प्रमुख समाचार

पहिरोको जोखिम बढेपछि दैलेखमा सय घरधुरीलाई सुरक्षित स्थानमा सारियो

इकागज |
असार ६, २०७८ आइतबार ६:१९ बजे

दैलेख : लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका-९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरीका करिब दुई सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । 


नगरपालिका र प्रहरीको सक्रियतामा जोखिम रहेका बस्तीमा बसोबास गर्ने त्यहाँका परिवारहरू अब जोखिममुक्त भएका छन् ।  प्रहरीको यो कार्यले आफूहरू निकै खुशी भएको स्थानीबासीले बताएका छन् । 

यसैबीच कर्णाली राजमार्गको दैलेखखण्डका विभिन्न ठाउँमा गएको परिरोबाट एक हप्तादेखि अवरुद्ध  कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । दैलेखका सियाला , किटुभीर, दहिखोला, घट्टेखोलालगायतका ठाँउमा पहिरो झरेर सडक पुरिएको र पहिरो नहटाइँदा  राजमार्ग चल्न सकेको छैन ।  

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि खाद्यान्न लिएर गएका र यात्रुबहाक सवारी साधन र  जुम्ला कालिकोटबाट सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारीसाधन बाटोमै थुनिएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक ठाउँमा पहिरो बनाउँदा अर्काे ठाउँमा जाने भएकाले कठिनाइ आएको बताए । (रासस)
 


Author

थप समाचार
x