प्रमुख समाचार

खोप लगाएपछि ६० वर्षीया शुभद्रा भन्छिन् : अब धेरै बाच्‍ने आशा पलायो

'एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य छ'

अतिन आचार्य |
जेठ २६, २०७८ बुधबार १८:३ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिका-३१ मा बस्ने ६० वर्षीया शुभद्रा श्रेष्‍ठ इपीएस स्कुलमा काग्त्यानीबाट कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन आएकी छिन् ।

दोस्रो लहरको कोभिड सुरु भएयता धेरै मानिसको मृत्यु हुन थालेपछि उनको मनमा डर पसिसकेको थियो । उनी भन्छिन,' खोपको प्रतिक्षा गरिरहेका थियौँ । बल्लबल्ल खोप पायौँ । खोप लगाएको छु, अझै धेरै बाच्‍ने आशा पलाएको छ ।' पहिलो चरणको कोभिडभन्दा यस पटक बढी मानिसको मृत्यु भएकाले उनलाई डर लागेको छ ।


पहिलो चरणको कोभिडमा उनी संक्रमित भएकी थिइन् । परिवारमा रहेका ९ जना सदस्यलाई कोभिड लाग्दा डर नलागेको उनले बताइन् । शुभद्रा शारीरिक रूपमा अशक्त ६५ वर्षीय देवर मिनगोपाल श्रेष्‍ठलाई पनि खोप लगाउन साथामा लिएर आएकी थिइन् । देवरलाई खोप लगाउन पाएकीले उनको मुहारमा परबाट हेर्दा खुसी छाएको थियो ।

जीवरमणमा उप्रेतीले पनि खोप लगाएका छन् । उनको विचार शुभद्राको भन्दा फरक छ । सरकारले सबै उमेर समूहका मानिसलाई खोप लगाउन सकेमात्र धेरै मानिस सुरक्षित हुने उनले धारणा राखे । 'अहिलेसम्म सरकारले अनुदानमा पाएको खोप नागरिकलाई लगाएको छ,' उनले भने ।

सरकारले खोप लगाउन बाँकी रहेका मानिसलाई खरिद गरेर भए पनि लगाउनुपर्ने उनको भनाइ छ । खोपमा सबैको पहुँच पुग्‍नुपर्ने उनले बताए ।

'पहिलो चरणको कोभिडमा ज्येष्‍ठ नागरिकको मृत्यु भएको थियो,' पहिलो चरणको कोभिडमा मृत्यु भएका मानिसलाई सम्झदै उनी सम्झन्छन्,' दोस्रो चरणमा गत वर्षको तुलनाम यसपटक कमै ज्येष्‍ठ नागरिकको मृत्यु भएको छ । अहिले पहिलो डोजको खोप लगएकाले ज्येष्‍ठ नागरिकको कम मृत्यु भएको छ ।'

उप्रेतीलाई खोप लगाएपछि केही हुँदैन भन्ने विश्‍वास जागेको छ । सरकारले सबै मानिसलाई खोप लगाउने वातावरण बनाउनुपर्ने उनी बताउँछन् । ज्येष्‍ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन बाँकी रहेकालाई चाँडै खोप उपलब्ध गराइ सुरक्षित राख्‍नुपर्ने  उनले बताए ।

खोप लगाएर बसिरहेका ६५ वर्षीय नारायण श्रेष्‍ठ दंग छन् । खोप लगाएका अन्य व्यक्ति भन्दा उनको फरक चिन्ता छ  । मैले मात्र खोप लगाएर भएन । घरमा रहेका अन्य स-साना उमेरका सदस्यले लगाउनुपर्ने उनको माग छ । खोप लगाएर सुरक्षित भएको छु । 'मेरो कारणले अन्य मानिसलाई कोभिड सर्छ भन्ने मलाई चिन्ता छ,' उनले भने ।

कोभिडविरुद्धको 'भेरोसेल' खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप लगाउन थालिएको छ । एक साता अघि चीनबाट १० लाख खोप आएको थियो । यसअघि खोप लगाउन बाँकी उमेर समूहका मानिसलाई लगाइएको हो ।

सरकारले देशभरको ७ सय ५३ स्थानीय तहको खोप केन्द्रमा जेठ २५ (मंगलबार) गतेदेखि खोप सुरु गरेको हो । महानगरपालिकाका ३२ वटै खोप केन्द्रमा उत्साहजनक रूपमा लक्षित उमेर समूहका मानिसको उपस्थित रहेको छ ।

महानगरका सहरी स्वास्थ्य सेवा विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो दिन ८ हजार ७ सय ४७ जनाले खोप लगाएका छन् । महानगरले करिब १ लाख मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।

'कुनै पनि मानिस खोप लगाउन नछुटुन भनेर वडाका जनप्रतिनिधि मार्फत सबैलाई खोप लगाउन भनिएको छ,' उनले भने,' ६० देखि ६४ वर्ष सम्मका मानिसलाई मात्र खोप दिएका छौ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x