अनुदानका स्वास्थ्य सामग्री वितरणको अभिलेख नै छैन
'विदेशीले सहयोग गरेका सामग्रीको विवरण सार्वजनिक गर्छौँ'
काठमाडौँ : नेपालमा कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि संक्रमितहरूको उपचारका लागि दातृ निकाय, संस्था तथा व्यक्तिगत तवरमा प्राप्त भएका स्वास्थ्य सामग्री कहाँ कसरी वितरण भए भन्ने लगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन । कोभिड-१९ उपचारका लागि विभिन्न मुलुक र दातृ निकायले अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन जेनेरेटर, अक्सिजन सिलिण्डर लगायत अन्य उपचार सामग्रीहरू उपलब्ध गराएका थिए । कतिपयले तोकेरै निश्चित अस्पतालहरूमा आपूर्ति गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए भने कतिपयले सरकारको स्वविवेकका आवश्यकता अनुसार वितरण होस् भनेर मन्त्रालयलाई यी सामग्री जिम्मा लगाएका थिए ।
यसबीचमा स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्व परिवर्तन भएको छ । हालै स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । उनका पूर्ववर्ती मन्त्री हृदयेश त्रिपाठी नेतृत्वमा रहँदा नेपालले कोभिडसँग जुध्न धेरै स्वास्थ्य सामग्री अनुदानमा पाएको थियो । तर त्यसको स्पष्ट अभिलेख र वितरणमा पारदर्शीताको अभावले त्यी सामग्रीहरू व्यापक दुरुपयोग भएको आशंका गरिएको छ । अनुदानित स्वास्थ्य सामग्री मन्त्रीदेखि सांसदले आफ्नो पद र पावरको दुरुपयोग गर्दै निर्वाचन क्षेत्रका अस्पतालहरूमा समेत पठाएको पाइएको थियो ।
हालसम्म १४ वटा राष्ट्रसहित अन्य गैरसरकारी अन्तरराष्ट्रिय संस्थाहरूले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । मन्त्रालयका अनुसार विभिन्न मुलुकसहित २९ वटा दातृनिकाय सहयोगी संस्था रहेका छन् । अमेरिका, थाइल्याण्ड, तिब्बत, स्वीजरल्याण्ड, सिंगापुर, चीन, फिनल्याण्ड, बेलायत, फ्रान्स, जर्मन, युएई र जापानलगायत मुलुकले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
त्यसैगरी विभिन्न दातृ निकाय संस्थाहरूले पनि सहयोग गरेका छन् । युएसड, टीमासेक सिंगापुर, डाइरेक्ट रिलाइफ, एनआरएन ओमन, सीएनआइ, एनसेल, वर्ल्ड भिजन नेपाल, करुना फाउण्डेसन, युनिसेफ, वान हर्ट वर्ड वाइड, तिजु फाउन्डेसन, आएमई फाउन्डेसन, तिब्बत चाइना सान्टोङ, चाइना सांस्कृतिक मेडिकल ग्रुप र एफएचआइ ३६० ले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सबैभन्दा बढी स्वास्थ्य सामग्री चीन र फिनल्याण्ड प्राप्त भएको छ । मंगलबार जर्मनले ६२ थान भेन्टिलेटर सहित अन्य सामग्री पनि सहयोग गरेको छ ।
कुल १ करोड ६२ लाख ८९ हजार ३ सय ५३ स्वास्थ्य सामग्री आयात भएको छ ।अक्सिजन सिलिण्डर ६ हजार २ सय ४५, अक्सिजन कन्सर्नट्रेटर १ हजार २ सय, पन्जा २९ लाख ३२ हजार ५ सय, फेस सिल्ड ४ लाख ७४ हजार २ सय, मास्क १ करोड १० लाख १ हजार ४ सय ६०, भेन्टिलेटर १ सय ६०, एन्टीजेन्ट कीट १४ लाख ९ हजार २५, बडी ब्याग ५ हजार ८ सय र अन्य ४ लाख ५८ हजार ७ सय ६६ सामग्री आयात भएको हो ।
नेपाललाई विभिन्न देश र संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्री विवरण
दातृ निकायले गरेको सहयोगको खोजी
जेठको पहिलो सातादेखि नेपाललाई अन्तरराष्ट्रिय सहयोग प्राप्त हुन थालेको थियो । स्वास्थ्य सामग्री विदेशबाट अनुदानको रूपमा आए पनि तिनीहरूको वितरण प्रक्रिया व्यवस्थित रहेको छैन । वितरण प्रकिया एकदमै भद्रगोल रहेको छ । वितरण प्रणालीमा एकरूपता र समानता नभएको पाइएको छ ।
सरकारले कुन प्रदेश र जिल्लामा कति स्वास्थ्य सामग्री वितरण गर्यो त्यसको विवरणसमेत राखेको छैन । मन्त्रालयको मातहतको स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा राखे पनि स्वास्थ्य सामग्री जिल्ला र प्रदेशमा समान रूपले वितरण नगरेको पाइएको छ ।
विदेशी दातृ निकाय संस्थाहरूले आफूले सहयोग गरेका सामग्री कहाँ प्रयोग भयो भनी चासो व्यक्त गर्न थालेका छन् । नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत सहयोग गरेका सामग्रीबारेमा चासो लिएर स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई प्रश्न गर्न थालिसकेका छन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आवश्यकता भएको ठाउँबाट माग भए अनुसार सामग्री पठाउने गरिएको छ । 'जिल्ला अस्पतालमा सामग्री अभाव छ । यति थान भेन्टिलेटर र कन्सर्नट्रेटरको आवश्यक भएको माग आएकाले त्यहीँ अनुसार सामग्री पठाउने गरिएको छ,' महाशाखाका कर्मचारीले भने ।
जिल्ला र प्रदेशमा पठाएका स्वास्थ्य सामग्रीको विवरण व्यवस्थित तरिकाले नराखिएको उनले जानकारी दिए । अहिलेसम्म कहाँ-कहाँ सामग्री पठाइयो त्यसको सम्पूर्ण विवरण खोजी तथ्यांक बनाइने उनको भनाइ छ ।
'सहयोगी संस्थाले सामग्री कहाँ प्रयोग भयो सोध्न थाले'
स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार विदेशी राष्ट्र तथा विभिन्न संस्थाले सहयोग गरेका स्वास्थ्य सामग्रीको विवरण राखिएको छ । देशभरका कुन-कुन अस्पताल, जिल्ला तथा प्रदेशको केन्द्र भण्डारमा स्वास्थ्य सामग्री पठाइएको छ त्यसको विववरण राख्न नसकिएको उनले स्वीकार्छन् । सहयोगी संस्थाका व्यक्तिहरूले सहयोग गरिएको सामग्री कहाँ प्रयोग भनी सोध्ने गरेको उनले बताए ।
'स्वास्थ्य विभागको व्यवस्थापन शाखाले सामग्री पठाउने काम गरे पनि त्यसको विवरण राखिएको छैन,' पौडेल भन्छन,' विभागलाई विवरण राख्न पनि निर्देशन दिइसकेका छौ ।' विदेशीले कति मात्रामा स्वास्थ्य सामग्री दिए त्यसको सम्पूर्ण विवरण स्वास्थ्य मन्त्रालयको वेभ साइटमा केही दिनमा राखिने पौडेलले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया