन्तहरू काठमाडौँमा बस्‍ने गरेकाले उनीहरूले बेड खोजेर राखेकाले बाहिरबाट आएका हुन वा काठमाडौँका हुन त्यो थाहा नहुने उनले बताए ।

'अस्पतालमा आएका कुनै पनि संक्रमितलाई नफर्काउने नीति भएकाले उपचार गर्न आउने गरेका छन्,' अधिकारी भन्छन,' बाहिरबाट नआएका होइनन् अछामबाट समेत आउने गरेका छन् ।' अहिले विगतको तुलनामा भर्ना हुने संक्रमितको संख्या घटेको उनले बताए ।

इमर्जेन्सीमा भर्ना हुनेको संख्या कम र मृत्युदरमासमेत कमि आएको अधिकारीले जानकारी दिए । 'हिजोआज चार जनाको मृत्यु हुने गरेको छ । केही साता अघिसम्ममा दैनिक १७ जनाको मृत्यु हुने गरेको थियो,' उनी भन्छन् ।

बानेश्‍वरस्थित सिभिल अस्पतालमा भने पछिल्लो साता यता कोभिड संक्रमितको संख्या भर्ना हुनेको संख्या घट्दै गएको अस्पतालका कोभिड फोकल पर्सन डा. सुमनबाबु मरहट्टा बताउँछन् । सुरु-सुरुमा संक्रमित बढेको समयमा पनि दैनिक ३० जना भर्ना हुन आउने गरेको उनले बताए ।

'दैनिक आठ जनाका हाराहारीमा संक्रमित आउने गरेका छन्,' उनी भन्छन्,' एम्बुलेन्सबाट बिरामी आउने गर्छन् । कहाँबाट आउँछ हामीले सोध्ने गरेका छैनौँ । उपत्यकाका अन्य अस्पतालमा बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् ।'

सिभिल अस्पतालमा बाहिरबाट आइ भर्ना भएको जानकारी नभएको उनले बताएका छन् । अस्पतालमा १५ देखि २० जना संक्रमित भर्ना भइरहेको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x