प्रमुख समाचार

एमाले मिलाउन दोस्रो तहका नेता सक्रिय

इकागज |
जेठ २५, २०७८ मंगलबार २१:२ बजे

काठमाडौँ : चरमोत्कर्षमा पुगेको पार्टीभित्रको विवाद मिलाउन एमाले दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । संस्थापन र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका दोस्रो तहका नेताहरूबीच अहिले ललितपुरमा छलफल भइरहोको छ । 

छलफलमा संस्थापनका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, प्रदिप ज्ञवाली तथा खनाल-नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् । 


छलफलमा सहभागी भुसालले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरू अनैपचारिक कुराकानीमा रहेको जानकारी दिए । 'हामी पार्टीभित्रको विवाद मिलाउन अनौपचारिक छलफलमा छौं । अनौपचारिक रूपमा कुरा मिलेपछि औपचारिक वार्ता गर्ने हो,' भुसालले भने । 

पार्टी विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार ६ बुँदे प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव अल्मल्याउने खालको भएको भन्दै नेता नेपालले ६ बुँदे नै जवाफ फर्काएर मान्य नभएको बताएका थिए । 

नेपाल समूहले ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा गल्ती गरे भनेर आत्मालोचना गर्नुपर्ने र पाटी समितिहरूलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएपछि मात्रै पुनर्मिलन हुन सक्ने बताएको छ । ओलीले भने २०७५ जेठ ३ गतेको समितिका आधारमा मिल्ने भन्दै आह्वान गरेका छन् । 

ओलीको प्रस्ताव पार्टीको एकतालाई अक्षुण राख्‍न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको नेपाल समूहको स्थायी समिति बैठकले निष्कर्ष निकालिसकेको  छ।


Author

थप समाचार
x