प्रमुख समाचार

युरो नकआउटः

अन्तर्राष्ट्रिय फुटबलमा प्रमाणित हुने प्रयासमा बेल्जियमको ‘गोल्डेन जेनरेसन’

इकागज |
असार १३, २०७८ आइतबार १७:९ बजे

काठमाडौँ: युरो २०२० को उपाधि दाबेदार टिममध्ये बेल्जियम पनि एक हो । टिममा रोमेलु लुकाकु देखि एडेन हाजार्डजस्ता एक सय एक स्टार छन् । यी खेलाडीहरुलाई ‘गोल्डेन जेनरेसन’ यसै भनिएको होइन । तर बेल्जियमले आफ्नो ‘गोल्डेन जेनरेसन’को उपयोग गरेर कुनै प्रतियोगिता भने जितिहालेको छैन । विश्वकप २०१८ मा पनि बेल्जियम सेमिफाइनलमै रोकियो । 

त्यसकारण, जारी युरो बेल्जियमका खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रमाणित गर्ने अर्को मौका हो । हुन त यी खेलाडीहरू विश्वकप वा युरो उपाधिको हकदार हुन् भन्नेको कमी छैन ।  बीबीसीले केही समयअघि निर्माण गरेको डकुमेन्ट्रीमा रोबर्टो मार्टिनेजले पनि यही भनेका छन् । ‘बेल्जियमको यो पुस्ताका खेलाडीहरू सफलताको हकदार हुन् । उनीहरूले प्राप्त गर्ने सफलताका बारेमा अर्को ७० वर्षसम्म कुरा गरिनेछ । तर के उनीहरू सफल हुनेछन् त ? यसको केही ग्यारेन्टी छैन,’ मार्टिनेजले भनेका छन् । 


बेल्जियम सन् २०१८ यता फिफा वरियताको पहिलो स्थानमा छ । तथ्यांकले पनि बेल्जियम विश्वकै बलियो टिम भएको दखाउँछ । तर अन्तराष्ट्रिय प्रतियोगिताको यर्थाथ बेग्लै हुन्छ । यहाँ कुन टिमसँग धेरै स्टार छन् भन्ने भन्दा कसले ९० मिनेटमा नतिजा ल्याउनसक्छ भन्ने कुराले महत्व राख्छ । मार्टिनेजलाई यही यथार्थले पिरोलेको छ । खेलाडीहरूको प्रतिभाको उपयोग गरी निर्णायक नतिजा ल्याउने चुनौतीले पनि मार्टिनेज दबाबमा छन् । 

जारी युरोमा बेल्जियमको सुरुवात भने जोडदार रह्यो । मार्टिनेजको टोली शतप्रतिशत जित सहित अन्तिम १६ मा पुगेको हो । समूह चरणमा डेनमार्क, फिनल्यान्ड र रुसलाई पराजित गरेको बेल्जियमको असली परीक्षा भने आइतबार राति हुनेछ । नकआउटको आफ्नो पहिलो खेलमा बेल्जियमले बलियो पोर्चुगलको सामना गर्दैछ । यस खेललाई लिएर बेल्जियमका समर्थक उत्साहित छन् । नहुन् पनि किन, जबकि टिमका तीन मुख्य खेलाडी नै पहिलो एघारमा हुनेछन् । लुकाकु, हाजार्ड र केभिन डे ब्रुएना युरोमा दोस्रो पटक मात्रै बेल्जियमका लागि सँगै मैदानमा उत्रनेछन् । 

पोर्चुगलले पाँच वर्षअघि युरो जितेको थियो । तर च्याम्पियन टिम उस्तै छैन । टिम झन् झन् क्रिस्टियानो रोनाल्डोमाथि परनिर्भर बनेको छ । रक्षापंक्तिमा पाका पेपेको प्रदर्शन खस्केको छ । त्यसकारण बेल्जियमका  फरवार्डहरूले आफ्नो स्वभाविक खेल देखाए पोर्चुगल अवश्य पनि दबाबमा पर्नेछ । हुन त बेल्जियमको टिम पनि युवा छैन । युरोमा स्विडेन पछि सबैभन्दा पाको टिम बेल्जियमकै हो । उसका १० खेलाडी ३० वर्ष भन्दा माथिका छन् । कुनैसमयको जस्तो बलियो रक्षापंक्ति पनि छैन । भिन्सेन्ट कम्पनीले सन्यास लिइसके भने खन्य भरपर्दा रक्षक टोबी एल्डरविराल्ड र जान भर्टोनगन पनि करियरको उर्ताद्धमा छन् । 

उसो त पछिल्लो समय बेल्जियमको युवा टोलीहरूको प्रदर्शन खस्कदो छ । अण्डर–२१ युरोपियन च्याम्पियनसिपका लागि छनौट नै भएन । अनि अण्डर–१९ टिम युरोपियन वरियतामा १६ औँ स्थानमा छ । यति हुँदाहुँदै पनि बेल्जियमले केही राम्रा प्रतिभा भने उत्पालन गरेकै छ । जस्तै, डोकु, एलेक्सिज साएलेमेइकेर्स, ओरेल मागांला । यी खेलाडीलाई मार्टिनेजले तिखार्ने नै छन् । 

तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने, बेल्जियमले फेरि अहिलेको जस्तो ‘गोल्डेन जेनेरेसन’ पाउन धेरै समय लाग्नेछ । युरोपको सानो देश बेल्जियमको जनसंख्या पनि धेरै छैन । त्यसकारण थोरै अवधिमा लुकाकु, हाजार्ड, डे ब्रुएना जस्ता प्रतिभा उत्पादन गर्न सजिलो छैन । यस्तोमा बेल्जियम गर या मरको अवस्थामा छ । अहिलेका स्टारहरुले बेल्जियमलाई युरो वा आउँदो विश्वकप जिताउन नसक्ने हो बेल्जियम फेरि कहिले उपाधि दाबेदार बन्छ टुङ्गो छैन । 

बेल्जियमले मार्टिनेजको प्रशिक्षणमा चार हार ब्यहोरेको छ । स्पेन र फ्रान्सले मात्रै बेल्जियमलाई गोल गर्नबाट रोकेका छन् । तर बेल्जियमले केही उपाधि नजित्ने भए यी तथ्यांकको महत्व कति ? प्रश्न उठ्छ । त्यसैले भनिएको हो, युरो नकआउट बेल्जियमको ‘गोल्डेन जेनरेसन’ का लागि आफूलाई प्रमाणित गर्ने मौका हो । 


Author

थप समाचार
x