प्रमुख समाचार

गण्डकीमा मनाङेको भौतिक मोह

‘मलाई भौतिक मन्त्रालय नदिएका कारण गण्डकीमा सरकार ढल्यो’

अनिष भट्टराई |
असार १३, २०७८ आइतबार २०:२२ बजे

पोखरा : गण्डकी प्रदेशका विनाविभागीय मन्त्री दीपक मनाङेले भौतिक मन्त्रालय नपाए सरकारमै नजाने बताएका छन् । आफूले काम गरेर सिस्टम बसाल्नु पर्ने भौतिक मन्त्रालयमा जान नदिने भएपछि आइतबार कार्यभार सम्हाल्न अस्विकार गरेको मनाङेले बताए । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत शुक्रबार नै विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारीको टुङ्गो लगाएका थिए । सो दिन मनाङेले युवा तथा खेलकुद मन्त्रालय लिने निर्णय भएको थियो । तर, मनाङेले मने भौतिक नपाएसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने अडान कसेका छन् । 


‘खेलकुदमा त सिस्टम बसाइसकेको छु । अब त्यहाँ अरु जो गएर पनि काम गर्न सक्छ । म भौतिकमा काम गर्ने हो । सहमति पूरा नभएसम्म जिम्मेवारी लिन्नँ भनेर भनिसकेको छु,’ मनाङेले भने । 

अहिले भौतिक मन्त्रालयमा माओवादीको दाबी छ । माओवादीले पनि भौतिक मन्त्रालय नपाएसम्म सरकारमै नजाने बताइसकेको छ । मनाङे भने माओवादीसँग आफ्नो सहमति जुटिसकेको र १२÷१२ घन्टा मन्त्रालय चलाउने गरी सहमति जुटेको अपरिपक्व प्रतिक्रिया दिए । 

‘१६ अर्बको बजेट माओवादी र म भएर चलाउने हो । बरु माओवादीले राति चलाउने, म दिउँसो चलाउने । १२/१२ घन्टा चलाउने के,’ उनले भने,‘माओवादीले बेलुका ५ देखि बिहान ५ सम्म चलाउँछ । म बिहान ५ देखि बेलुका ५ सम्म चलाउँछु । माओवादीले दिउँसोमा काम गरेर काम छैन भौतिकमा ।’

आफूले ठट्टा नगरेको उनको प्रतिक्रिया थियो । अझै कांग्रेसले पनि भौतिक दाबी गरे कांग्रेसलाई पनि भौतिक दिन सकिने हावादारी प्रतिक्रिया दिए । ‘कांग्रेसलाई पनि स्थान दिन सकिन्छ । ३ पार्टीले ८/८ घन्टा गरेर २४ घन्टा चलाउने,’ मनाङे थप्छन्, ‘मलाई बिहानै ५ बजे उठ्न गाह्रो पनि हुन्छ । म दिउँसो १२ देखि ५ बजेसम्म चलाउँछु । कांग्रेसले बिहान चलाओस् ।’

मनाङे यतिमै रोकिएनन् । यसअघिको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार पनि आफूलाई भौतिक मन्त्रालय दिन नमानेपछि ढालेको उनको दाबी छ । गुरुङ सरकारमा खेलकुद मन्त्री बनेका मनाङेले गुरुङलाई विश्वासको मत दिने दिन एकाएक क्याम्प परिवर्तन गरेर ‘गायब’ भएका थिए ।  

‘पहिला पृथ्वीसुब्बा दाइको सरकार पनि यसमै कुरा नमिलेर ढलेको हो । रामशरण बस्नेतलाई राति काम गर्नु भनेको मान्नुभएन । राति काम गर्न सक्दिनँ भनेपछि सरकारलाई साथ छाडिदिएँ । मिलेर गर्ने हो नि सबै मिलेर जनताको काम,’ मनाङेको तर्क छ । 

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा किचलो कायमै छ । गत शुक्रबार निर्धारित ४ विनाविभागीय मन्त्रीको जिम्मेवारी सोमबार २ मन्त्रीले लिन मानेनन् । ऊर्जा तथा सिंचाइ मन्त्रालय लिने भनिएका हरिशरण आचार्य र युवा तथा खेलकुद मन्त्रालय लिने भनिएका स्वतन्त्र सांसद दीपक मनाङेले जिम्मेवारी सम्हाल्न मानेनन् । रोजेको मन्त्रालय नपाएपछि यी २ मन्त्रीले जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका हुन् । 

कांग्रेसबाट मन्त्री बनेका कुमार खड्का तथा माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीले सोमबार कार्यभार सम्हालेका छन् । खड्काले सामाजिक विकास तथा अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । 

जनता समाजवादीका हरिशरण आचार्यले आफूसँग गरिएको ३ बुँदे सहमति कार्यान्वयन नभएसम्म जिम्मेवारी नसम्हाल्ने बताएका छन् । विश्वासको मत लिने दिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादीसँग ३ बुँदे सहमति गरेका थिए । जनता समाजवादीलाई अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तथा दलीय मान्यता पाउन कायम १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था हटाउने सहमति मुख्यमन्त्रीले गरेका थिए । 

तर, अहिलेसम्म ती सहमति कार्यान्वयन नभएकाले आफूले जिम्मेवारी सम्हाल्न अस्वीकार गरेको आचार्य बताउँछन् । आफू कांग्रेस कार्यकर्ता नभएकाले सहमति कार्यान्वयन नभइ जिम्मेवारी सम्हाल्न नसक्ने उनी बताउँछन् । ‘यत्रो १६ दिन भइसक्यो सरकार बनेको अहिलेसम्म ती सहमति कार्यान्वयन हुन सकेको छैन,’ आचार्य भन्छन्, ‘जुनदिन सहमति कार्यान्वयन हुन्छ, त्यही दिन जसपाकै २ जना सांसद मन्त्री बनेर सरकारमा जान्छौँ ।’ 

आफूले अर्थ मन्त्रालयको दाबी छाडेकाले अरु बुँदामा सरकार सकारात्मक बनेर तत्काल कार्यान्वयनमा लाग्नुपर्ने उनको सुझाव छ । ‘जसपाले अर्थ पाउनुपर्छ भन्ने दाबी छाडिसक्यो, किन अड्चन बन्ने भनेर, तर उनीहरु अझै अरु बुँदामा कार्यान्वयन गर्न लागि परेको देखिँदैन,’ आचार्य भन्छन् । 

सरकारका प्रवक्ता कुमार खड्काले सरकार जनता समाजवादीसँग गरेको सहमतिहरुमध्ये थ्रेसहोल्ड हटाउने, २ मन्त्रालय दिने, उच्चस्तरी राजनीतिक संयन्त्र बनाउने कुरामा सहमत रहेको बताउँछन् । ‘हामी त्यसमा सकारात्मक छौं । तर थ्रेसहोल्ड सदनमा लगेर हटाउने हो, बजेटमाथिको छलफलपछि त्यो हटाउने प्रक्रिया थाल्छौं,’ उनले भने, ‘२ मन्त्रालय दिन्छौँ भनेकै छौँ, राजनीतिक संयन्त्र आजै बन्ने कुरा होइन, समय लाग्छ नि ।’


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x