प्रमुख समाचार

किन हुँदैछन् बालबालिका धेरै कोभिड संक्रमित ?

घर-परिवारको सदस्यबाट बालबालिकामा कोभिड जोखिम

अतिन आचार्य |
जेठ २८, २०७८ शुक्रबार ६:३४ बजे

काठमाडौँ : दोस्रो लहरको कोभिड-१९ सुरु भएपछि नेपालमा बालबालिकामा तीव्र रुपमा संक्रमण फैलिएको छ । पहिलो लहरको कोभिडमा थोरै संख्यामा संक्रमित देखिए पनि दोस्रो चरणमा भने बालबालिकामा बढी मात्रामा संक्रमण देखियो ।

यो समाचार तयार पार्दासम्म हालसम्म नेपालमा १४ हजार १३२ बालबालिकामा कोभिड देखिएको छ । बालक आठ हजार १७२ र बालिका पाँच हजार ९६० मा देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २५ गतेको तथ्यांक अनुसार ९ वर्षसम्मको ३७ बालबालिकाको मृत्यु भइसकेको छ ।


केही दिन यताको तथ्यांक अनुसार ज्येष्‍ठ नागरिक भन्दा तीव्र रूपमा बालबालिकामा संक्रमण देखिदैँ गएको छ । दैनिक ६० जनाको हाराहारीमा ज्येष्‍ठ नागरिकमा कोभिड देखिएको छ भने १२ दिन यताको तथ्यांक अनुसार बालबालिकामा सयको संख्यामा संक्रमण देखिएको र कुल एक हजार ५११ बालबालिकामा देखिएको हो ।

तर २७ गतेदेखिको तथ्यांक अनुसार ८० वर्ष माथिका ज्येष्‍ठ नागरिकमा ३५, २६ गते ६४, २५ गते ६०, २४ गते ६०, २३ गते ५५, २२ गते ६२, २१ गते ७२, २० गते ८८, १९ गते ६८, १८ गते ८८, १७ गते ७६ र १६ गते ४६ जनाम संक्रमण देखिएको थियो । ६० वर्ष भन्दा माथि उमेर समूहका चार हजार ३३० को मृत्यु भइसकेको छ ।

यसरी बालबालिकामा संक्रमण फैलिँदै जानुले बालबालिका उच्च जोखिममा रहेको र मृत्‍युदर पनि बढी हुने सम्भावना बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयले पनि केही दिन अघि तेस्रो लहरको कोभिड जोखिम रहेकाले बालबलिकाको उपचारका लागि १० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको थियो ।

नेपालमा तेस्रो चरणको कोभिड देखमा परेमा सबैभन्दा बढी बालबालिका जोखिममा हुन्छन् । उनीहरूले खोप लगाएका छैनन् । अन्य उमेर समूहका हिसाबले ज्येष्‍ठ नगारिकले खोप लगाइसकेकाले र बालबालिका मात्र खोप लगाउन बाँकी रहेकाले गम्भीर बिरामी भइ मृत्युदर बढ्ने आशंका गरिएको छ ।

खोप लगाएका मानिसमा संक्रमण देखिए पनि गम्भीर नहुने, लक्षण नदेखिने भएकाले घर-परिवारका अन्य सदस्यमाथि कोभिड सर्न सक्छ । बालबालिका भएको घरमा यसको प्रभाव पर्ने देखिएको छ ।

'कोभिडबाट बचाउन सुरक्षित रहन खोप लगाउनुपर्छ'

बालबालिका कोभिडविरुद्धको खोपबाट वञ्चित हुने भएकाले उनीहरू कोभिडको जोखिममा रहने इशान बाल तथा अस्पतालका चिकित्सक डा. आरपी चौधरी बताउँछन् । 'घरमा भएका अन्य सदस्यहरूले खोप लगाइसकेका हुन्छन,' उनले भने,' बालबालिका खोपबाट वञ्‍चित भएकाले उनीहरू संक्रमणको जोखिममा रहन्छन् ।'

बालबालिकाहरू बाहिर खेल्न निस्कने भएकाले सामाजिक दूरी कायम गर्न नसक्ने र मास्क नलगाउने भएकाले संक्रमण हुने सम्भावना बढी रहने डा. चौधरीको भनाइ छ । घरमा अभिभावकबाट कोभिड सर्न सक्ने उनले आशंका व्यक्त गरे । 'अभिभावक बाहिर हिँडडुल गर्ने भएकाले उनीहरूबाट जोखिम छ, ' उनले भने ।

उनका अनुसार विभिन्न मुलुकमा बालबालिकालाई खोप लगाउन थालिएको छ । नेपालमा भने बालबालिकालाई खोप लगाइएको छैन र यदि तेस्रो लहरको कोभिड देखा परेमा बालबालिकामा बढी संक्रमण देखिन्छ ।

चौधरीले पछिल्लो समय बालबालिकामा देखिएको संक्रमणको निको हुने दर पनि बढी रहेको बताए । तेस्रो लहरको कोभिड देखा परेमा बालबालिकामा असर गर्ने उनको दाबी छ । कोभिडको असर शरीरमा प्रतिरोधात्मक क्षमता कतिको विकास भएको छ त्यसैको आधारमा यसको प्रभाव पर्ने उनको भनाइ छ ।

'बालबालिकाका लागि आइसीयू बेड बनाउँदै'

मोरङको कोशी कोभिड उपचार केन्द्रका मेसु डा. चुमनलाल दासका अनुसार कुनै पनि अस्पतालमा बालबालिकालाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको छैन । उनले तेस्रो लहरको कोभिड देखिएमा साना केटाकेटीलाई असर गर्ने औँल्याएका छन् ।

डा. दासले सरकारबाट बालबालिकाका लागि १० बेडको आइसीयू बनाउन निर्देशन प्राप्‍त भइसकेको उनले जानकारी दिए । केही दिनमै निर्माण प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । उनको बालबालिकालाई कोभिड देखिएमा उपचार गर्न पर्याप्‍त बेड रहेको भनाइ छ । थप उपचारका लागि एक करोड भन्दा बढी रकम प्राप्‍त हुनेछ ।

'स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा छौँ'

तेस्रो लहरको कोभिड चेतावनीको सजगता अपनाउन सरकारले जारी गरेको परिपत्र पनि पाइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन् । अस्पतालमा भएका सामग्रीलाई पुनः प्रयोग गरिने उनले जानकारी दिए । अपुग भएमा सामाग्री थपिने उनको भनाइ छ ।

'कोभिड लागेका बालबालिकालाई कसरी उपचार गरिन्छ त्यसबारेमा नर्सहरूलाई तालिम दिइन्छ,' डा. राजभण्डारी भन्छन्,' बालबालिकाका लागि सानो अक्सिजन मास्क हुन्छ त्यसलाई कसरी प्रयोग गरिन्छ । बालबालिकाको उपचार ज्येष्ठ नागरिकलाई उपचार गरेजस्तो सहज नहोला भनेर समयमा तालिम दिइन्छ ।'

राजभण्डारीको जबसम्म बालबालिकालाई खोप लगाइदैन तबसम्म उनीहरू जोखिमममा रहने दाबी छ । अहिले संक्रमित र मृत्यु भएकाहरू खोप नलगाएका मात्र रहेको उनले बताए । बालबालिकाहरूले सामाजिक दूरी कायम नगरी खेल्ने र सरसफाइमा ध्यान दिन सकेनन् भने संक्रमण फैलन सक्ने उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x