प्रमुख समाचार

सम्सीका अध्यक्षको बठ्याइँ : पदमुक्त हुनु अगाडि वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी

सुभाष कर्ण |
असार १२, २०७८ शनिबार २०:८ बजे

जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुखले पद मुक्त हुनु एक दिन अगावै असार १० गते वडा नम्बर २ का महिला सदस्यलाई अध्यक्षको कार्यभार सुम्पेको पाइकएको छ । 
कानूनतः अध्यक्षको पद रिक्त भएमा उपाध्यक्ष स्वतः कार्यवाहक बन्‍ने व्यवस्था छ । 

तर स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को क (१२) उपाध्यक्ष तीन महिनादेखि अनुपस्थित रहेको भन्दै वडा सदस्य सकिला खातुनलाई अध्यक्ष हैसियतमा काम गर्न जिम्मेवारी दिइसकेका छन् ।  


निर्वाचन आयोगले असार ११ गते देशका विभिन्‍न जनप्रतिनिधि सहित गाउँपालिका अध्यक्ष फारुख शेखको पनि पद स्वतः गुमेको थियो । तर चलाखी गर्दै अध्यक्ष शेखले निर्वाचन आयोगको सूचना जारी हुनु एक दिन अगावै १० गते नै महिला सदस्य खातुनलाई अध्यक्षको हैसियतमा कार्य गर्ने गरी जिम्मेवारी दिएका हुन् । 

यस सम्बन्धमा पदमुक्त भएका अध्यक्ष फारुखले कुरा गर्न चाहेनन् । उनले भने, 'अहिले बिरामी छु, 'कानुनअनुसार अध्यक्षको जिम्मेवारी सुम्पिसकिएको छ यसबाहेक आफूलाई केही थाहा छैन ।'

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीले भने उपाध्यक्ष नगीनादेवी यादव तीन महिनादेखि कार्यालयमा अनुपस्थित भएको कारण अध्यक्षजी बिरामी भएपछि पदमुक्त हुनु एक दिन अगावै असार १० गतेकै दिन सकिला खातुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । उपाध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ रहेको कारण सम्पर्क हुन सकेन । 

माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष फारुखविरुद्ध पार्टीले निर्वाचन आयोगलाई दल परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेको भन्दै निर्वाचन आयोगमा कारवाहीका लागि सिफारिस गर्दा प्रदेश-२ का ९ जना जनप्रतिनिधि मध्ये उनी पनि पदमुक्त भएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x