प्रमुख समाचार

३० खेलमा अपराजित इटाली नयाँ कीर्तिमान नजिक

इकागज |
असार ७, २०७८ सोमबार १०:४७ बजे

काठमाडौँ : युरो २०२० मा आइतबार राति इटालीले वेल्समाथि १-० को जित दर्ता गर्‍यो । महादेशिय प्रतियोगितामा शतप्रतिशत जित निकालेको इटालीले एक गोल पनि खाएको छैन । रोबर्टो मान्सिनी प्रशिक्षकमा नियुक्त भएसँगै इटालीले बलियो लय देखाएको छ । उनको प्रशिक्षणमा इटाली ३० खेलमा अपराजित छ । 

यससँगै मान्सिनीको टिमले पुरानो कीर्तिमानसँग बराबरी गरेको छ । भिटेरियो पोज्जो नेतृत्वको इटालीले अक्टोबर १९३५ देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रही कीर्तिमान बनाएको थियो । जुन कीर्तिमान ८२ वर्ष यता कुनै इटालियन प्रशिक्षकको पालामा भंग भएको छैन । पोज्जोको प्रशिक्षणमा इटालीलले सरासर दुई विश्वकप जितेको थियो भने ओलम्पिकमा स्वर्ण पदक पनि हात पारेको थियो । 


तर मान्सिनीको टिमले अन्तिम १६ को खेल जित्ने हो भने नयाँ कीर्तिमान बन्‍नेछ । यद्यपि मान्सिनीले पोज्जोको टिमसँग अहिलेको टिमको तुलना हुन नसक्ने प्रतिक्रिया दिइसकेका छन् । ‘पोज्जोले इटालीलाई महत्वपूर्ण उपाधि जिताएका छन् । हामीले अहिलेसम्म केही जितिसकेका छैनौँ । पहिला अन्तिम १६ मा कस्तो नतिजा आउँछ त्यसपछि मात्रै युरो जित्‍ने सम्भावनाबारेमा कुरा गर्न सकिन्छ,’ मान्सिनीले भने । 

इटाली युरोको समूह ‘ए’को शीर्षस्थानमा रहेको छ । इटालीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई खेलपछि नै प्रि-क्‍वार्टरफाइनलमा स्थान बनाएको इटाली समूह विजेता बन्दा वेल्स उप-विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको छ । सो समूहमा स्विटजरल्यान्डले चार अंक बनाएको छ भने टर्की आफ्ना सबै खेलमा पराजित रह्यो ।


Author

थप समाचार
x