स्पेनी राष्ट्रिय टिम रक्षा गर्न जन्मभूमि त्यागेका लापोर्टे
काठमाडौँ: एयमेरिक लापोर्टे फ्रान्सको एउटा सानो सहर एगेनमा जन्मिए । उनले सानै छँदा देखेको सपना थियो, राष्ट्रिय टिमका लागि खेल्ने । उनको सपना त पूरा भयो, तर चाहेकै टिमबाट भने खेल्न पाएनन् । यद्यपि स्पेनको जर्सीमा युरोपकै सबैभन्दा ठूलो प्रतियोगितामा खेलिरहँदा उनी प्रत्येक क्षण रमाइरहेका छन् ।
२७ वर्षीय लापोर्टे स्पेनका मुख्य रक्षक हुन् । स्पेनसँगको उनको यात्रा जुनबाट मात्रै सुरु भएको हो । जारी युरोमा उनले स्पेनबाट प्रत्येक खेल खेलेका छन् । स्लोभाकियाविरुद्धको जितमा त गोल नै गरे । त्यही जितले स्पेनको क्रोएसियासँगको भिडन्त पक्का गर्यो । अझ रोचक त के छ भने, क्रोएसियासँगको खेलमा विजयी भए स्पेनले क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्ने सम्भावना बलियो छ । फ्रान्स अन्तिम १६ को अर्को खेलमा स्विटजरल्यान्डसँग भिड्दैछ । स्पेन र फ्रान्सले आ-आफ्ना खेल जिते, लापोर्टेले क्वार्टरफाइनलमा आफू जन्मेको देशको सामना गर्नेछन् ।
लापोर्टेलाई थाहा छ, उनी आफ्नो करियरको महत्वपूर्ण बिन्दुमा पुगेका छन् । ‘यो स्तरमा आइपुग्न मैले करिब २२ वर्ष मेहेनत गरेको छु । त्यसकारण म जहाँ छु, सन्तुष्ट छु । म आफ्नो टिम र समर्थकलाई खुशी बनाउन चाहन्छु । म उनीहरूलाई सन्देश पठाउन चाहन्छु, स्पेनी टिमको जिम्मेवारीलाई मैले हल्कारूपमा लिएको छैन,’ लापोर्टेले दी गार्डियनसँगको अन्तवार्तामा भनेका छन् ।
लापोर्टेले स्पेनको नागरिकता लिएको पाँच साता भयो । अनि स्पेनी खेलाडी बनेको तीन साता । तर उनको फुटबल यात्रा भने फ्रान्सबाटै सुरु भएको हो । उनले फ्रान्सको विभिन्न युवा टोलीबाट खेले । फ्रान्सको अण्डर १७, १८, १९ र २१ टिमको कप्तानी गर्दै कुल ५१ खेल खेले । अनि उनलाई फ्रान्सको सिनियर टिममा तीन पटक बोलाइयो । तर एक खेल पनि खेल्न पाएनन् । अक्टोबर २०१६ मा बुल्गेरिया र नेदरल्यान्ड्ससँगको खेलमा उनी बेन्चमै रहे । अगस्ट २०१९ मा अल्बानिया र एन्डोरासँगको खेलका लागि पनि उनी फ्रान्सेली टिममा परे । तर चोटका कारण उनले ती खेल गुमाए । मार्च १७, २०१७ मा उनी स्पेनसँगको खेलमा पनि बेन्चमै सीमित भए ।
‘मलाई स्पेनी फुटबल संघबाट टेलिफोन कल आयो । त्यसपछि लुइस एनरिकेसँग पनि कुरा भयो । अनि मलाई निर्णय लिन खासै समय लागेन । हुन त म केही वर्षयता स्पेनी अधिकारीहरूसँग कुराकानी मै थिए । उनीहरूले सधैँ मलाई स्पेनबाट खेल्नुपर्छ भन्थे,’ लोपोर्टे भन्छन् । युलेन लोपेटेगुई स्पेनको प्रशिक्षक छँदा नै, लापोर्टेलाई स्पेनबाट खेल्न प्रस्ताव गरिएको थियो । डिडियर डेस्चाम्पसले निरन्तर बेवास्ता गरेपछि लापोर्टे एनरिकेको रक्षक बने ।
फ्रान्सले पनि लापोर्टेसँग पनि कुरा नगरेको होइन । तर कुराकानी सन् २०१५ मा मात्रै भएको थियो । दुई वर्ष अगाडि लापोर्टेले फ्रान्सेली फुटबल संघलाई पत्र पनि लेखे । जवाफ भने आएन । उता डेस्चाम्पसले लापोर्टेबाट आफूले कुनै किसिमको सन्देश नपाएको बताएका छन् । फ्रेन्च प्रशिक्षकले लापोर्टेलाई आफूले बेवास्ता नगरेको पनि दाबी गरेका छन् । लापोर्टे भने डेस्चाम्पसको दाबी मान्न तयार छैनन् ।
‘जुन टिमले मौका दिन्छ त्यस टिमका लागि खेल्नुपर्छ भन्नेमा म प्रस्ट थिए । फ्रान्सको नजरमा म कहिले पनि परिन । उनीहरूले मलाई नियोजित रूपमै मौका दिन नचाहेको त होइन । तर मैले पत्रको कुनै जवाफ पाइन । उता स्पेनले भने मलाई प्रस्ताव राखिरह्यो । मलाई महत्व दियो । त्यसको गुण मैले तिर्नुपर्छ,’ लापोर्टेले भने । लापोर्टेलाई स्पेन रोज्न सजिलो भने भएन । किनभने उनी फ्रान्ससँग गहिरो तरिकाले जोडिँएका छन् । फ्रान्सलाई विभिन्न युवा प्रतियोगितामा प्रतिनिधित्व गरेका छन् । उनको परिवार अझै पनि फ्रान्समै छ ।
‘स्पेनबाट खेल्ने निर्णय गर्दागर्दै परिवारका सदस्यहरूसँग पनि छलफल भयो । सबैले आ-आफ्नो विचार राखे । दोहोरो नागरिकता लिँदा भविष्यमा के होला भन्ने कुरा पनि आयो । तर स्पेनबाट खेल्दा मैले असहजता महसुस गरेको छैन,’ लापोर्टेले भने । उनी १५ वर्षकै उमेरमा स्पेन बसाइ सरेका थिए । जहाँ उनी एथ्लेटिको बिलबाओसँग आबद्ध भए । एथ्लेटिको जानुअघि उनलाई स्पेनका बारेमा खासै ज्ञान थिएन । किनभने उनी परिवारसँग एक पटक मात्रै बिदा मनाउन स्पेन पुगेका थिए ।
लापोर्टे ‘स्किलफुल’ रक्षक हुन् । हुन पनि उनले प्राविधिकरूपमा उत्कृष्ट प्रशिक्षकहरूको नेतृत्वमा खेल्न पाएका छन् । मार्सेलो बिएल्सा, एर्नेस्टो भाल्भार्डे, पेप ग्वार्डिओला जस्ता प्रशिक्षकको प्रशिक्षणमा क्लब फुटबल खेलेका छन् । एथ्लेटिकोमा निखारिएका लापोर्टे भन्छन्, ‘बललाई आफ्नो नियन्त्रणमा राख्दा आनन्द आउँछ,’ उनी एथ्लेटिको चाँहि कसरी पुगे त ? जबकि एथ्लेटिकोबाट खेल्न वा उसको एकेडेमीमा प्रवेश पाउन स्पेनकै बास्क क्षेत्रको हुनुपर्छ । तर उनको काका काकी बास्कमै बस्ने र उनको पूर्वक्लब एभिरोन बायोननाइसको एथ्लेटिकोसँग सम्बन्ध भएकाले लापोर्टेले एथ्लेटिकोमा प्रवेश पाए ।
स्पेनबाट खेल्न पाएकोमा लापोर्टे दंग देखिन्छन् । ‘म स्पेनी जर्सीमा हर्षित छु । त्यसकारण मेरो निर्णयबारेमा अरुले जे जस्तो टिप्पणी गरे पनि मलाई फरक पर्दैन । मैले सपेनमा पर्याप्त समर्थन पाएको छु । समग्रमा मलाई सबैले हौसला दिएका छन्,’ लापोर्टे आफ्नो अनुभव सुनाउँछन् ।
म्यानचेस्टर सिटीका रक्षक लापोर्टे स्पेनबाट खेल्ने घोषणालाई टिमका अन्य खेलाडीले चाँहि कसरी लिए त ? ‘स्पेनी टिमका प्राय खेलाडीलाई म पहिलाबाटै चिन्थे । टिममा चार खेलाडी त सिटीबाटै छन् । उनाइ सिमोनसँग मैले एथ्लेटिकोमा खेलेको हो । ला लिगामा खेलेको भएर बार्सिलोनाका खेलाडीसँग चिनजान थियो । अपन एडामा ट्राओरे र होसे लुइस गायाविरुद्ध उमेर समूहमा धेरै पटक खेलियो । उनीहरू सबैले मलाई न्यानो स्वागत गरेका छन्,’ लापोर्टे भन्छन् ।
फ्रान्ससँगको सम्भावित भेटबारे लापोर्टे उत्साहित छन् । उनी आफ्नो जन्मभूमिले अन्तर्राष्ट्रिय फुटबलमा राम्रो गरोस भन्ने सदिक्षा छँदैछ । तर युरोको क्वार्टरफाइनलमा लापोर्टे स्वभाविकरूपमा फ्रान्सको पराजय चाहन्छन् । ‘फ्रान्सप्रति सदीक्षा छ । तर उनीहरूसँग भिड्दा मेरो लक्ष्य स्पेनलाई विजयी बनाउनु नै हुनेछ,’ लापोर्टेले भने ।
दी गार्डियनको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया