आकाशेमार्गको मुख्य हब ल्हासा रेलवे स्टेशन
ल्हासा : आकाशेमार्ग मानिने छिङहाई तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि तिब्बत ‘रेलयुग’ मा प्रवेश गरिसकेको छ । सन् २००६ जुलाई १ बाट छिङहाई तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि ल्हासा सहर चिनियाँ रेलवे सञ्जालसँग जोडिन पुगेको हो । यसैबीच ल्हासा रेलवे स्टेशन उक्त आकाशेमार्गको मुख्य हब बन्न पुगेको छ ।
आकाशेमार्गको नामलाई अझै सार्थक बनाउँदै सन् २०१४ अगष्टदेखि ल्हासा सिगाचे रूट सञ्चालनमा आएको थियो । साथै यसै महिनाको ३० तारिखबाट ल्हासा निङची (लिङच) रूट पनि सञ्चालनमा आउँदैछ । यस रेलमार्गको लम्बाइ ४३५ किलोमिटर रहेको छ । यस बाहेक यसै लिङ्ची-ल्हासा रूटलाई विस्तार गरी सछ्वानको याआनसम्म पुर्याउने कार्य पनि आरम्भ भइसकेको छ । यो रूट झण्डै दश वर्षमा पूरा हुने अनुमान छ । यस रूटको निर्माण सम्पन्न भएसँगै ल्हासादेखि सछ्वानको सदरमुकाम छङ्तुसम्मको दुरी छोटिने छ ।
ल्हासा नदीको दक्षिणी किनारमा अवस्थित यो ल्हासा रेलवे स्टेशन विश्वकै सबैभन्दा अग्लो स्थानमा सञ्चालित रेलवे स्टेशनमध्येको एक हो । यो समुद्र सतहबाट ३६०० मिटरको उचाइमा अवस्थित छ साथै छिङहाई तिब्बत रेलमार्गको सबैभन्दा ठूलो स्टेशन पनि हो । हाल, यस रेलवे स्टेशनबाट दैनिक रूपमा २७ सय यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । साथै करिब ३ सय ५० कर्मचारी कार्यरत् छन् । यहाँ ६ यात्रु र २ मालबाहक गरी ८ वटा रेललिक छन् ।
यो स्टेशनको अर्को विशेषता भनेको सौर्य ऊर्जाको प्रयोग हो । स्टेशनको भवनलाई न्यानो बनाइराख्न तथा अरू आवश्यक बिजुलीको खपत सौर्य ऊर्जाबाट हुने गरेको छ । हाल, यस रेलमार्गबाट राजधानी बेइजिङसँगै सिनिङ, साङहाई, क्वानचौ, छङ्तु, लानचौ, सिगाचेलगायतका सहरसम्म रेल चल्ने गरेको छ । ल्हासा रेलबाट बेइजिङ ४० घण्टा, सबैभन्दा धेरै समय क्वानचौ ५५ घण्टा र सबैभन्दा कम सिगाचे करिब ३ घण्टामा पुग्नसकिन्छ ।
तिब्बतको दोस्रो ठूलो सहर सिगाचे सन् २०१४ देखि छिङहाई तिब्बत रेलमार्गमा जोडिएको हो । सन् २०१० मा निर्माण थालेको यो सिगाचे स्टेशन ३८०० मिटरको उचाइमा छ । यस आकाशेमार्गको दुरी २५३ किलोमिटर रहेको छ र १२० किलोमिटर प्रतिघण्टाको गतिमा रेल कुद्ने गरेको छ । ल्हासा सिगाचे रेलमार्ग अबको एकाध वर्षमा हिमपर्वतलाई छिचोलेर डाँडाकाँडालाई नाघेर नेपालको सीमा नजिक केरूङ (रसुवा)सम्म पुग्दैछ ।
साथै, चीनको पछिल्लो चौधौँ पञ्चवर्षीय (२०२१-२०२५) योजनामा तिब्बत स्वायत्त प्रदेशलाई दक्षिण एसियासँग जोड्ने एक महत्त्वपूर्ण कोरिडोर बनाउने परियोजना समावेश छ । तेह्रौँ पञ्चवर्षीय योजनामा तिब्बतमा यातायात सञ्जालको निर्माण उल्लेख गरिए अनुरूप सो अवधिमा तिब्बतको यातायात क्षेत्रमा उल्लेखनीय सुधार भएको छ ।
हाल, तिब्बतमा रेलमार्गको विकास भएसँगै विकासले थप रफ्तार लिएको छ । अरू चिनियाँ प्रान्त र प्रदेशसँग जोडिएपछि तिब्बतमा पर्यटकको सङ्ख्यामा बढ्दोत्तरी भएको छ । सन् २०१९ मा चार करोड पर्यटकले तिब्बतको भ्रमण गरेका थिए । सन् २०२० मा तिब्बत स्वायत्त प्रदेशको आयात निर्यातमा संलग्न रकम २ अर्ब १३ करोड रहेको थियो जहाँ निर्यात मात्र १ अर्ब २९ करोडको थियो ।
यता, नेपाल हिमालय वारपार बहुआयमिक सम्पर्क सञ्जालको निर्माणबाट भूपरिवेष्ठितबाट भूजडित देश बन्ने कहिले होला ? आज उत्तरतर्फ व्यवस्थित ढङ्गले जोड्न जरुरी भइसकेको अवस्थामा नेपालले रेलमार्ग निर्माणमा तदारुकता देखाउनु आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया